जनकपुरधाम : धार्मिक पर्यटकको पर्खाइमा

जनकपुरधाम : धार्मिक पर्यटकको पर्खाइमा

जनकपुरधाम। धार्मिक पर्यटनको प्रशस्त सम्भावना भएको जनकपुरधाम क्षेत्र पर्यटकीय नगरीका रुपमा विकास हुन सकेको छैन। जनकपुरमा तीर्थयात्री मात्रै आउँछन्, पर्यटक आउँदैनन्। संस्कृतिविद् डा. सुरेन्द्र लाभ भन्छन्, ‘‘जबसम्म तीर्थयात्री पर्यटकका रुपमा बदलिँदैनन्, जनकपुरको धार्मिक पर्यटन प्रवर्द्धन हुँदैन।’’

जनकपुरधाम आउने तीर्थयात्रीलाई पर्यटकका रुपमा बदल्ने सक्ने योजना र रणनीति आवश्यक भएको उनले नेपालभ्यूजसँग बताए।

‘‘अहिले जनकपुर आउनेहरू तीर्थयात्री मात्र हुन्। उनीहरु धार्मिक काम गर्छन्, फर्कन्छन्। तिनले खासै खर्च गर्दैनन्। हामीलाई त पर्यटक चाहियो। धेरै पैसा खर्चेर धेरै दिन बस्ने पर्यटक भए मात्रै पर्यटन उद्योगको विकास हुन्छ’’, उनले भने, ‘त्यसका लागि हामीले पूर्वाधार खडा गर्न सकेका छैनौँ। तीर्थयात्रीलाई पर्यटकमा बदल्न सरोकारवालाले गृहकार्य गर्नुपर्ने, त्यो गर्न सकेका छैनन्।’’

जनकपुर मधेश प्रदेशको राजधानी घोषणा भएको छ। तुलनात्मक रुपमा फेरिँदै गएको यो शहरलाई धार्मिक पर्यटक स्थल र देवभूमिका रुपमा विकास गर्न सके त्यसले मधेशको आर्थिक समृद्धिमा महत्त्वपूर्ण टेवा पुराउने विश्वास लिन सकिन्छ।

पछिल्लो समयमा यस क्षेत्रको पर्यटन प्रवर्द्धन र विकासका लागि सरकारले केही चासो दिएको छ। सरकारले पर्यटन कार्यालय जनकपुर, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मार्फत यसको विकास र प्रवर्द्धन गर्दै आएको छ। मध्यतराईको सप्तरीदेखि सर्लाहीसम्मका धार्मिक पर्यटकीय स्थल र प्राकृतिक सम्पदाको संरक्षण सम्वद्र्धन र पूर्वाधार निर्माणमा केही हदसम्म सहयोग पुगेको पनि छ। तर, यो पर्याप्त छैन।

जनकपुरधामका मठमन्दिर, कुटी, कुण्ड तथा यिनको महत्त्वका बारेमा ‘रामायण’लगायत विभिन्न ग्रन्थमा उल्लेख गरिए पनि अहिले धार्मिक ऐतिहासिक महत्त्व बोकेका कुटी तथा पोखरी झन्डै ५० प्रतिशत अस्तित्वमा छैनन् र बाँकी धेरैजसो दिनप्रतिदिन अतिक्रमणको चपेटामा पर्दै गएको छ।

नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष राजेश कर्ण प्राचीन धार्मिक महत्त्व बोकेको जनकपुरको जति प्रचारप्रसार हुनुपर्ने हो, त्यो हुन नसकेको बताउँछन्। ‘‘यसको महत्त्वका बारेमा प्रचारप्रसार गर्न सके धेरै पर्यटक अध्ययन अवलोकन गर्न आउने थिए’’, उनले भने।

जनकपुरको पर्यटन विकासका लागि जनकपुर—चितवन—लुम्बिनी—पोखराको संयुक्त कार्यक्रम बनाएर अघि बढ्नुपर्ने स्थानीय पर्यटन व्यवसायीहरूको राय छ। जनकपुरधाममा सामान्यतया सेप्टेम्बरदेखि डिसेम्बरसम्मको मौसम सबैभन्दा अनुकूल हुन्छ। यसै समयमा मिथिलाका प्रायः सबै चाडबाड पनि पर्ने हुनाले पर्यटकको बसोबास मनोरञ्जनले भरिपूर्ण हुन सक्ने देखिन्छ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले जनकपुरले शहरका सबै मापदण्ड पूरा गरेको बताए। उनले भने, ‘‘विगतमा झैँ अब जनकपुरधाम लामखुट्टेले टोक्ने, गन्हाउने र फोहोर छैन, यहाँ आमूल परिवर्तन भइसकेको छ। यहाँ सडक विस्तार भएको छ। फुटपाथको व्यवस्थापन भएको छ। बिजुली–इन्टरनेटका तार र पानीको व्यवस्थापन भएको छ।’’

प्रमुख साहका अनुसार जनकपुरभित्र पर्ने ३२ किलोमिटर सडकको कालोपत्रे भएको छ। बीस किमीभन्दा बढी थप सडक विस्तार हुँदैछ। नगरभित्र ३० देखि ३५ किमीको पिसीसी ढलान भएको छ। विद्युत् व्यवस्थापन भएको छ। बिजुलीका तारहरू सडकमा लत्रेका छैनन्। एघार मिटर उचाइका खम्बा लगाइएको छ। अप्टिकल फाइबर बिछ्याइएको छ। इन्टरनेटको स्पिड पनि बढेको छ।

उनले भने, ‘‘यहाँ खाने पानीको व्यवस्थापन गरिएको छ। सडकका दुवैतिर वायरिङ भएको छ। ट्राफिकको व्यवस्थापन पनि भएको छ। गन्हाउने नाली नियन्त्रण गरिएको छ। अहिले हामीसँग ल्याण्डफिल साइट छैन तर पनि फोहोरको व्यवस्थापन गर्दैछौं। सडकको मापदण्डअनुसार काम गर्न र सडक व्यवस्थित गर्न अझै धेरै बजेटको आवश्यक छ। सोका लागि पहल पनि गर्दैछौँ।’’

उनले जनकपुरसँग जोडिएका हुलाकी राजमार्गका सडकलाई समन्वय गरी काम अगाडि बढाउन सहयोग गरिएको जानकारी गराउँदै यसलाई मुसलमान धर्मावलम्बीहरूको आस्थाको केन्द्र महोत्तरीको रौजाबजारलाई पनि जोड्ने काम भइरहेको र पूर्वी धनुषालाई जनकपुरधामसँग जोड्ने काम पूरा हुने तरखरमा रहेको बताए। उनका अनुसार रेल्वे र एयरपोर्टको कनेक्टिभिटीलाई अगाडि बढाइएको बताउँदै वर्षौँदेखि थाँती रहेका ६–७ सडक निर्माण पनि पूरा गरिएको छ।

विदेशी पर्यटकलाई जनकपुर ल्याउने योजनाबारे जानकारी दिँदै प्रमुख साहले भने, ‘‘जनकपुरधाम आस्थाको केन्द्र हो। नजिकको बजार भारत छ। त्यहाँ हिन्दूको बाहुल्य छ। भारतबाट धार्मिक पर्यटक ल्याउन सकिन्छ। यसलाई सांस्कृतिक शहर बनाउन सकिन्छ तर हामीले केन्द्र सरकारको सहयोग पाएनौँ। राजनीतिक आस्थाका आधारमा केन्द्र सरकारले जनप्रतिनिधिहरूसँग विभेद गर्नु भएन।’’

सांस्कृतिक वैभव

प्राचीन मिथिलाको राजधानी तथा मधेस प्रदेशको राजधानी जनकपुरधाम पुरातात्त्विक सम्पदा, संस्कृति र मिथिला कलाले जति धनी छ, धार्मिक गन्तव्यका दृष्टिले पनि वैभवपूर्ण छ।

भौतिक पूर्वाधारका हिसाबले जनकपुर सुगम धार्मिकस्थल हो। राजर्षि जनकको राजधानी, रामचन्द्रको ससुराली र आदर्श नारी सीताको जन्मभूमि जनकपुर हिन्दू धर्मावलम्बीको विशेष आस्थाको केन्द्र हो।

पछिल्लो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको भ्रमणपछि माता सीताको माइती जनकपुरधाम हेर्न विश्व लालायित देखिएको छ।

धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको जनकपुरधामलाई ५२ कुट्टी ७२ कुण्डको शहरको नामले पनि चिनिन्छ। जनकपुरमा पाइलैपिच्छे विभिन्न देवीदेवताका आकर्षक मठमन्दिर र तालतलैया छन्। जानकी मन्दिरलगायत राममन्दिर, राजदेवी मन्दिर, लक्ष्मण मन्दिर, जनक मन्दिर, गङ्गा सागर, धनुषा सागर, अरगजा सागरलगायत दर्जनौँ तालतलैया र मठ मन्दिर छन्। बिहानैदेखि यहाँका मठमन्दिरमा गुन्जिने मैथिली गीतसङ्गीतले पर्यटक तथा श्रद्धालु भक्तजनलाई मन्त्रमुग्ध बनाइदिन्छ।

रामजानकी विवाह पञ्चमी महोत्सव, विजयादशमी, दीपावली, छठ पर्व, रामनवमी, जानकी नवमी लगायत चाडपर्वमा जनकपुरधामलाई बेहुली झैँ सिँगारिन्छ। ऐतिहासिक संस्कृतिको धरोहर अब पर्यटकीय नगरी बन्न व्यग्र प्रतीक्षामा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved