कोरोना परीक्षण नबढाउँदा संक्रमितको संख्या कम, ५० हजार परीक्षण गरे संक्रमित २५ हजार पुग्नसक्ने

सरकारले पीसीआरको शुल्क घटाएर सरकारी प्रयोगशालामा आठ सय र निजीमा एक हजार पाँच सय पुर्‍याए पनि अस्पतालहरुले अहिले पनि तोकेभन्दा महंगो शुल्क असुल्ने गरेका छन्। सरकारले परीक्षण शुल्क घटाउने भनेको मात्र हो कति प्रयोगशालामा त्यो लागू नै भएको छैन।

कोरोना परीक्षण नबढाउँदा संक्रमितको संख्या कम, ५० हजार परीक्षण गरे संक्रमित २५ हजार पुग्नसक्ने

काठमाडौं। जनस्वास्थ्यविद्हरूले नेपालमा आवश्यक मात्रामा कोरोना परीक्षण नहुँदा संक्रमितको संख्या वास्तविकभन्दा धेरै कम आएको अनुमान गरेका छन्। अहिले दैनिक करिब २६ हजार परीक्षण गर्दा आधाजसोमा संक्रमण देखिएको बताउँदै ५० हजार परीक्षण गरे संक्रमितको संख्या २५ हजार पुग्नसक्ने उनीहरुको धारणा छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख भइसकेका जनस्वास्थ्यविद् डा. बाबुराम मराशिनीले भने, “सरकारले आवश्यक मात्रामा परीक्षण गर्न नसकेको र पीसीआर परीक्षण शुल्क महंगो भएर ओमिक्रोन भाइरसको लक्षण देखिएका व्यक्तिले समेत परीक्षण गराएका छैनन्।”

अर्का जनस्वास्थ्यविद् डा. शरद वन्तको तर्क पनि उस्तै छ। अहिले अस्पतालमा पुगेका व्यक्तिको मात्र परीक्षण भइरहेको उनले बताए। “समुदायस्तरमा पुगेर आवश्यक मात्रामा परीक्षण भएको छैन”, उनले भने, “अहिले धेरैजसो घरमा कोरोनाको लक्षण भएका मान्छे छन् तर धेरैले परीक्षण नै गराउँदैनन्। उनीहरु निस्फिक्री भएर घुमिरहेका छन्। यसरी कोरोना धेरैमा सल्किरहेको छ।”

नेपालमा परीक्षण गरेकामध्ये ५० प्रतिशतमा संक्रमण देखिएको उनी बताउँछन्। उनले भन्छन्, “१० माघ २१ हजार २०१ परीक्षण गर्दा १० हजार ३१९ मा देखिएको छ। ९ माघमा १३ हजार मात्र परीक्षण गरेर साढे छ हजारमा मात्र देखियो।”

भोलि ३० हजार परीक्षण गर्दा १५ हजारमा संक्रमण देखिन सक्ने उनले अनुमान गरे। कोरोना भाइरस परीक्षणको संख्या वृद्धि भएसगैं संक्रमितको संख्या वृद्धि भएकाले देशव्यापी रुपमा परिक्षणको दायरा बढाउनुपर्ने उनी बताउँछन्। ६ माघमा २७ हजार ४९५ जनाको परिक्षण गर्दा १२ हजार ३३८ जना संक्रमित थपिएका थिए।

९ माघमा १७ हजार ४३७ परीक्षण हुँदा ६ हजार ४६२ जनामा संक्रमण देखिएको भन्दै उनी भन्छन्, “सरकारले परिक्षणको दायरा व्यापक बनाउनुपर्छ, त्यसको लागी सजिलै परीक्षण गर्नसकिने व्यवस्था मिलाउने, शुल्क घटाउने र प्रयोगशाला पनि बढाउनुपर्छ।”

सरकारले पीसीआरको शुल्क घटाएर सरकारी प्रयोगशालामा आठ सय र निजीमा एक हजार पाँच सय पुर्‍याए पनि अस्पतालहरुले अहिले पनि तोकेभन्दा महंगो शुल्क असुल्ने गरेको डा. मरासिनीको भनाइ छ।
उनले भने, “सरकारले परीक्षण शुल्क घटाउने भनेको मात्र हो कति प्रयोगशालामा त्यो लागू नै भएको छैन।”

संक्रमित व्यक्ति नै संक्रमण विस्तारका स्रोत भएकाले परिक्षणको दायरा बढाएर संक्रमितको पहिचान गरी व्यवस्थापन गर्न उनले सुझाएका छन्। “अहिले हामीसँग कुनै निगरानी र अनुगमन छैन, संक्रमितहरु कहाँ कसरी बसिरहेको छन् समेत थाहा छैन” वन्तले भने भन्छन, “कन्ट्रयाक ट्रेसिङमा परेकालाई खोजेर परिक्षण गर्नेमा सरकारको ध्यान पुग्नै सकेको छैन्।”

माथि उल्लिखित १९ पुुस देखि १० माघसम्मको तथ्यांक हेर्दा अहिलेसम्म सर्वाधिक ६ माघमा २७ हजार ४९५ जनाको कोरोना परिक्षण भएको थियो। उक्त दिनमा परीक्षणको दायरा बढेसँगै संक्रमितको संख्यामा पनि बृद्धि भई १२ हजार ३३८ पुगेको थियो।

अहिले नेपालमा एक सय चार ओटा पीसीआर परिक्षण प्रयोगशालाबाट छन्। ति प्रयोगशालामा दैनिक ३२ हजार बढि परिक्षण गर्ने क्षमता रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

अहिले बाध्यात्मक परिस्थिति भएका व्यक्तिमात्र प्रयोगशालामा परिक्षण गर्न जाने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेल बताउँछन्। अहिले ओमिक्रोन भेरिएन्टका लक्षण देखापरेका व्यक्ति धेरैजसोले परिक्षण नै गराएका छैनन्, बाध्य नभएसम्म परिक्षण गर्न नपुग्ने उनले बताए।

कन्ट्रयाक ट्रेसिङमा परेका व्यक्तिको पीसीआर परीक्षण गर्न स्थानीय तहले फारम भरेर पठाउनुपर्छ, कन्ट्रयाक ट्रेसिङमा परेको प्रमाणित भएपछि निःशुल्क परिक्षण गराउने डा. पौडेलले जानकारी दिए। सरकारी अस्पतालमा लक्षण भएका व्यक्ति टिकट लिएर परिक्षण गर्न जाँदा निशुल्क परिक्षण गरिने उनले जानकारी दिए। अन्य प्रयोजनका लागी परिक्षण गर्न लागेको भए शुल्क तिर्नुपर्ने उनी बताउँछन्।

कन्ट्रयाक ट्रेसिङमा परेका व्यक्तिको परीक्षण भएको छ। तर जत्ति हुनुपर्ने हो त्यति हुन नसकेको उनी बताउँछन्। उनी भन्छन, “अहिले स्वास्थ्यकर्मी खोपमा व्यस्त छन्, खोपलाई प्राथामिकता दिएका छौं। त्यसैले धेरे ठाउँमा कन्ट्याक ट्रेसिङ भएको छैन्।” नाकाबाट भित्रने ९० प्रतिशत बढिको परीक्षण हुने र त्यसमध्ये १० प्रतिशतमा कोरोना देखिने उनी बताउँछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved