कोभिडका कारण सार्वजनिक सेवा प्रवाहित, कार्यालयहरूको सेवा कटौती

कोभिडका कारण सार्वजनिक सेवा प्रवाहित, कार्यालयहरूको सेवा कटौती

विराटनगर । नयाँ भेरिएन्टसहितको कोरोना संक्रमणका कारण प्रदेश १ का सेवा प्रवाह प्रभावित बन्दै गएको छ । सार्वजनिक कार्यालयहरूले पछिल्लो समय आफ्नो सेवा कटौती गर्न थालेका छन् ।

कार्यालयका कर्मचारीहरूमै संक्रमण पुष्टि हुुन थालेपछि सेवा प्रवाह चुनौतीपूर्ण बन्न थालेको हो । चिकित्सक तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरकारी कर्मचारी र सरसफाईकर्मीहरु समेत संक्रमणको उच्च जोखिममा पर्न थालेपछि सार्वजनिक सेवा प्रवाह हुने कार्यालयहरुले पछिल्लो समय आफ्नो सेवा कटौती गर्न थालेका छन् । उच्च संक्रमण दरका कारण जनशक्ति अभावमा कार्य सम्पादन जटिल बन्दै गएपछि यसको प्रत्यक्ष असर सेवा प्रवाहमा परेको छ ।

कर्मचारीहरूमै संक्रमण पुष्टि भएर पछिल्लो महिना दिनयता विराटनगरको यातायात व्यवस्था सेवा कार्यालय, मालपोत कार्यालय, कोशी अस्पताल, जिल्ला अदालत, उच्च अदालत तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आफ्नो सेवा कटौती गरेका छन् । संक्रमितहरु निको हुँदै कार्यालय आउँदै गरेको भए पनि यसले सेवा प्रवाहलाई जटिल बनाइदिएको सम्बन्धित कार्यालयका कर्मचारीहरू बताउँछन् ।

एक जना कर्मचारीमा संक्रमण पुष्टि हुँदा त्यसले समग्र कार्यालयहरू कार्य सम्पादनमा असर गर्ने गरेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी राजेन्द्र उप्रेतीले बताए । उनले भने, ‘एक जना कर्मचारीका कारण पूरै मन्त्रालयको कामकाज रोकिन्छ । पछि ‘रिकभर’ भएर आउँदा सम्बन्धित कर्मचारीमाथि नै कार्यभार थपिन्छ ।’

माघको पहिलो साता मन्त्रालयका सचिव, महाशाखा प्रमुख र चालकसहित आधा दर्जन बढी कर्मचारीमा कोरोनाको संक्रमण पुष्टि भएको थियो । तीमध्ये हाल केही कर्मचारीहरु निको भई आ–आफ्नो कार्यक्षेत्रमा फर्किसकेका छन् । केही अझै पनि संक्रमित छन् ।

६ जना कर्मचारीहरुमा संक्रमण देखिएपछि गएको माघ २ गतेदेखि मालपोत कार्यालय विराटनगरले पनि सूचना टाँस गर्दै अनिश्चितकालका लागि आफ्नो सेवाप्रवाह स्थगित गरेको थियो ।

माघ ४ गते यातायात व्यवस्था सेवा कार्यालय, विराटनगरले समेत कार्यालयका केही कर्मचारीहरुमा संक्रमण र केहीमा मिल्दोजुल्दो लक्षण देखिएपछि अर्को सूचना जारी नहुञ्जेलका लागि कार्यालयको आन्तरिक कामकाज तथा जरिवानाबाहेकका अन्य सम्पूर्ण सेवाहरू स्थगित गरेको थियो ।

यसका अतिरिक्त विराटनगरस्थित कोशी अस्पतालले पनि १०० जनाभन्दा बढी कर्मचारी संक्रमित भएपछि सेवा कटौती गरेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, चिकित्सक, नर्स, कार्यालय सहयोगी, लेखा अधिकृत र सरसफाइकर्मी लगायतका कर्मचारीमा संक्रमण देखिएपछि हाल कोशी अस्पतालको आधा दर्जनभन्दा बढी विभागको सेवाप्रवाहमा समस्या देखिएको छ ।

अस्पतालका प्रशासन प्रमुख नवराज लुइँटेलले जनशक्तिको अभावमा उपचार नपाएर बिरामीहरु फर्किनुपर्ने अवस्था सिर्जना हुँदैगएको बताए । उनले भने, ‘‘डाक्टर आफैँ बिरामी हुँदा बिरामीले निजी अस्पतालमा महङ्गो उपचार रोज्नुपर्ने अवस्था सिर्जना भएको छ ।’’

८ जना न्यायाधीश सहित १६ जनाभन्दा बढी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबारदेखि उच्च अदालतले पनि प्रदान गर्दैआएको सेवामा कटौती गरेको छ ।
सर्वसाधारणको भौतिक उपस्थिति हुन नदिन अदालतले महत्वपूर्णबाहेकका सम्पूर्ण सेवा स्थगित गरेको छ । यस्तै जिल्ला अदालत मोरङले पनि सोमबार एक सूचना जारी गर्दै माघ ११ देखि १५ गतेसम्म अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरू स्थगित गरेको छ ।

अदालतको सोमबार बसेको पूर्ण बैठकले अभियुक्तलाई अनुसन्धानका लागि हिरासतमा राख्न दिइने म्याद थपको अनुमति, पक्राउ पुर्जी, कल डिटेलको अनुमति र पक्राउ पुर्जी समर्थनलगायतका कार्यहरू सम्भव भएसम्म भर्चुअल विधिबाट गर्ने तयारी गरेको जनाएको छ ।

कोरोना रोकथाम तथा प्रतिकार्यको प्रदेश १ सरकारले सक्रियता बढाएको भए पनि सर्वसाधारणको चहलपहलमा कमी नआएपछि पछिल्लो समय संक्रमण दर उकालो लाग्दै गइरहेको सरोकारवालाहरुले बताएका छन् ।

स्वास्थ्य सतर्कता र स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने गराउने पक्षमा आम सर्वसाधारणले ध्यान नदिँदा संक्रमण दर बढ्दै गइरहेको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको विश्लेषण छ । कोभिडको जोखिमलाई दृष्टिगत गर्दै प्रदेश सरकारले सीमानाका कडाइ गरेको छ ।

पुस अन्तिम सातायता कोरोनाको संक्रमण दर तीव्र भएसँगै सरकारी निर्देशानुसार सार्वजनिक स्थलमा मास्क अनिवार्य गरिएको छ । मास्क नलगाएको खण्डमा १ सय रुपैयाँ जरिवाना गर्ने नियम बनाइएको छ । नेपाल–भारतबीचको दोहोेरो आवागमन व्यवस्थित र सुरक्षित बनाउन माघ १ गतेदेखि खोप कार्डसमेत अनिवार्य गरिएको छ ।

यद्यपि, कोभिडको संक्रमण दर न्यूनीकरण हुन सकेको छ । यसले आम नागरिक संवेदनशीलताले बयान गरेको मन्त्रालयका सूचना अधिकारी सदानन्द भट्टराईले बताउँछन् । उनी भन्छन्, ‘हामीले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भरपुर प्रयास गरिरहेका छौं । संक्रमण दरमा कुनै बदलाव छैन् । संक्रमण दर बढिरहेकै छ । यसले आम सर्वसाधारण आफ्नो स्वास्थ्यको सवालमा कत्तिको संवेदनशील छन् भन्ने देखाउँछ ।’

संक्रमण दर न्यूनीकरणका लागि सर्वप्रथम आमसर्वसाधारण नै संवेदनशील हुनुपर्ने सूचना अधिकारी भट्टराईको भनाइ छ । प्रदेश नं. १ मा पछिल्लो २४ घण्टामा भने १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१ हजार ४९२ जनाको पीसीआर परीक्षण गर्दा ६९० र ९०५ जनाको एन्टिजेन परीक्षण गर्दा ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved