खोप कार्ड अनिवार्य गर्दा नागरिकलाई झनै सास्ती

पुरानो कार्डको प्रतिलिपि बनाउन भन्दा खोप नै लगाउन सहज भएपछि पहिले खोप लगाइसकेकाहरू पनि पहिलो डोज भन्दै तेस्रो डोज खोप लगाउनका थालेका छन्। यस्तो पाइएपछि सरकारले भेरोसेल खोप लगाउन बन्द गरेको छ।

नेपालभ्युज

खोप कार्ड अनिवार्य गर्दा नागरिकलाई झनै सास्ती

काठमाडौं। सरकारले ७ माघदेखि सार्वजनिक सेवामा कोभिडविरुद्धको खोपकार्ड अनिवार्य गरेको छ। कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को सिफारिसमा सरकारले खोप कार्ड अनिवार्य गरेको हो।

तर सबैको पहुँचमा खोप नपुगेका कारण र खोप लगाएकै व्यक्तिले पनि कार्ड हराएर नयाँ बनाउन नपाएका कारण सार्वजनिक सेवाबाट वञ्चित हुनुपरेको छ। सरकारले यसअघि विदेश यात्रामा मात्र खोपकार्ड अनिवार्य गरेको थियो तर अहिले सार्वजनिक सेवादेखि किनमेलसम्ममा समेत यो नियम ल्याएपछि खोप कार्ड हराएका र नभएकाले निकै सास्ती भोग्नु परेको छ।

नेपालमा खोप अभियान चलेको एक वर्ष पूरा भइसकेको छ। यो समयावधिमा धेरै व्यक्तिले खोप कार्ड समेत हराइसकेको अवस्था छ भने कतिपय अझैँ खोपको पहुँचमा पुग्न सकेका छैनन्, तर यता सरकारले खोप कार्ड अनिवार्य गरेपछि भने खोप कार्ड हराएका व्यक्तिहरू प्रतिलिपि बनाउनका लागि स्वास्थ्य कार्यलयसम्म पुग्नेको संख्या दैनिक बढ्दै गइरहेको छ।

खोप कार्ड बनाउनै सास्ती

सरकारले ल्याएको अनिवार्य खोप कार्डको विषयलाई जनस्वास्थविद् डा बाबुराम मसासीनीले जनतालाई दुख दिने काम बाहेक केहि नभएको आरोप लगाएका छन्।“खोपको दायरा बढाउन सरकारले कार्ड अनिवार्य गरेको हो भने खोप लगाउन चाहेर पनि नपाएका व्यक्तिहरूले के गर्ने ? उनीहरू त सिधै सार्वजनिक सेवाबाट बन्चित हुने भएकाले सरकारले यसलाई कार्यन्वयन नै नगर्नु पर्ने हो,” उनले भने।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्ले पनि खोप कार्ड अनिवार्य गर्नाले सर्वसाधारणले निकै सास्ती भोग्नु परेको बताउँछन्। सरकारले खोप कार्ड हराए पनि खोप लगाएको केन्द्रमा गएर कार्डको प्रतिलिपि बनाउन सकिने बताएको थियो तर खोप कार्ड प्रतिलिपि बनाउनका लागि निकै समस्या परिरहेको उनको भनाइ छ।

उनी भन्छन्, “काठमाडौं जिल्लाको हकमा हामीले तोकेका खोप केन्द्रबाट खोप लगाइएको हो भने हामीले नै प्रतिलिपि बनाउने जिम्मा लिएका छौं तर पनि हामीसँग रजिष्टरमा धेरैको नाम नै भेटिरहेको छैन्, बिना रेकर्ड कार्ड कुन आधारले बनाउने ?” केही खोप केन्द्रले खोप लगाएको फाइल पठाएका छन् भने कतिपयले पठाउन बाँकी नै रहेकाले प्रतिलिपl बनाउन आएका सबै मानिसलाई कार्ड उपलब्ध गराउन नसकिएको उनले बताए।

ब्याच नम्बर देखि लिएर कुन स्वास्थ्यकर्मीले कुन खोप केन्द्रमा खोप लगाएको हो भनेर सम्पूर्ण विवरण कार्डमा लेख्नु पर्ने भएकाले रेकर्ड अनिवार्य चाहिने उनको तर्क छ। ‘‘खोप केन्द्रले कार्डमा लेखेको सबै विवरणहरू रजिष्टरमा फाइल गर्नुपर्ने हुन्छ,” उनले भने,“कार्डको विवरण राखिएको सबै फाइल स्वास्थ्य कार्यलयम आइसकेको छैनन् तर पनि खोप केन्द्रले स्वास्थ्य कार्यलय जाउ भनेर पठाइ दिरहेको अवस्था छ, तर हामीसँग प्रतिलिपि बनाइदिने कुनै आधार छैन।” दैनिक खोप कार्ड हराएर प्रतिलिपि बनाउनका लागि १५ जनाभन्दा बढी आइरहेका छन् तर ती मध्ये मध्ये २/३ जनाको मात्र रेकर्ड भएकाले प्रतिलिपि बनाउन नसकिएको उनले बताए।

रेकर्ड नै नभएका कारण स्वास्थ्य कार्यालयले हालसम्म जम्मा ६० जनाको मात्र पुनः खोप कार्ड बनाउन सकेको जानकारी उनले दिए। उनकाअनुसार कार्यालयका कर्मचारी पनि कोरोना संक्रमित भएकाले सबैको विवरण खोज्न पनि नसकिने कार्ड हराएर आएकाहरूलाई नै फाइलमा आफ्नो विवरण आफै हेर्न भनेका छौं। उनी भन्छन्, ‘‘सबै जनामा महामारी हो खोप नै लगाउनु पहिलो प्रथामिकता हो किन सबै रेकर्ड राख्नु पर्‍यो भन्ने भयो र कुनै दिन फेरि प्रतिलिपिको आवश्यक पर्ला भन्ने नै नभएका करण यस्तो समस्या भाग्नु परिरहेको छ।”

सार्वजनिक सेवालगायत हवाइ यात्रामा समेत रोक लगाएका कारण कतिपयको टिकट समेत रद्द भएको गुनासो सुनिरहेको उनले बताए। धेरै मानिसले यस्तै सास्ती भोग्नु परेपछि सरकारसँग प्रतिलिपि खोप कार्डका लागि केही नयाँ नियम ल्याउन अनुरोध समेत गरिएको उनको भनाइ छ। खोप लगाइसकेपछि त्यसलाई समालेर नराखेर हराउनु नै गल्ती भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्त समिर अधिकारीले बताए।

पुरानो कार्डको प्रतिलिपि बनाउन भन्दा खोप नै लगाउन सहज भएपछि पहिले खोप लगाइसकेकाहरू पनि पहिलो डोज भन्दै तेस्रो डोज खोप लगाउनका थालेका छन्। यस्तो पाइएपछि सरकारले भेरोसेल खोप लगाउन बन्द गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved