पोखराका ट्याक्सी अब मिटरमा गुड्ने

पोखराका ट्याक्सी अब मिटरमा गुड्ने

पोखरा। गण्डकी प्रदेश सरकारले भाडा समायोजन गर्ने निर्णय गरेपछि पोखराका ट्याक्सी चालक मिटरमा हिँड्न तयार भएका छन्। भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयमा यातायात व्यवसायी, उपभोक्ता मञ्च र सरोकारवालाबीच १० बूँदे प्रतिवद्धतापत्रमा हस्ताक्षर भएको छ।

प्रदेश सरकारको ३ माघमा बसेको मन्त्रिपरिषदको बैठकले ट्याक्सीसहित सार्वजानिक यातायातको भाडा समायोजन गर्ने निर्णय गरेको थियो। त्यही निर्णय मान्नको लागि व्यवसायीले प्रतिवद्धता जनाएका छन्।

सरकार र व्यवसायीबीच भएको प्रतिबद्धताअनुसार फागुन मसान्तभित्र प्रदेशभित्रका सबै ट्याक्सीमा मिटर जडान गर्नुपर्ने छ र त्यसपछि नयाँ भाडादर लागू हुनेछ। मिटरमा ट्याक्सी चलाउने, जीपीएस जडान गर्ने, निर्धारित पोशाक लगाउनेलगायत सरकारको शर्त मानेसँगै नयाँ भाडा दर कायम गर्न व्यवसायी सहमत भएका छन्। समायोजना गरेको भाडादर १.५ किलोमिटरको यात्रामा चढ्नेबित्तिकै (फ्लाग डाउन) रेट ८० रुपैयाँ छ। त्यसपछि प्रति २ सय मिटरको १० रुपैयाँका दरले भाडा बढ्दै जानेछ। बेटिङ चार्ज र रात्री सेवामा पहिलाकै नियम लागू हुनेछ। शहरी क्षेत्रको १५ किलोमिटरसम्म मात्र फ्लाग डाउन र पल्स रेट अनुसार भाडा कायम हुने जनाइएको छ। १५ किलोमिटरभन्दा माथि प्रति किलोमिटर ३६.५० रुपैयाँ थप शुल्क लाग्नेछ।

फागुनमसान्त भित्र ट्याक्सी चालकले यात्रुलाई चालकको नाम, मोबाइल नम्बर देखिने भाडा रकम उल्लेखित प्रिन्टेड बिल दिनुपर्नेछ। प्रतिबद्धतापत्रमा ट्याक्सीमा जिपिएस पनि जडान गर्नुपर्ने, चालकले छुट्टै पोशाक (आकाशे रङको सर्ट, कालो पाइन्ट र जुत्ता) लगानुपर्ने, ट्याक्सी पहिचानको लागि छतमा पहेंलो रंग पोतिएको हुनुपर्ने, कोरोनासहित अन्य संक्रामक रोगबाट बच्न पूर्ण रुपमा स्यानिटाइज गर्ने भनी उल्लेख छ।

गत १३ असोजको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालयका सचिवको संयोजकत्वमा १० सदस्यीय प्रदेश भाडादर सिफारिस समिति गठन गर्ने निर्णय गरेको थियो। अब सोही समितिले भाडादर कार्यान्वन भए नभएको अनुमगन गर्ने सरकार प्रवक्ता तथा भौतिक पूर्वाधारमन्त्री कुमार खड्काले जानकारी दिए।

गण्डकी ट्याक्सी पब्लिक लि.का अध्यक्ष गान्धिराज गिरीले ट्याक्सीमा मिटर समावयोजना गर्ने अझैँ दुई महीना लाग्ने बताए। ‘‘सरकारले गरेको भाडा समायोजन भनेजस्तो सोंचेजस्तो पनि छैन् र व्यवसायीले सञ्चालन गरेजस्तो पनि छैन्,’’ उनले भने, ‘‘यात्रुले भाडा महंगो तिर्न बाध्य भएका थिए। व्यवसायीले मागे जस्तो भाडा होइन। यो निर्णयलाई सामान्य लिन सकिन्छ।’’ उनले पोखराका ट्याक्सी व्यवसायीहरु मिटरमा चल्न थाले भन्नी सन्देश पनि जाने भएकोले यसलाई तत्काल सकरात्मक लिन उनले आग्रह समेत गरे। ‘‘यो राम्रो सन्देश जानेछ। पछि पुन समय अनुसार सिस्टममै भाडादर बढ्ने,घट्ने छ,’’ उनले भने।

प्रतिवद्धतामा यातायात व्यवस्था कार्यालय कास्कीका कार्यलय प्रमुख डिल्लिराम रिजाल, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश संयोजक भानुभक्त बराल, उपभोक्ता मञ्च गण्डकी प्रदेश अध्यक्ष कपिलनाथ कोइराला, पोखरेली ट्याक्सी प्रालि कास्की अध्यक्ष प्रकाशमणि तिवारी, गण्डकी ट्याक्सी पब्लिक लि.का अध्यक्ष गान्धिराज गिरी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश महानगर अध्यक्ष मदनकुमार सुनार, नेपाल यातायात मजदुर संघ गण्डकी प्रदेश अध्यक्ष किरणबाबु पन्त, अखिल नेपाल यातायात मजदुर संघ गण्डकी प्रदेश सचिव रमेशकुमार कोइराला, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश अध्यक्ष विष्णु केसीले हस्ताक्षर गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved