प्रचण्डलाई भेट्न खुमलटार पुगे पुन

प्रचण्डले पदाधिकारीको टुंगो लगाउन पुनलाई पर्खिनुलाई माओवादीका कतिपय नेताले उनैलाई महासचिवको जिम्मेवारी दिने तयारीका रूपमा विश्लेषण गर्ने गरेका छन्।

नेपालभ्युज

प्रचण्डलाई भेट्न खुमलटार पुगे पुन

काठमाडौं। चीनमा स्वास्थ्य उपचार गरेर सोमबार मात्रै स्वदेश फर्किएका नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पुगेका छन्। स्वदेश फर्किँदा त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीमाझ आफू पार्टीको महासचिवको दाबेदार भएको पुनले बताएका थिए।

आफूलाई भेट्न निवास पुगेका पुनलाई अध्यक्ष दाहालले स्वास्थ्यलाभको कामना गरेका छन्। यसअघि १३ असोजमा स्वास्थ्य उपचारका लागि थाइल्याण्ड पुगेका पुन त्यहाँ स्वास्थ्य सुधार नभएपछि १० मंसीरमा चीन प्रस्थान गरेका थिए। अध्यक्ष दाहालले नै पुनलाई चीनमा स्वास्थ्य उपचार गराउन चीनसँग आग्रह गरेका थिए।

कोभिड महामारीका कारण विदेशीलाई चीनको यात्रा गर्न कठाई भएकै समयमा पुन थाइल्याण्डबाट चीन पुगेका थिए। चीनको सेन्जनस्थित थर्ड पिपुल्स अस्पतालमा वंशाणुगत जण्डितको उपचार गराएका पुनले त्यहाँ रहँदा राजनीतक भेटघाट पनि गरेका थिए। ११ पुसबाट पार्टीको आठौँ महाधिवेशन शुरु हुँदा १२ पुसमा पुनले सेन्जनमा राजनीतिक भेटवार्ता गरेको तस्वीर सार्वजनिक भएको थियो। पुनले चीनमा उपचारर्थ रहँदै पार्टीको महासचिवमा आफ्नो दाबेदारी प्रस्तुत गरेका थिए। उपचारर्थ रहँदै महाधिवेशनका लागि स्वदेश फर्किन चाहेका पुन डाक्टर र अध्यक्ष दाहालको सुझावमा अस्पतालमा नै रहेका थिए।

माओवादी पार्टीको आठौँ महाधिवेशन ११ देखि १८ पुससम्म भए पनि पार्टीमा अध्यक्ष बाहेकका अन्य १४ पदाधिकारी चयन हुन बाँकी छ। अध्यक्ष दाहालले पुन स्वदेश फर्किएपछि महासचिवलगायतअन्य पदाधिकारी टुंगो लगाउने बताउँदै आएका छन्। प्रचण्डले पदाधिकारीको टुंगो लगाउन पुनलाई पर्खिनुलाई माओवादीका कतिपय नेताले उनैलाई महासचिवको जिम्मेवारी दिने तयारीका रूपमा विश्लेषण गर्ने गरेका छन्। माओवादीले २७ पुसमा पदाधिकारीदेखि स्थायी समिति सदस्य चयन गर्न पार्टीको केन्द्रीय समितिको बैठक बोलाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved