मंगलबार केही स्थानमा हल्का वर्षाको सम्भावना, जाडो अझै केही दिन बढ्ने

नेपालभ्युज

मंगलबार केही स्थानमा हल्का वर्षाको सम्भावना, जाडो अझै केही दिन बढ्ने
सांकेतिक तश्वीर

काठमाडौं। केही दिनदेखि देशभर बढेको जाडो अझै केही दिन बढ्ने जल तथा मौसम विज्ञान विभागले बताएको छ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभरि नै आंशिकदेखि सामान्य बदली हुने र पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ।

आज (मंगलबार) पनि उपत्यकालगायत पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने र हल्का वर्षासमेत हुने सम्भावना छ। उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको पनि सम्भावना छ। त्यस्तै, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी र हिमाली भेगमा हल्का हिमपात हुन सक्ने भएकाले देशभर नै चिसो अझै बढ्ने क्रममा छ।

त्यसैगरी देशको पश्चिमी तराई तथा मध्य र पूर्वी भूभागका केही स्थानमा हुस्सु कुहिरो लाग्ने क्रम पनि अझै जारी रहने बताइएको छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले नेपाल समाचारपत्रसँगको कुराकानीमा आज मंगलबारदेखि मौसममा केही सुधार देखिने भए तापनि जाडो भने फेरि बढ्ने बताए। उनले बेलाबेलामा देखिने पश्चिमी वायुको प्रभावले अझै एक महिना जाडो रहिरहने पूर्वानुमान गरिएको जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved