डिफेन्डिङ च्याम्पियन सङ्कटालाई हराउँदै मच्छिन्द्र आहा-रारा गोल्डकपको सेमिफाइनलमा

नेपालभ्युज

डिफेन्डिङ च्याम्पियन सङ्कटालाई हराउँदै मच्छिन्द्र आहा-रारा गोल्डकपको सेमिफाइनलमा

पोखरा। साबिक विजेता सङ्कटा फुटबल क्लबलाई फराकिलो गोल अन्तरले हराउँदै मच्छिन्द्र फुटबल क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित ‘आहा -रारा गोल्ड कप’ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

सहारा क्लब पोखराको आयोजनामा यही माघ ६ गतेदेखि पोखरा रङ्गशालामा जारी प्रतियोगिताको आज सम्पन्न तेस्रो क्वार्टरफाइनलमा शहीद स्मारक ‘ए’ डिभिजन लिगको डिफेन्डिङ च्याम्पियन मच्छिन्द्रले मेसुके ओलुमोउको उत्कृष्ट दुई गोलको मद्दतमा आहा १ राराको डिफेन्डिङ च्याम्पियन सङ्कटालाई ४–१ गोल अन्तरले पराजित गरेको हो।

टोलीका महत्वपूर्ण आधा दर्जन खेलाडी राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा सहभागी भएपछि मच्छिन्द्रले दोस्रो रोजाइका खेलाडी लिएर मैदान उत्रिएको थियो। खेलमा मच्छिन्द्रले पहिलो हाफमा एक र दोस्रो हाफमा तीन गोल गर्न सफल भयो। सङ्कटाले दोस्रो हाफमा एक गोल फर्कायो।

सुरुआतमा डिफेन्डिङ च्याम्पियन सङ्कटाले मच्छिन्द्रलाई दबाबमा राखे पनि गोल गर्न सकेको थिएन। खेलको १३ औँ मिनेटमा मच्छिन्द्रले उत्सव राईको गोलमार्फत खेलमा अग्रता बनायो। पेनाल्टी क्षेत्र नजिकबाट राईको शक्तिशाली प्रहार सिधै गोलमा परिणत भएको थियो।

प्हिलो हाफमा १–० को अग्रता बनाएको मच्छिन्द्रले खेलको ४७औँ मिनेटमा अग्रता दोब्बर बनायो। अभिषेक रिजालको क्रसपासमा पेनाल्टी क्षेत्रमा अनमार्क रहनुभएका मेसुकेले दुई रक्षापङ्क्तिका खेलाडी र गोलकिपरलाई छक्काएर गोल गर्न सफल  भएका थिए।

वैकल्पिक खेलाडीका रुपमा दोस्रो हाफमा मैदान गरेका सङ्कटाका गणेश हमालले खेलको ६३औँ मिनेटमा कर्नरमा आएको बललाई हेडमार्फत गोल गर्दै सङ्कटालाई खेलमा फर्काउने प्रयास गरेपनि त्यो सफल हुन सकेन।

मच्छिन्द्रका अभिषेक गुरुङले ८४ औँ मिनेटमा गोल गर्दै टोलीको अग्रता फराकिलो पारे। फ्री किकमा गोलकिपरबाट रिवाउन्ड बललाई नियन्त्रणमा लिँदै उनले गोल गरेका थिए।

त्यसैगरी खेलको ‘म्यान अफ दी म्याच’ घोषित मच्छिन्द्रका मेसुकेले ८६औँ मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे। नाथानिल जुडे गार्सियाको पासमा मेसुकेले गोल गरेका थिए।

मच्छिन्द्र राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा यथावत् छ। मच्छिन्द्रले एएफसी एसियन कपमा नेपालको प्रतिनिधित्व गर्दै छनोट भएको छ। प्रतियोगितामा अब मच्छिन्द्रले फाइनल प्रवेशका लागि बुधबार सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबसँग खेल्नेछ।

प्रतियोगिताअन्तर्गत चौथो तथा अन्तिम क्वार्टरफाइनलको खेलमा मङ्गलबार थ्री स्टार फुटबल क्लब र नेपाली सेनाको विभागीय त्रिभुवन आर्मी फुटबल क्लबबीच खेल हुने आयोजकले जनाएको छ।

आगामी माघ १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रु १० लाख एक हजार र उपविजेताले रु पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्ने आयोजक सहारा क्लबका अध्यक्ष हरिराम गुरुङले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved