कोरोना असरः अनलाइन कक्षाबारे विद्यालयहरू नै अन्योलमा

काठमाडौं महानगरपालिकाका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदी भन्छन्, “१५ माघपछि मन्त्रालयले स्थानीय तहले आफै निर्णय गर्ने भने हामी कार्ययोजना बनाउँछौं। माथिबाट जे निर्णय आउँछ त्यही गर्छौँ। अहिले हामीले छुट्टै कुरा राख्नुपर्ने छैन, त्यसैले बनाको पनि छैन।”

कोरोना असरः अनलाइन कक्षाबारे विद्यालयहरू नै अन्योलमा

काठमाडौं। कोभिड महामारीको तेस्रो लहर महामारीकै रुपमा फैलिएपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले १५ माघसम्मका लागि २० दिन विद्यालय बन्द गर्न निर्देशन दियो। तर, विद्यालय बन्द भएपछि घरमै बसिरहेका बालबालिकाका लागि अनलाइन कक्षा सञ्चालन गर्ने विषयमा अन्योल सिर्जना भएको छ।

मन्त्रालयले विद्यालय बन्द गर्दा बिदाको अवधिमा सबै आधारभूत तथा माध्यामिक विद्यालयलाई ‘सिकाइ सहजीकरण निर्देशिका, २०७७’ ले गरेको व्यवस्था बमोजिम विद्यार्थीको सिकाइमा आवश्यक सहजीकरण गर्ने प्रबन्ध मिलाउन पनि आदेश दिएको थियो।

जसअनुसार अहिले केही ठूला निजी विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेका छन्। तर, धेरैजसोे निजी तथा सामुदायिक विद्यालयहरुलाई सिकाइ सहजीकरण शुरु गर्ने कि नगर्ने भन्ने अन्योल छ।

बालुवाटारस्थित कन्ट्रेलेसन एकेडेमीमा ९ माघदेखि अनलाइन कक्षा शुरु गरेको प्रधानाध्यापक बाबुराम पाण्डेले जानकारी दिए। २६ पुसदेखि ८ माघसम्म जाडो बिदा दिएका र आजदेखि अनलाइनबाट सिकाइ सहजीकरण शुरु गरेको उनले बताए। आज पहिलो दिन ४५० जना विद्यार्थीमध्ये धेरैजसो सहभागी भएको उनले जानकारी दिए।

डिल्लीबजारस्थित पद्मकन्या विद्याश्रम माविमा १२ पुस (बुधबार)देखि अनलाइन कक्षा सञ्चालन गर्न लागिएको प्रधानाध्यापक रिता तिवारीले बताइन्।

तिवारीका अनुसार काठमाडौं महानगरपालिकाले पनि अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ। विद्यार्थीलाई अनलाइन कक्षा सञ्चालन गर्नेबारे सूचना गरेको उनले बताइन्।

“उनीहरुलाई प्रविधिको व्यवस्था गर्न भनका छौं,” तिवारी भन्छिन्, “यही समयमा विद्यालयले भने कुन समयमा कति कक्षालाई पढाउने भन्ने समय तालिका व्यवस्थापन गर्न लागेका छौं।”

एउटै परिवारका दुई तीन जना विद्यार्थी हुने तथा विद्यार्थीअनुसार मोबाइल नहुने भएकाले तीन चरणमा पढाउदाँ सबैलाई सहभागी गराउन सकिने भएकाले दोस्रो लहरको समयमा बिहान ८ देखि साँझ साढे ६ बजेसम्म पढाएको तिवारीले बताइन्।

अहिले पनि सबैलाई समेट्ने गरी कार्यतालिका बनाएर अनलाइन कक्षा सञ्चालन गर्न लागेको तिवारीले जानकारी दिइन्। २८ माघसम्म दोस्रो त्रैमासिक परिक्षा भएको र २९ माघदेखि बन्द गरिएको उनले बताइन्।

१५ माघसम्म विद्यार्थीलाई जाडो बिदा दिएको चावहिलस्थित पशुपति मित्र माविका प्रधानाध्यापक चन्द्रकान्त पण्डितले जानकारी दिए। उनी भन्छन्, “१५ गतेसम्मका लागि बिदा दिएका छौँ, १६ गतेबाट छोडेन भने अनलाइन कक्षा शुरु गर्छौँ।”

२७ पुससम्म परीक्षा भएको र त्यसपछि जाडो बिदा दिएको पण्डित बताउँछन्। अघिल्लो पटक अनलाइन कक्षा सञ्चालन गर्दा आधाभन्दा कम विद्यार्थी सहभागी भएका थिए बाध्यात्मक अवस्था आए पुन अनलाइबाट नै अध्यापन शुरु गर्ने उनले जानकारी दिए।

पशुपति मित्र मावि जस्तै पञ्चकन्या आधारभूत विद्यालयले पनि १५ माघसम्मलाई जाडो बिदा दिएको छ। ३ माघदेखि १५ माघसम्मलाई जाडो बिदा दिएको र १६ माघदेखि विद्यालय खोल्ने अनुमति नदिए मात्र अनलाइन कक्षा सञ्चालन गर्ने प्रधानाध्यापक बिनिता रञ्जितले बताइन्।

रञ्जितका अनुसार यसअघि दोस्रो लहरमा अनलाइन कक्षा सञ्चालन गर्दा ६ देखि आठ कक्षाका सतप्रतिशत विद्यार्थी सहभागी भएका थिए। आधारभूत तहमा ७५ प्रतिशतभन्दा बढी विद्यार्थी सहभागी भएका थिए।

पशुपति र पञ्चकन्या जस्तै बालुवाटारस्थित कस्मोपोलिटिन इन्टरनेशनल स्कुलले पनि जाडो बिदा दिएको छ। १५ माघपछि सरकारले के गर्ने निर्णय गरेपछि मात्र अनलाइन कक्षा सञ्चालन गर्ने प्रध्यानाध्यापक राम पाण्डेले जानकारी दिए।

१५ माघसम्म विद्यालय बन्द गर्न मन्त्रालयको निर्देशनअनुसार बिदा गर्ने र त्यसपछि मन्त्रालयको निर्णयअनुसार काम गर्ने काठमाडौं महानगरपालिकाका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए।

सुवेदी भन्छन्, “१५ माघपछि मन्त्रालयले स्थानीय तहले आफै निर्णय गर्ने भने हामी कार्ययोजना बनाउँछौं। माथिबाट जे निर्णय आउँछ त्यही गर्छौँ। अहिले हामीले छुट्टै कुरा राख्नुपर्ने छैन, त्यसैले बनाको पनि छैन।”

७ माघमा काठमाडौं महानगरभित्र सञ्चालित विद्यालयलाई अर्को सूचना जारी नभएसम्म वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन गर्न सूचित गरेको सुवेदीले जानकारी दिए।

सुवेदी भन्छन्, “सबै विद्यालयहरुले स्रोत साधन हेरेर कार्यतालिका बनाएर सिकाइ सहजीकरण गर्न भनेका छौँ। केही विद्यालयले वैकल्पिक माध्यमबाट पढाइ शुरु गरेको र केही गर्ने तरखरमा रहेका छन्।”

अहिले काठमाडौं महानगरपालिकाका केही निजी विद्यालयले अनलाइन कक्षा शुरु गरेका छन्। केही विद्यालयहरु शुरु गर्ने कि नगर्ने अन्योलमा छन्। त्यस्तै अन्योल सामुदायिक विद्यालयमा पनि देखिन्छ।

सामुदायिक विद्यालयमै पनि केहीले भने अनलाइन कक्षा शुरु गर्ने जमर्को गरेका छन्।
शिक्षा औपचारिक (विद्यालयमा) मात्र हुन्छ कि अनौपचारिक (बाहिर) पनि हुन्छ टुङ्गो लगाउन जरुरी रहेको शिक्षाविद् विद्यानाथ कोइराला बताउँछन्।

“शिक्षाका लागि संरचना चाहिँदैन विद्यार्थीले आफै पनि सिक्छन्,” कोइराला भन्छन्, “हाम्रो विद्यार्थीसँग अनुसन्धान गर्ने तागत छ। त्यो तागतलाई उपयोग गरेर तिनका सिस्टमहरु एक अर्काका पूरक हुन भन्ने तरिकाबाट लैजानुपर्छ।”

शिक्षा सुधार गर्न को जिम्मेवार हो भन्ने टुङ्गो नलाग्दा समस्या भएको कोइरालाको तर्क छ। “यस्तो अवस्थामा शिक्षकले आफ्ना विद्यार्थी जो जहाँ जस्तो अवस्थामा छन्, उनीहरुलाई कसरी सिकाउन सकिन्छ त्यो एकिन गर्नुपर्छ,” कोइराला थप्छन् “पढाएपछि कोर्स सक्ने मात्र नभई गुणस्तरीय शिक्षा दिनुपर्छ।”

स्कुल खोल्ने र बन्द गर्ने प्रश्न नै नभएको कोइराला बताउँछन्। विद्यार्थीले पढेको हुनुपर्छ भनेर सरकारले भन्न सके शिक्षकले नै त्यसका लागि बुद्धि, बाटो र समाधान ल्याउने उनले धारणा राखे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved