सिड्नी शहरमा सार्वजनिक बस कुदाउने एक्ली युवती पोखरेल

सिड्नीको सरकारी बसडिपोमा अत्याधुनिक प्रविधियुक्त ४०० सार्वजनिक बस छन्, त्यसमध्येकै एक्ली महिला चालक हुन्– विराटनगरकी काजोल पाेखरेल।

सिड्नी शहरमा सार्वजनिक बस कुदाउने एक्ली युवती पोखरेल

विराटनगर। विराटनगर–१८ कोशी प्रोजेक्ट घर भएकी काजोल पोखरेल हाल अस्ट्रेलियाको सिड्नी शहरमा बस्छिन्। १५ वर्षअघि २० वर्ष उमेरमा अध्ययन भिसामा बीबीए पढ्न अस्ट्रेलिया गएकी उनी अहिले त्यहाँको सडकमा सार्वजनिक बस कुदाउँछिन्।

अस्ट्रेलिया जाँदा उनी विराटनगरस्थित विराट म्यानेजमेन्ट क्याम्पसमा स्नातक तह तेस्रो वर्षमा अध्ययन थिइन्। १५ वर्षको अन्तरालमा उनी अस्ट्रेलियाको स्थायी बासिन्दा भइसकेकी छिन्।

अस्ट्रेलिया गएपछि स्वास्थ्यकर्मीका रुपमा विभिन्न नर्सिङ होममा समेत काम गरेकी उनले सन् २०१२ मा आफ्नो अध्ययन पूरा गरिन्। उनले त्यहाँ तीन महिने ‘असिस्टेन्ट इन नर्सिङ’ को कोर्स गरेर अस्ट्रेलियाकै विभिन्न नर्सिङ होममा काम गरेको अनुभव सुनाइन्।

सन् २००७ देखि २०१७ सम्म उनले अस्ट्रेलियाको चार वटा नर्सिङ होममा काम गरिसकेकी छिन्। तर, हाल उनले पेशा फेरिएको छ।

नर्सिङ छाडेर हाल उनी रात्रीबसको ड्राइभर भएकी छिन्। सन् २०२० देखि उनी अस्ट्रेलियन सरकारद्वारा सिड्नीका नागरिकहरूका सञ्चालित रात्रिकालीन बसमा महिला चालकको रुपमा कार्यरत छिन्।

सरकारले त्यहाँका नागरिकका लागि सञ्चालन गरिदिएको बसको स्टेरिङमा अचेल विराटनगरकी छोरी पोखरेलको हात हुने गर्छ। परदेशी भूमि र विभिन्न प्राविधिक समस्यालाई छिचोल्दै उनी सार्वजनिक सवारीको ड्राइभिङ सीटसम्म पुगेकी हुन्।

अस्ट्रेलियामा सार्वजनिक सवारीसाधनलाई भरपर्दो यातायातका रुपमा हेरिन्छ। सुरक्षित, मर्यादित र सम्मानित पेशाको रुपमा बस चालकलाई लिइन्छ। करिब पाँच हजार नेपाली बस्ने सिड्नीमा ३३ बर्सिया पोखरेल बस हाँक्ने पहिलो नेपाली महिला हुन्।

सन् २०१७ मा ‘बी’ वर्गको सवारी चालक अनुमति पत्र प्राप्त गरेकी उनले चार जनाबाट छनौटमा परेर सार्वजनिक बस चलाउने अधिकार पाएकी हुन्। त्यसपछि निश्चित समयको तालिमपछि हाल उनीले अस्ट्रेलियामा पूर्णकालीन रोजगारी पाएकी छन्।

“सानैदेखि ड्राइभिङ मन पर्थ्यो। रेलमा काम गर्ने ठूलो रहर थियो,” पोखरेलले नेपालभ्यूजसँग भनिन्, “रेलमा काम गर्ने रहर पूरा नभए पनि ड्राइभिङको सपना भने पूरा भयो।”

हाल उनी दिउँसो ३ बजेदेखि राति (बिहान) ३ बजेसम्म दैनिक १२ घण्टा बस कुदाउँछिन्। यो पेशामा मासिक आम्दानी पनि राम्रै रहेको बताइन्। उनले भनिन्, “अहिले मासिक ४ हजारदेखि ४ हजार ५ सय अस्ट्रेलियन डलरसम्म कमाइ हुन्छ’, उनले भनिन्, “सिड्नीको सरकारी डिपो (बसपार्क) मा अत्याधुनिक प्रविधियुक्त ४०० बस छन्। त्यसमध्येकै म एक्ली महिला चालक हुँ।”

पोखरेलको परिवारका अधिकांश सदस्यहरू हाल अस्ट्रेलियामै छन्। दिदीभिनाजु सन् २००५ मै अस्ट्रेलिया गएका थिए। त्यसपछि सन् २०१८ मा अध्ययनको सिलसिलामा भाउजू पनि अस्ट्रेलिया गइन्। सन् २०२० मा दाजु पनि ‘डिपेन्डेण्ट’ भिसामा उतै गए। उनले भनिन्, “महिला हुँ भन्दै खुम्चिएर बस्नहुँदैन। अवसर पाएपछि अघि बढ्नुपर्छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved