पोखरामा गुन्जदैं सहारा चिनाउने गीत

पोखरामा गुन्जदैं सहारा चिनाउने गीत

पोखरा।  स्वागतम ! स्वागतम ! !
सहाराको स्वागतम् आहा रारा गोल्ड कपमा ।।
खेल नै जीवन हो, जीवन नै जगतलाई,
सहारा नै खेलको बुझौं अभियानलाई ।।

आजभन्दा २० वर्ष पहिले रेकर्ड भएको यो गीतले अहिले पोखरा रंगशाला गुन्जाएमान बनाएको छ। प्रकृति, साँस्कृतिक, पर्यटन र खेलकुदको संयोजन गरी बनाइएको उक्त गीत हरेक वर्ष फुटबल प्रतियोगितामा बज्ने गर्छ। सहाराले आफ्नो प्रोमोशन रुपमा यो गीत रेकर्ड गराएको थियो। वरिष्ठ सञ्चारकर्मी÷गीतकार आरजु बिष्ट सल्यानीले लेखको उक्त स्वागत गीतमा संगीतकार तथा विनोद बाँनिया र एजुदा थापाको स्वर रहेको छ।

लोक रसमा तयार पारिएको उक्त गीतले पोखरालाई गीतमार्फत चित्रण गरिएको गीतकार आरजु विष्ट सल्यानी बताउँछन् । २०५८ सालमा बनाएको उक्त गीत अहिलेसम्म तीनपटक रेकर्ड भैसकेको छ । ‘गीतमा थप क्वालिटी दिनको लागि समय अनुसार परिवर्तन गर्दै रेकर्ड गरियो,’ उनी भन्छन्, ‘पछिल्लो समय काठमाडौं गएर रेकर्ड गराएका हौं।’

सहाराका तत्कालीन अध्यक्ष वसन्त थकालीसँगको छलफलमा फुटबल सम्बन्धी गीत नभएकोले सोही समयमा पोखरामै रेकर्ड गराएको उनी सम्झन्छन्। ‘पहिलो पटक रेकर्ड गर्दा संगीतकार तथा गायक विनोद बाँनिया र ज्योति गुरुङको आवाज रहेको थियो। त्यतिबेला सहाराको स्वागतमा भन्ने मात्र रहेको थियो,’ सल्यानी भन्छन्, ‘पहिला रारा गोल्डकप मात्र थियो। गीत निकालेको केही वर्षपछि पुन रि एरेन्ज गरेर दोस्रो पटक रेकर्ड गरायौं । पछि आहा थपिएपछि पुन अर्को पटक रेकर्ड गरियो।’

उनका अनुसार पछिल्लो पटक गीत रेकर्ड गर्दा सहारा क्लबद्धारा सञ्चालित एकेडेमीलाई पनि जोडेर, ‘दोविल्ला एकेडेमी असाहय अनाथलाई’ भन्ने लाइन गीतमा थपिएको छ।

यस गीतका संगीतकार एवं गायक विनोद बानियाले भर्खरै म्युजिक सिक्दै गरेको बेलामा सहारा क्लबको गीतमा जोडिएको सुनाए। ‘त्यतिबेला दाईहरुले मलाई विश्वास गरेर गीत दिनुभयो,’ उनले भने, ‘कम बजेटमा रेकर्ड गराएका थियौं। अहिले यही गीत बज्ने बित्तिकै फुटबल सुरु भएछ है भन्ने झल्को दिन्छ।’

बानियाँले धेरै खेलकुद गीत गाएका छन्। त्यसमा पनि बढी रुचाइएको यो गीतले खेलकुद गीतपनि हिट हुँदो रहेछ है भन्ने कुरा सहारा क्लबले झर्लङ्ग पारेको उनी बताउँछन्। ‘यो गीत सुनेपछि फुटबलको बहार आएजस्तो हुन्छ,’ उनी भन्छन्, ‘यो गीतले गायकसँगसँगै संगीतकार पनि बनायो । त्यसपछि थुप्रै खेलकुदका गीतमा संगीत भरेको छु ।’ उनले संगीत गरेको ‘लौ आयो भलिबल’ पनि हिट खेलकुद गीत हो।

गीत रेडियो, टिभीमा बज्ने बित्तिकै खेलकुद प्रेमीलाई गोल्डकप आएको आभाष हुने सहारा क्लबका अध्यक्ष हरेराम गुरुङ ‘सुरज’ बताउँछन्। ‘फुटबल प्रतियोगिता सफल हुनुमा गीतको ठूलो हात छ। गीत, आहा रारा गोल्डकप र सहाराको सम्बन्ध नङ मासु जस्तो बनेको छ,’ उनले भने, ‘यो हाम्रो प्रोमोशन गीत हो।’

साना बालकलाई आश्रमदेखि खेलकुद जगतमा सहाराको कार्य प्रशंशनीय छ। यति खेर पोखरामा २० औं आहा रारा गोल्डप सञ्चालन भइरहेको छ। लामो समयदेखि पोखरामा रहेर निरन्तर फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको सहारा खेलकुदसँगै सामाजिक कार्य पनि उत्तिकै सक्रिय छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved