ओमिक्रोन फैलिए पनि छैन सतर्कता

नेपालभ्युज

ओमिक्रोन फैलिए पनि छैन सतर्कता

मधेश। मधेश प्रदेशको बजारहरूमा अत्यधिक भीड देखिएको छ।

मधेश प्रदेश अन्तर्गतका विभिन्न जिल्लाहरूमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमित भेटिएपनि स्थानीय तहमा भने सतर्कताको अभाव देखिएको छ। बजारमा भीडभाड अत्यधिक देखिएको छ भने सर्वसाधारणहरूले स्वास्थ्य मापदण्ड अपनाउन छाडेका छन्।

बिना मास्क बजारमा सर्वसाधारणहरू आवतजावत गर्ने गरेका छन् भने भीडभाड समेत देखिएको छ। मधेश प्रदेशमा १४ जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक बिजय झाले जानकारी दिए। ५ सय २७ जना परिक्षण गर्दा १४ जनामा ओमिक्रोन भेरियन्ट देखिएको हो।

पछिल्लो केही दिनदेखि मधेश प्रदेशमा कोरोना संक्रमणको दर बढेको छ। अहिले दिनहुँ सयौँको संख्यामा कोरोना संक्रमित थपिँदै गएका छन्। बिहीबार प्रदेशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ७ जनामा कोरोना संक्रमण देखिएको थियो। हाल यस प्रदेशमा १ हजार २ सय ११ जना कोरोनाको सक्रिय संक्रमित रहेका छन्। संक्रमितहरूमध्ये आइसीयुमा २ जना, एचडीयुमा ४ जना र बाँकी संक्रमित होम आइसोलेशनमा रहेका छन्। झाले खोप लगाउनेको संख्यामासमेत वृद्धि भएको बताए। उनले करीब ५० प्रतिशतले खोप लगाएको जानकारी दिए।

मधेश प्रदेशमा हालसम्म ५० प्रतिशतले कोरोनाविरुद्धको पूर्ण (दोस्रो मात्रा) खोप लगाएका छन्। पछिल्लो दुई साताको अवधिमा मात्रै प्रदेशका जिल्लामा कोभिडविरुद्धको खोप लगाउने दर करीब १२ प्रतिशतले बढेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। बढ्दै गएको कोभिड संक्रमणको ग्राफ, खोपसम्बन्धी निरन्तरको प्रचार–प्रसार र स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको सक्रियताका कारण पछिल्लो समय खोप लगाउने दर बढेको हो।

गत २५ पुससम्म दोस्रो मात्रा खोप लगाउने १८ वर्षमाथि उमेर समूहको संख्या ३८ प्रतिशत मात्र रहेकोमा पछिल्लो दुई साताको अवधिमा त्यो संख्या बढेर करीब ५० प्रतिशत पुगेको निर्देशनालयका निर्देशक झाले जानकारी दिए। उनकाअनुसार पूर्ण खोप लगाउनेको संख्या सर्लाहीमा ६३ दशमलव ३, धनुषामा ५२ दशमलव ६, बारामा ५३ दशमलव ६, पर्सामा ५१ दशमलव १, सप्तरीमा ४७ दशमलव ७, सिरहामा ४६ दशमलव ८, रौतहटमा ३९ दशमलव ६ र महोत्तरीमा ३६ दशमलव ६ प्रतिशत पुगेको छ। तर बजार, सरकारी कार्यालयहरूमा अहिले पनि सर्वसधारणहरूको भीड लाग्ने गरेको छ। सर्वसाधारणहरू बिना मास्क आउने गरेका छन्।

स्वास्थ्य मापदण्डलाई कडाई गराउन खासै चासो देखाइएको छैन। राजनीतिक दलहरूले समेत कोभिड नियन्त्रणका लागि लागू गरिएको स्वास्थ्य मापदण्डको बेवास्ता गर्दै आ–आफ्नो गतिविधिलाई अगाडि बढाउने गरेको पाइएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved