स्थानविशेष कविता

भक्तपुर : दुई कविता

नेपालभ्युज

भक्तपुर : दुई कविता

भक्तपुरको देश

बाल आवारा

 

एउटा इतिहास बोकेको भक्तपुर
ज्यापुको खर्पनसँग
आजकल पनि
उही मितेरी साइनो गाँसेर
सूर्योदय हुनेबित्तिकै खेतमा जान्छ
र, कच्चा इँटाको भट्टामा
दिनभरि
मान्छेभन्दा अग्लो
विचारभन्दा फराकिलो
भिमसेन धरहराजस्तो
अग्लो सोतेमा तमाखु पिउँछ
मान्छेजस्तै साँगुरो सडक
पुराना घरहरूका बीचबाट
ट्याक्टरमुनि कुदिरहेछ
सडक इँटाबाट बनेको छ
घर इँटाबाट बनेको छ
भक्तपुरको मान्छे पनि इँटैबाट बनेको छ
इँटाको थुप्रोबाटै
भक्तपुरको देश बनेको छ
इँटाका प्रत्येक टुक्राहरू
इँटाकै भाषा बोल्छन्
इँटाको देशमा बाटो छैन
तर टेक्नको लागि
जताततै गुहुको थुप्रो छ
उभयरचर नागरिकहरू
आफ्नै पोखरी ठूलो भन्ने सिद्धान्तमा
बेसरम निर्धक्क
धमिलो सास फेरिरहेछन्
मान्छे घरजस्तै पुरानो छ
विचार सडकजस्तै साँगुरो छ
थोत्रे नागरिकहरू
फुकिढल मरन्च्याँसे घरहरू
मर्सिडिज कारजस्तै महँगा ट्याक्टरहरू
ज्यापूहरू, ज्यापूनीहरू, खर्पनहरू
कमजोर मानसिकतामा
क्युरियोका सामानसँग
आफूलाई बिक्री गरिरहेछन्
एउटा पुरानो आधुनिक भक्तपुर
एउटा थोत्रो झुम्रे भक्तपुर
थाहा छैन
किन हो राँडो लोग्नेजस्तै
प्रत्येक साँझ
ब्लुफिल्म हेरेर
ज्यापूनीको भट्टीभित्र जान्छ
र, ज्यापूनीलाई
ठर्रा र छोलाको अर्डर गर्छ।

भक्तपुर

दिल पौडेल

भादगाउँ, तिम्रो पुरानो रुप
तिम्रो पुरातन पासो देखेर
तिम्रो व्यवहारको जंगल भोगेर
भविष्यमा स्वर्णीमता देखिन्न
न्यातपोल जस्तो अमानवीय बेरुजु छ
विगतका कुरुप व्यवहार
मस्तिष्कको खेतमा फलेकै छ।

खर्पनमा मौलिकता बोकेको भन्छौ तिमी
पाख पखाल्न तलेजु ढोगेकी ठान्छौ तिमी
५५ झ्यालमा कहाँ समानता छ र ?
जातभातको गोल्डेन गेट टल्काएर
इतिहासको भादगाउँ देश नसोच
लाखेनाच, गाईजात्रे नाता प्रमाणित साङ्लो झल्का
अब म झुकिनेवाला छुइनँ
सेवानिवृत्त कालो धनले
एक्काइसौं शताब्दीको च्यानल जोडिन्न
मान्छेभन्दा बढी ढुंगे देवता पाल्ने
तिमीलाई कुनै हालतमा बहादुर मानिन्न
गन्हायो पुरानो दुर्गन्धित नधोएको मोजा
भो फुकाल तिम्रो बासी अनुहार लिएर
मान्छेको कोखा हान्ने काम नगर
नयाँ पिँढी सामु अब तिमीले
करबल छलछामले लेखेको तमसुक दर्ता गर
देखेको छु तिमी कसैको आदेशमा
हावा पिउँछौ
हेरेको छु तिमी कसैको परमादेशमा तरबार उज्याउँछौ
तिमीले नगरकोटबाट
हिमाल देखाउँदैमा
तिम्रो रुढीवादी पहाड भत्किन्न
बरु मेची काली तीर्थ गएर आऊ
सद्भाव, मूल्यमान्यता र चेतना टिपेर ल्याऊ
आफैले आफूलाई चिन
काठमाडौंको तोक आदेशमा
बेमेलको ड्याङ निर्माण नगर
पुरातनको ढाँचा नफेर्ने हो भने
गन्हाएको हनुमन्ते सफा नगर्ने हो भने
तिमी स्वीकार वा नस्वीकार
भादगाउँ म तिम्रो पुरानो रुपको
कठालो समाउन चाहन्छु
म तिमीलाई चारभञ्ज्याङ बाहिर
काज पठाउन चाहन्छु।
००


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved