तस्वीर–कथा

जयको आँखामा चरै संसार

जयको आँखामा चरै संसार

साँझ पर्नपर्न लागिरहेको थियो। छिपछिपे पानी जमेको सुनकोसीको किनारमा एक जोडी पन्छी देखियो। सुनकोसीको प्रवाहमय छाल हेर्दै किनारमा रमाइरहेका साथीहरूलाई छाडेर जय भण्डारी तिनै जोडी पन्छी हेर्न दगुरे। हातमै रहेको क्यामरा तिनै पन्छीतिर तेर्‍याउँदै बगरै–बगर दौडिन थाले उनी।

जय भण्डारी

‘बर्ड वाचिङ’ का सौखिन हुन्, उनी। साथै, फोटोग्राफर पनि। बितेको डेढ दशकयता उनी पन्छीहरूको अवलोकन र तिनलाई क्यामरामा कैद गर्ने कार्यमा सक्रिय रहँदै आएका छन्। यसका निम्ति उनलाई पर्यटन क्षेत्रको आबद्धताले झनै सघायो। भन्छन्, ‘पर्यटन क्षेत्रमा जोडिएपछि मेरो रुचि पन्छीहरूको अवलोकन गर्ने र फोटो खिच्नेतिर तानियो। चराहरूको सुन्दरता देखेर मुग्ध त म सानैदेखि नै हुन्थेँ।’

पहिलादेखि नै रह्यो, पन्छीप्रति उनको रुचि। शिवनगर, चितवनका भण्डारी राष्ट्रिय निकुञ्जतिर जान्थे– कहिले घुम्ने उद्देश्यले, कहिले खर र काँस काट्न। निकुञ्जमा जाँदा विभिन्न प्रजातिका पन्छी देख्दा उनी रमाउँथे, असाध्यै।

पर्यटन क्षेत्रसँग जोडिएपछि पन्छीहरूका अवलोकन र अध्ययन गर्ने रुचि झनै गहिरिँदै गयो उनमा। भन्छन्, ‘पर्यटन क्षेत्रमा लागेपछि विदेशीहरूसँग संगत बढ्दै गयो। त्यही क्रममा एउटी जर्मनी दिदीसँग भेट भयो र उहाँको प्रेरणाले म यो क्षेत्रतिर तानिएँ।’

पन्छी अध्ययनमा एकोहोरिएका विमल थापा र राजेन्द्र गुरुङसँग भेट भएपछि चराको संसार बुझ्न अझ सहज हुँदै गयो, उनलाई। पन्छी–अवलोकनका लागि नेपालका विभिन्न ठाउँहरूका साथै मलेसिया र इटालीसम्मै पुगेका छन् उनी। सन् २०१७ मा मलेसियामा आयोजित विश्वव्यापी बर्ड वाचिङ प्रतियोगितामा पनि उनले सहभागिता जनाएका थिए।

सुरुमा पन्छी अवलोकनमा मात्र सीमित रहे पनि पछि भने पन्छी फोटोग्राफीमा पनि उनी सक्रिय रहन थाले। भन्छन्, ‘कुनै नौलो प्रजातिको चरा देखेको प्रमाणका लागि पनि फोटोग्राफी अनिवार्य देखियो।’

पन्छी अवलोकन र फोटोग्राफीकै लागि नेपालका विभिन्न राष्ट्रिय निकुञ्ज, लाङटाङ, सगरमाथा क्षेत्रलगायत जैविक विविधतायुक्त अनेक ठाउँमा पुगेका छन् उनी। भन्छन्, ‘पन्छी अवलोकनका लागि चितवन, बर्दिया, शुक्लाफाँटा, कोसी टप्पु, गोदावरी, शिवपुरी, नागार्जुनजस्ता निकुञ्जहरू उपयुक्त थलो हुन्।’ ती थलोहरूमा कतिपय रैथाने पन्छीहरू नै बस्छन्। कतिपय पन्छीहरूचाहिँ अनुकूल मौसम रोज्दै बसाइसराइँ पनि गर्छन्।

अनुकूल मौसमका कारण नेपाल आप्रवासी पन्छीहरूको रोजाइमा पर्दै आएको छ। जाडो मौसममा साइवेरिया, मंगोलिया र चीनबाट पन्छीहरू आउँछन् भने गर्मी मौसमतिर अफ्रिका, श्रीलंका, बंगलादेशलगायत दक्षिणी क्षेत्रबाट पनि पन्छीहरू आउँछन्। भण्डारी भन्छन्, ‘उत्तरी क्षेत्रबाट आउने हाँस, जलेवा प्रजातिका पन्छीहरूको रोजाइमा सिमसार क्षेत्र पर्दछन्। दक्षिणी क्षेत्रबाट आउने पन्छीहरू चाहिँ जंगली इलाकामा नै बस्छन्।’ उत्तरी क्षेत्रबाट अक्टोवरदेखि पन्छीहरू आउने क्रम सुरु हुन्छ भने दक्षिण क्षेत्रबाट चाहिँ मार्चदेखि।

अचेल पनि कार्यतालिका बनाएर उनी पन्छी अवलोकन र फोटोग्राफीका लागि विभिन्न ठाउँ चहार्न दौडिहाल्छन्। जयको घनीभूत चरा अवलोकन र चरा–प्रेमलाई हेर्दा कवि दुर्गालाल श्रेष्ठको शब्द र आनी छोइङ डोल्माको स्वरमा सजिएको यो गीतको पंक्तिलाई यसरी प्रस्तुत गर्दा सान्दर्भिक देखिएला-‘जयको आँखैमा चरै संसार…।’


Comment

2 thoughts on “जयको आँखामा चरै संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved