युक्रेन समस्यामा छलफल गर्न अमेरिकी–रुसी विदेशमन्त्री भेट्दै

नेपालभ्युज

युक्रेन समस्यामा छलफल गर्न अमेरिकी–रुसी विदेशमन्त्री भेट्दै

अमेरिका र रुसका उच्च कूटनीतिज्ञबीच स्वीजरल्याण्डको जेनेभामा शुक्रबार भेटवार्ता हुँदैछ। युक्रेन मुद्दाका विषयमा छलफल  भेट हुन लागेको हो। अघिल्लो हप्ता दुई देशका उच्च अधिकारीबीच भएको भेटवार्ताले कुनै परिणाम निकाल्न नसक्दा उच्च कूटनीतिक तहमा भेटवार्ता हुन लागेको हो।

वार्ताका लागि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लींकेन जेनेभा पुगेका छन्। त्यहाँ उनले रुसी विदेशमन्त्री सर्जिओ लाभोससँग भेटवार्ता गर्दैछन्। युक्रेनलाई हमला गरेको अवस्थामा अमेरिकाले रुसमाथि आर्थिक नाकाबन्दी लगाउने बताएको छ। आफ्नो युरोपियन साझेदारमाझ अमेरिकाले रुसले युक्रेनमाथि हमला गरेको अवस्थामा नाकाबन्दी लगाउने प्रतिबद्धता व्यक्त गरेको छ।

मस्को विरुद्ध साझा मोर्चा बनाउने वाशिङ्टनको प्रयासलाई बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनको एक पत्रकार सम्मेलनले विथोलेको छ। पत्रकार सम्मेलनमा राष्ट्रपति बाइडेनले युक्रेन मामिलामा रुस ‘अघि बढ्ने’ अनुमान गर्दै त्यस्तो गरेको अवस्थामा उसले ठूलो नोक्सानी व्यर्होने बताएका थिए।

रुसले युक्रेनसँगको आफ्नो सीमामा १० सौँ हजार सेना तैनाथ गरेको छ। पश्चिमा देशले सन् २०१४ मा रुसले आक्रमण गरेको युक्रेनमाथि फेरी आक्रमण गर्नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। रुसले क्रिमियालाई आफ्नो नियन्त्रणमा लिन २०१४ मा युक्रेनमाथि पनि हमला गरेको थियो। तर, रुसले भने कुनै पनि प्रकारको आक्रमणको तयारी नगरेको दाबी गरेको छ। तर, आफ्नो माग पुरा नभएको अवस्थामा उसले सैन्य कार्वाही गर्नसक्ने बताएको छ।  नाटोले युक्रेन मामिलामा कहिल्यै हस्तक्षेप नगर्ने पुरानो वाचा पालना नगरेको रुसको आरोप छ।

के्रमलिनका प्रवक्ता दिमित्री पेसकोवले बाइडेनको टिप्पणीलाई उधृत गर्दै रुसलाई यस प्रकारको चेतावनी कम्तिमा एक महीनाअघि बाट दिइएको बताएका छन्।

‘युरोपमा देखिएको तनावको अवस्था कम हुने कुनै सम्भावना छैन, तर स्थितिलाई स्थिर बनाउने योगदान गर्न सकिन्छ,’ पेसकोवले भनेका छन्।

बुधबार किवीबाट गर्दै अमेरिकी विदेशमन्त्री ब्लींकेनले  युक्रेनलाई अमेरिकी सहयोग रहने बताउँदै आश्वस्त पार्ने प्रयास गरेका छन्। बिहिबार जर्मन, फ्रान्स र बेलायतका अधिकारीलाई भेट्नु पूर्व अमेरिकी विदेशमन्त्री ब्लींकेनले रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले युक्रेनमाथि तत्काल आक्रमण गर्नसक्ने बताएका छन्।

अमेरिकी सहायक विदेशमन्त्री वेन्डी सर्मन र रुसी सहायक विदेशमन्त्री सर्जी रायाबकोवबीच पनि गत हप्ता जेनेभामा भेटवार्ता भएको थियो। जहाँ दुवै पक्षको प्रस्ताव करीब मिल्नै नसक्ने अवस्थाको थियो।

रुसले नाटोले युक्रेनलाई सदस्यका रूपमा स्वीकार नगर्ने र नाटोको पूर्वतर्फको विस्तार रोक्ने वाचा चाहेको थियो। तर, अमेरिकी साझेदारले त्यो प्रस्तावलाई अस्वीकार गरेका थिए। शुक्रबारको भेटबाट केही स्पष्ट नतिजा आउने अमेरिकी अधिकारीहरुले अपेक्षा गरेका छन्।

अमेरिकी विदेशमन्त्री ब्लींकेनले रुसले युक्रेनका सवालमा ‘गलत सूचना प्रवाह’ गरेको आरोप लगाउने गरेका छन्। उनले रुसी विदेशमन्त्रीसँगको भेटवार्तामा युक्रेन मामिलामा पश्चिमा देशको संयुक्त विचारलाई अघि सार्ने बताएका छन्। उनले रुसलाई पछि हट्न समेत आग्रह गर्ने बताए।

‘हामीबीचको एकताले हामीलाई शक्ति प्रदान गर्छ, त्यो शक्तिलाई रुसले भेट्न सक्दैन,’ ब्लींकेनले भनेका छन्, ‘त्यसैले मैले साझा अवधारणा अघि सार्न सक्छु।’ विदेशमन्त्री ब्लींकेनले युक्रेन समस्या समाधानका लागि अमेरिका र युरोपियन देशबीच साझा धारणा रहेको बताउँदै रुसी विदेशमन्त्रीसँगको भेटमा त्यसैलाई अघि सार्ने बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved