गरी खान पाऊँ : व्यवसायी

‘खोप कार्ड हेरेर मात्रै विमानमा चढ्न दिने निर्णय अव्यवहारिक’

नेपालभ्युज

गरी खान पाऊँ : व्यवसायी

काठमाडौं। कोरोना महामारीलाई मध्यनजर गर्दै व्यवसायीहरूले सरकारले स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नेगरी व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग गरेका छन्।

विभिन्न पेशामा आवद्ध व्यवसायीहरूले कोरोनाको भयावह अवस्था देखिएपछि विगतका दिनमा सरकारले लकडाउन गर्ने गरेको र त्यसले अर्थतन्त्रमा ठूलो असर पारेको भन्दै व्यवसायीहरूले अब कोरोनासँगै व्यवसाय सञ्चालन गर्न सरकारले सहजता प्रदान गर्नुपर्ने माग गरेका हुन्।

संकटको बेलामा सरकारले पर्यटन व्यवसाय लगायतका अन्य व्यापार व्यवसायका क्षेत्र बन्द गर्ने भन्दा पनि नियमलाई परिपालना गर्ने किसिमले सबैलाई समेटेर अघि बढ्नुपर्ने पर्यटन व्यवसायी निलहरी बाँस्तोलाले बताए। उनले यस्तो बेलामा सरकारले सहुलियत ऋण उपलब्ध गराएर स्वास्थ्यका मापदण्ड पालना गर्नेगरी व्यवसाय सञ्चालन गर्न दिन माग गरे। व्यवसायी बाँस्तोलाले व्यवसायीहरूले पनि एउटा पेशामा मात्रै आधारित भएर काम गर्नु नहुने बताए। उनले राज्यले भरोसा नदिएको खण्डमा मजदुर र व्यवसायीहरू आफ्नो पेशाबाटै पलायन हुने अवस्था आइसकेको बताए।

‘‘फेरि लकडाउन भए आर्थिक अवस्था बिग्रिँदै जान्छ र अर्थतन्त्रमा नकारात्मक असर देखिन्छ,” उनले भने, ‘‘लकडाउन भनेर लकडाउन होइन, त्यसमा नियमअनुसारको आ आफ्नो गतिविधि गर्न पाउने गरी काम गर्न दिनुपर्छ।’’

त्यस्तै यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले खोप कार्ड हेरेर मात्रै विमानमा चढ्न दिने निर्णय अव्यवहारिक भएको बताए। उनले सरकारले यो निर्णय निर्णयका लागि मात्रै गरेको भन्दै व्यहारमा उतारेर कार्यान्वयन गर्न नसकिने बताए। बालबालिका समेत गरी नेपालमा पर्याप्त जनसंख्याले खोप नलगाइसकेकाले उक्त निर्णय कार्यान्वयनमा लैजान कठिन हुने उनको भनाइ थियो।

त्यस्तै होटल संघका उपाध्यक्ष विनायक शाहले सरकारले जारी गरेको निर्देशनमा नियन्त्रणको कुरा मात्रै भएको तर कोरोनासँगै अर्थतन्त्र अघि बढाउने रणनीति नरहेको आरोप लगाए। उनले सरकारले विगतमा झैँ यस वर्ष पनि निर्देशन जारी गर्दा अर्थतन्त्रलाई उकास्न कुनै पहल नगरेको बताए।

उपाध्यक्ष शाहले सरकारले आर्थिक क्षेत्रलाई नजरअन्दाज नगरी सँगै लिएर जानुपर्ने बताउनु भयो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved