भीड नगर्न निर्देशन दिने प्रशासनकै व्यवस्थापन कमजोर, कोरोनाको जोखिम बढ्यो

जिल्ला प्रशासन कार्यालय कैलालीले टोकन प्रणालीबाट सेवाको शुरुआत गरेको तर त्यसलाई व्यवस्थापन गर्न नसकेका कारण भीड पहिलेभन्दा बढेको हो।

भीड नगर्न निर्देशन दिने प्रशासनकै व्यवस्थापन कमजोर, कोरोनाको जोखिम बढ्यो

धनगढी। कैलारी गाउँपालिका–४ हसुलियाका किरण चौधरी शुक्रबार बिहानै जिल्ला प्रशासन कार्यालय कैलालीअघि नागरिकताको प्रतिलिपि बनाउन लाइनमा थिए। लाइनको पुछारमा भेटिएका उनी बिहान ५ बजे आएर लाइन लागेको बताउँछन्। ढिलो आए टोकन नपाइने हो कि भन्ने डरले बिहानैदेखि लाइनमा लागेका थिए।

हसुलियाकाकै मोतिराम चौधरी बिहान ६ बजेदेखि लाइनमा आफ्नो पालो पर्खिरहेका छन्। उनी पनि नागरिकता बनाउनकै लागि प्रशासनले दिने टोकनको पर्खाइमा छन्।

यस्तै धनगढी उपमहानगरपालिका–१९ फूलबारीकी अशोकदेवी चौधरी अग्रपंक्तिमा थिइन्। उनले सुनाइन्, ‘‘आज त टोकन पाइन्छ कि भनेर बिहान चारै बजे प्रशासन पुगेकी हुँ।”

यी केही प्रतिनिधि सेवाग्राही हुन्, उक्त भीडमा टोकनकै प्रतीक्षामा छन् थुप्रै सेवाग्राही। जिल्ला प्रशासन कार्यालय कैलालीले टोकन प्रणालीबाट सेवाको शुरुआत गरेको तर त्यसलाई व्यवस्थापन गर्न नसकेका कारण भीड पहिलेभन्दा बढेको हो।

कोरोना महामारीको तेस्रो लहरको संक्रमण तीव्र गतिमा फैलिरहेको अवस्थामा प्रशासनले २५ जनाभन्दा बढी भीडभाड नगर्न निर्देशन दिए पनि उक्त आदेश आफैले लागू गर्न सकेको छैन्। कैलाली कोरोना महामारीको रेड जोनमा छ। संक्रमणको जोखिम बढ्दै गएको छ। संक्रमितहरूको संख्या वृद्धि भए पनि सम्बन्धित निकायहरूकै लापरबाहीले संक्रमणको जोखिम बढ्दै गएको छ।

बजार क्षेत्रमा देखिने भीडभाड र सरकारी तथा गैर सरकारी संस्थाहरूमार्फत् हुने गरेको तालिम, गोष्ठी तथा राजनैतिक कार्यक्रमहरू निषेध गरेको प्रशासनले आफ्नै कार्यालयमा हुने भीडभाड भने नियन्त्रण गर्न सेकेको देखिन्न। दैनिक संक्रमित बढ्दै गएको त्रासकैबीच सर्वसाधरणहरू स्थानीय प्रशासनको लापरबाहीका कारण जिल्लाको अवस्था डर लाग्दो भएको गुनासो गर्छन्। बजारमा हुने भीडभाड तथा ठूलो संख्यामा मानिसहरूको उपस्थितिमा हुने कार्यक्रमहरू रोक्न नसक्दा संक्रमण फैलन सक्ने भएपछि स्थानीयहरूले चिन्तित छन्।

३ माघदेखि टोकन प्रणाली शुरु गरेको प्रशासन सेवाग्राहीहरूको लाइन थेग्नै नसक्ने अवस्थामा पुगेको छ। सेवाग्रहीहरू टोकनको लागि बिहान ४ बजेदेखि नै प्रशासन अगाडि जम्मा हुने गरेका छन्। ढिलो आए टोकन नदिने गरेको गुनाशो गर्दै एक स्थानीय भन्छन्, ‘‘बाहिर यत्रो भीड हुँदा पनि भित्र कुनै मतलबै छैन, सेवा चुस्त गर्ने इच्छाशक्ति नै देखिन्न।”

प्रशासनले दैनिक नयाँ नागरिकताका लागि दैनिक ४०, नागरिकताको प्रतिलिपिका लागि ६० र राष्ट्रिय परिचय पत्रका लागि ८० टोकन वितरण गर्ने गरेको छ। जसकारण सेवा लिन आउने सेवाग्राहीहरू चाँडै आएर भीडभाडमा टोकन लिन बाध्य छन्।

कार्यालयका सूचना अधिकारी शिवराज जोशीले सेवाग्राहीहरूको गलत बुझाइले सेवा नै बन्द गर्नुपर्ने अवस्था आएको बताउँछन्। ‘‘भीडभाड कम गर्न टोकन सिस्टम गरियो, छिटो आए टोकन पाइन्छ भन्ने उहाँहरूको गलत बुझाइले भीडभाड बढ्यो, भीडभाड नियन्त्रण नभए सेवा नै बन्द गर्नुपर्ने अवस्था आएको छ,’’ उनले भने।

३ कर्मचारी संक्रमित

जिल्ला प्रशासन कार्यालय कैलालीमा कार्यरत ३ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रशासकीय अधिकृतसहित ३ जनामा कोरोना देखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

सूचना अधिकारी जोशीकाअनुसार संक्रमित कर्मचारीहरू होम आइसोलेशनमा बसिरहेका छन्। यस्तै ३ जना अन्य कर्मचारीमा समेत कोरोनाको लक्षण देखिएको उनले बताए। उनीहरू पनि होम आइसोलेसनमा बसिरहेको जानकारी उनले दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved