हिउँले पैदलमार्ग अवरुद्ध

नेपालभ्युज

हिउँले पैदलमार्ग अवरुद्ध

म्याग्दी। भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने पैदलमार्ग अवरुद्ध भएको छ। लुलाङ हुँदै गुर्जा जोड्ने एकमात्र पैदलमार्ग हिउँले पुरिएपछि २६० घरधुरीको बसोबास रहेको पूरै वडा यातायात सम्पर्कविच्छेद भएको हो।

वडाध्यक्ष झकबहादुर छन्त्यालले बाक्लो हिउँ जमेर पैदलमार्ग अवरुद्ध बनेपछि मानिस, घोडाखच्चर र गाइर्बस्तुको आवतजावत बन्द भएको बताए।

“पुस १३ गते परेको हिउँ पग्लिन नपाउँदै पुसको अन्तिम साता र यसै हप्तादेखि निरन्तर परेको हिउँ जमेर पैदलमार्ग अवरुद्ध भएको हो,” उनले भने “खाद्यान्नलगायत दैनिक उपभोग्य बस्तु र निर्माण सामग्री ढुवानी ठप्प भएको छ।”

गम्भीर प्रकृतिका बिरामीलाई अस्पताल पुर्‍याउन हेलिकप्टर चार्टर गर्नुपर्ने अवस्था छ। वडा, गाउँपालिका, प्रदेश र संघीय सरकारले गुर्जामा सञ्चालन गरेका योजना कार्यान्वयन प्रभावित भएको छ। गुर्जाको जनकल्याण माविमा सरकारले कोरोना फैलिएपछि बन्द गर्ने निर्णय गर्नुअघिनै हिमपातका कारण पठनपाठन रोकिएको थियो।

लुलाङदेखि गुर्जा पुग्न पूरै दिन जंगल, भीर र खोल्साको पैदलयात्रा गर्नुपर्छ। सडक नभएको गुर्जा पुग्न समुद्री सतहदेखि तीन हजार २०० मिटर उचाइको देउरालीडाँडा पार गर्नुपर्छ। देउराली आसपासका क्षेत्रमा तीन फिट भन्दा बाक्लो हिउँ जमेको छ।

यसैबीच निरन्तरको हिमपातका कारण गुर्जाबासीको दैनिकि प्रभाबित भएको छ। घरभित्रै आयो तापेर बसेका छन्। घरबाहिरको काम गर्न सकेका छैनन्। गोठमा बाँधिएका गाइबस्तु र भेडाबाख्रालाई सुख्खा घाँस, पराल खुवाएर राखेका छन्। चरनका लागि जंगलमा लैजान सकेका छैनन्। खोला, ताल, पधेरा र धारामा पानी जमेको छ।

गत १३ पुषमा हिउँमा पुरिएर गुर्जामा एक जनाको मृत्यु भएको थियो। हिउँले गोठ भत्किदाँ पुरिएर बेपत्ता भएका ५० बर्षीय रामबहादुर छन्त्यालको दश दिनपछि शब भेटिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved