रुघाखोकी तथा ज्वरोका बिरामी बढे

रुघाखोकी तथा ज्वरो भएका बिरामीले पीसीआर जाँच गरे कोरोना पोजेटिभ देखिने गरेको जनाउँदै गाउँघरमा भएका ज्वरोका बिरामी अस्पताल नआउने र पीसीआर पनि जाँच नगर्ने गरेको स्वास्थ्यकर्मी बताउँछन्।

नेपालभ्युज

रुघाखोकी तथा ज्वरोका बिरामी बढे
सांकेतिक तश्वीर

डोटी। चिसो बढेसँगै रुघाखोकी तथा ज्वरोका बिरामीको संख्या दिनहुँ बढ्दै गएको छ। डोटीका सरकारी, निजी अस्पताल तथा पोलिक्लिनिकमा बिरामीको चाप बढ्दै गएको छ।

डोटीका अस्पतालमा दैनिकजसो सयौँको संख्यामा रुघाखोकी तथा ज्वरोका बिरामी उपचारका लागि आउने गरेका शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका चिकित्सक लोकेन्द्र बोहराले जानकारी दिए।

बोहराले भने, “चिसो बढेको छ। बालबालिका तथा वृद्धवृद्धा दैनिक सयौँका संख्यामा उपचारका लागि आउने गरेका छन्, बिरामीको भीड लागेको छ।”

रुघाखोकी तथा ज्वरो भएका बिरामीले पीसीआर जाँच गरे कोरोना पोजेटिभ देखिने गरेको जनाउँदै गाउँघरमा भएका ज्वरोका बिरामी अस्पताल नआउने र पीसीआर पनि जाँच नगर्ने गरेको स्वास्थ्यकर्मी बताउँछन्।

यसैगरी जिल्ला अस्पतालमा पनि रुघाखोकी तथा ज्वरोका बिरामीको संख्या दैनिक बढ्दै गएको अस्पतालका सूचना अधिकारी अमर भाटले जानकारी दिए। उनका अनुसार अहिले जिल्ला अस्पतालमा दैनिकजसो ५० देखि ६० जनाजम्म रुघाखोकी तथा ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन्। उपचार गर्न आउनेमा बालबालिका तथा वृद्धवृद्धा बढी छन्।

गाउँघरमा रुघाखोकीका बिरामी थपिँदै गएपछि कोरोना संक्रमण हो कि भन्ने स्थानीयवासीमा चिन्ता छाएको जोरायल गाउँपालिका–५ गड्सेरा स्वास्थ्यचौकीका अनमी विद्यी भण्डारीले बताइन्।

भण्डारीले भनिन्, “गाउँ–गाउँमा ज्वरो र रुघाखोकीका बिरामी बढी छन्। कोरोना संक्रमण हो कि भन्ने स्थानीयवासीमा चिन्ता छ, जाँच कसैले गर्दैनन्।”

जिल्लामा केही दिनयतादेखि रुघाखोकी तथा ज्वरोका बिरामी बढेपछि घरैमा पानी तताएर खान, तुलसीको पात, सिन्कौलीको पात, बेसार र अदुवा हालेर उमालिएको पानी खान चिकित्सकले सल्लाह दिएका छन्।

चिसो मौसम शुरु भएकाले ज्वरो र रुघाखोकी लाग्दा नआत्तिन तथा नजिकैको स्वास्थ्य संस्थामा गएर उपचार गराउन जिल्ला अस्पतालले सबैमा आग्रह गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved