बेइजिङ डायरी

गरिबी निवारणमा चिनियाँ विधिहरू

सी चिनफिङ सत्तामा आएपछि मात्र चीनले नौ करोड ८९ लाख ९० हजार गरिब नागरिकलाई गरिबीबाट मुक्त गरेको चिनियाँ दाबी छ। चीनभरका ८३२ ओटा काउन्टीलाई गरिबीको सूचीबाट हटाइएको छ भने र एक लाख २८ हजार गाउँहरू गरिबीबाट मुक्त भएका छन्।

गरिबी निवारणमा चिनियाँ विधिहरू

चीनले एक वर्ष अगाडि सन् २०२१ को फेब्रुअरी २५ तारिखमा सम्पूर्ण रुपमा गरिबी निवारण भएको घोषणा गर्‍यो। सन् २०२० भित्र समूल रुपमा गरिबी निवारण गर्ने महत्वाकांक्षी कार्योजना चीनले सन् २०१५ मै घोषणा गरेको थियो।

चीनको उक्त घोषणालाई कोभिड महामारीले असर गर्ने र समूल रुपमा गरिबीबाट उठ्न चीन नसक्ने अनुमान विश्वजगतका अर्थविद्हरुले गरिरहेका थिए। तर चीनले पूर्वयोजना मुताबिक नै समूल रुपमा गरिबी निवारणको घोषणा गरेर अर्थतन्त्रका ज्योतिषीलाई आश्चर्य बनाएको छ।

सी चिनफिङ सत्तामा आएपछि मात्र चीनले नौ करोड ८९ लाख ९० हजार गरिब नागरिकलाई गरिबीबाट मुक्त गरेको चिनियाँ दाबी छ। चीनभरका ८३२ ओटा काउन्टीलाई गरिबीको सूचीबाट हटाइएको छ भने र एक लाख २८ हजार गाउँहरू गरिबीबाट मुक्त भएका छन्।

संयुक्त राष्ट्रसंघले निर्धारण गरेको सहश्राब्दी विकास लक्ष्यलाई १० वर्ष अगाडि नै चीनले पूरा गरेर विश्व गरिबी निवारणमा ७० प्रतिशत योगदान दिएको छ। चीनले प्राप्त गरेको यो उपलब्धिलाई अन्तर्राष्ट्रिय सञ्चारजगतले २१ औं शताब्दीमा विश्वकै सबैभन्दा महान कथाहरूमध्ये एक मानेका छन्।

चीनले यस्तो उपलब्धि प्राप्त गर्नका लागि केकस्ता विधिहरु अँगाल्यो? गरिबी निवारणमा चीनसँग केकस्तो जादूको छडी छ? यो विषयमा विश्वजगतको चासो रहेको छ। चीनले पनि आफ्ना अनुभवहरुलाई बाँड्दै आएको छ। यस आलेखमा गरिबी निवारणमा केही चिनियाँ विधिको छोटकरीमा चर्चा गरिएको छ।

सन् २०१२ पछि चीनले गरिबी निवारणका लागि असाधारण नीतिगत उपायहरूको शृङ्खलात्मक प्रस्तुतिमा प्रभावकारी नीति प्रणाली, कार्यप्रणाली र संस्थागत प्रणालीहरू बनाएर कार्यान्वयन सुरु गर्न थालेको हो। चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका महासचिवमा निर्वाचित हुनासाथ सी चिनफिङले गरिबी उन्मुलन, जनताको गुणस्तरीय जीवन यापन र क्रमशः साझा समृद्धिको कार्यान्वयन गर्नु नै समाजवादको अनिवार्य आवश्यकता रहेको र सीपीसीको महत्त्वपूर्ण कार्यभार भएको बताएका थिए।

चीनमा गरिबी निवारणका कार्यक्रम सी चिनफिङले सुरु गरेका होइनन्। सुधार तथा खुलापन सुरु गरेको ४० वर्षमा करीब ८० करोड जनतालाई चीनले गरिबीबाट मुक्त गराइसकेको छ। तर,गरिबी निवारणलाई सटिक लक्ष्यका साथ अगाडि बढाउने काम र वर्तमानको ठोस उपलब्धि चाहिँ सी चिनफिङकै नेतृत्वमा संभव भएको हो।

१९ औँ शताब्दीसम्म चीन विश्वअर्थतन्त्रमा विशाल र समृद्ध उत्पादकहरूमा अग्रणी स्थानमा रहँदै आएको थियो। चिनियाँ अर्थतन्त्रले चीनको मात्र समृद्धिलाई नबोकेर छिमेकी देशहरूलाई पनि समृद्ध बनाउने गरेको इतिहास जगजाहेर छ। सन् १८४० पछि, क्रमशः पश्चिमी शक्तिहरूको आक्रमण र लुटपाटका कारण, चीन गरिब, कमजोर र निरिह अवस्थामा झरेको हो। सन् १९४९ मा जनगणतन्त्र चीन स्थापना हुँदा एक सय बर्षभन्दा बढीको युद्धका कारण चिनियाँ अर्थतन्त्र जरजर बनेको थियो भने ८० प्रतिशतभन्दा बढी चिनियाँ अति गरिबीको अवस्थामा थिए।

सो समयमा अमेरिकी तत्कालीन विदेश मन्त्री एचेसन डिनले ‘अमेरिका र चीन सम्बन्ध’ मा लेखेका थिए – ‘नयाँ चीन स्थापना हुँदा चीनसँग आफ्ना भोकमरीमा परेका ५० करोड नागरिकलाई खान दिन सक्ने क्षमता थिएन। त्यस्तो बेला चिनियाँ जनताको बाँच्ने र विकासको कल्पना गर्छन् भनेर कसैले सोचेको थिएन। तर चिनियाँ जनतासँग बाँच्ने र विकास गर्ने दृढ संकल्प यस्तो थियो जुन कसैले कल्पना गरेको भन्दा बाहिर थियो।’

चीनले आफ्नै राष्ट्रियताका आधारमा चिनियाँ विशेषतायुक्त गरिबी निवारणका शर्त र नवीन सिद्धान्त सिर्जना गरी कार्यान्वयन गर्न थाल्यो। संक्षेपमा भन्नुपर्दा गरिबी निवारणमा चिनियाँ सिद्धान्तका ऐतिहासिक पृष्ठभूमिमा तीनवटा मुख्य पक्षहरू छन्। वास्तविक अवस्था, अन्तर्राष्ट्रिय सहयोग र विकास रणनीति चीनले अवलम्बन गरेको गरिबी निवारणका तीनवटा मुख्य पक्षहरु हुन्।

जनतामा केन्द्रित विकास नै गरिबी निवारणमा चीनले अँगालेको मौलिक सिद्धान्त हो। अनि गरिबी उन्मुलन, जनताको गुणस्तरीय जीवनयापन र जनतालाई साझा समृद्धिको महसुस गराउनु नै समाजवादको अनिवार्य आवश्यकता रहेको भन्दै सीपीसीको शासकीय उद्देश्यमा उल्लेख छ। चीनमा गरिबीलाई प्रभावकारी रुपमा घटाउन चीन सफल हुनुको मुख्य कारण चीनको सामाजिक अवस्था र प्रणालीमा रहेको विशाल चालक शक्ति हो। यसलाई चीनको वास्तविक अवस्थाका रुपमा व्याख्या गर्न सकिन्छ।

गरिबी निवारणका लागि चीनले अन्य देशहरूसँगको आपसी सहयोग र अनुभवलाई पनि अङ्गिकार गरेको छ। चीनको गरिबी न्युनीकरण प्रक्रियाको प्रवर्द्धन अन्तर्राष्ट्रिय समर्थनमा निर्भर छ र चीनको गरिबी निवारण सिद्धान्तले विश्वव्यापी गरिबी विरोधी सिद्धान्तमा जीन समावेश गरेको छ। गरिबी निवारणबाट प्राप्त प्रतिफल अवशोषित र स्थानीय नवीनताका लागि राष्ट्रिय सर्तहरूमा अन्योन्याश्रित रहेको छ। यो पक्षलाई चीनले गरिबी निवारणमा अन्तर्राष्ट्रिय सहकार्यका रुपमा व्याख्या गरेको छ।

जन गणतन्त्र चीनको स्थापनाको सुरुका दिनमा चीनले भूमि प्रणालीमा सुधार लागु गरेर ग्रामीण क्षेत्रको गरिबी अवस्थालाई कम गर्ने उद्देश्यका साथमा ठूलो मात्रामा कृषि निर्माणका काम गरेको थियो। सन् १९७८ मा चीनले ग्रामीण क्षेत्रमा आवास दायित्व करार प्रणाली लागु गर्‍यो र सन १९७९ मा ग्रामीण क्षेत्रमा स्वव्यवस्थापन लागु भयो। सन् १९९४ मै चीनले ८ करोड लक्षित गरिब जनसङ्ख्यालाई ७ वर्षभित्र गरिबीबाट मुक्त गर्ने योजना सुरू गरेको थियो। क्रमशः सन् २००१ मा ग्रामीण गरिबी उन्मुलन र विकासको रूपरेखा लागु गरियो। यी नीतिहरूलाई विश्लेषण गर्दा चीनसँग गरिबी निवारणमा निकै लामो अभ्यास र अनुभवहरुका विभिन्न चरणहरु छन्।

चीनले गरिबी निवारणका लागि ग्रामीण आर्थिक प्रणालीको सुधार, क्षेत्रीय विकास शैलीको गरिबी उन्मुलन, मिलिजुली गरिबी उन्मुलन, समग्र गाउँको उन्नति र नवीन तथा दोहोरो इन्जिन शक्ति जस्ता चरणहरु लागु गरेको छ। यसलाई चिनियाँ विकास रणनीति भनेर चीनले व्याख्या गर्ने गरेको छ। सन् २०१२ मा सम्पन्न सीपीसीको १८ औं महाधिवेशनले चयन गरेका नेतृत्व समक्ष‘गरिबी मुक्ति कठिन अवस्था’ र‘ट्राइकल-डाउनइभेन्ट’कम भइरहेको अवस्थामा ‘चरम गरिबीको अन्तिम किल्ला’लाई कसरी भत्काउने भन्ने महत्वपूर्ण कार्यभार थियो।

चीनमा कसरी गरिबी पहिचान गरी सहयोग गर्ने भन्ने विषय लामो समयदेखि चलिआएको परम्परागत गरिबी उन्मुलन विधिको मुख्य समस्या थियो। गरिबी उन्मुलनको लक्ष्य स्पष्ट नभएकाले गरिबी पहिचान गर्न पनि कठिन थियो। गरिबी निवारणमा लक्षित कतिपय कार्यक्रमहरु वास्तविक गरिब मानिसहरुसम्म पुग्दैन थिए। अनि गरिबी निवारण श्रोतबाट अनावश्क मानिसहरुले फाइदा उठाइरहेका थिए।

यस्ता कमजोरीका कारण गरिबी निवारणमा समस्या रहेको थाहा भएपछि चीनले सटिक लक्ष्यसहित गरिबी निवारणका कार्यक्रम अगाडि सार्‍यो। उक्त कार्यक्रमका अनुसार गरिबी निवारण कार्यक्रम गरिब परिवार र मानिसमा बढी केन्द्रित हुन थाल्यो।

गरिबी निवारणको चिनियाँ अभ्यासमा‘सटिक’भन्ने शब्द गरिबी उन्मुलनको दिशा मात्र नभई योजना र कार्यविधि पनि हो। यसमा समस्या र मुख्य बुँदाहरूको खोजी मात्र नभई विशिष्ट समस्याको विश्लेषण गरी पूर्ण समाधान गर्ने तरिका पनि उल्लेख हुन्छ।

चीनमा गरिबको प्रतिव्यक्ति आय सन् २०१५ मा २ हजार ९ सय ८२ चिनियाँ युआन थियो। सन् २०२० मा यो बढेर १० हजार ७ सय ४० चिनियाँ युआन पुगेको छ। किसानहरूको राष्ट्रिय आम्दानी औसत वार्षिक वृद्धिदरभन्दा २० प्रतिशतले बढी छ र कूल आयमा तलबबाट प्राप्त आय र उत्पादन व्यापारबाट प्राप्त आयको अनुपात प्रतिबर्ष बृद्धि हुँदै आएको छ। अन्यत्र सार्न सकिने आयको अनुपात घट्दै गएको छ र जीवनको गुणस्तरमा उल्लेखनीय सुधार भएको छ।

गरिबी निवारणमा चीनले पहिले‘हाइपरलिंक्स’गरिब क्षेत्रहरूमा विस्तार गरेको छ। जहाँ गरिबहरू सबभन्दा बलियो रुपमा लाभान्वित हुन्छन् ती क्षेत्रको पूर्वाधारको अवस्थामा सुधार गर्नुपर्ने मुख्य कार्य हो। यही लक्ष्य अनुसार चीनले सन् २०१९ को अन्त्यसम्म ग्रामीण क्षेत्रमा विस्तार गरेको सडकको दूरी ४२ लाख किलोमिटर पुर्‍याउँदै शतप्रतिशत ग्रामीण पक्की सडक निर्माण गरेको छ। सन् २०१६ देखि २०१९ बीचको तीन वर्षमा मात्र गरिबी क्षेत्रहरुमा १६ हजार ९ सय किलोमिटर राष्ट्रिय एक्सप्रेस राजमार्ग निर्माण गरिएको छ। त्यसैगरी तोकिएका गरिब गाउँहरूमध्ये ९८ प्रतिशतभन्दा बढी क्षेत्रमा अप्टिकल फाइबर र फोरजी सुबिधा उपलब्ध छ।

औद्योगिक गरिबी उन्मुलनबाट रोजगारीको अधिक अनुगमन चीनले अँगालेको दोस्रो गरिबी निवारणको तरिका हो। औद्योगिक गरिबी उन्मुलन नै गरिबी निवारणलाई स्थिर बनाउने चिनियाँ मौलिक रणनीति हो।

चीनको मानव संसाधन र सामाजिक सुरक्षा मन्त्रालयको तथ्यांक अनुसार चीनमा गरिबी फाइलमा दर्ता भएका ९० प्रतिशतले औद्योगिक गरिबी उन्मुलन र रोजगारी सहयोग पाएका छन् भने दुई तिहाईभन्दा बढीले अरू ठाँउमा गएर काम गर्ने मौका र औद्योगिक तरिकामार्फत् गरिबीबाट मुक्त भएका छन्।

गरिबी पीडित क्षेत्रहरुमा ३२ हजारभन्दा बढी कारखानामा्‘गरिबी निवारण कार्यशाला’निर्माण गरिएको छ जसमध्ये ४ लाख ३७ हजार गरिब जनताले घरदैलोमा नै रोजगारी पाएका छन्।

गरिबी निवारणमा तेस्रो तरिका महिला तथा बालबालिकाहरुको सपनाको कार्यान्वयनलाई सुनिश्चित गर्नु हो। चीनले गरिबी न्युनीकरण कार्यमा महिला र बालबालिकाको हकअधिकारलाई पूर्ण रूपमा प्रत्याभूति गरेको छ। हालसम्म मातृ मृत्युदर र शिशु मृत्युदर लगायत चीनको स्वास्थ्य सूचकहरू अन्य मझौला र उच्च आय भएका देशहरूको औसत स्तरभन्दा राम्रो छ।

विद्यालय अध्ययनलाई बीचमा छोडेका गरिब २ लाख विद्यार्थीहरूलाई पुनः विद्यालयमा फर्काइएको छ। सन् २०१९ मा चीनमा ९ वर्षको अनिवार्य शिक्षा पाउने किशोरकिशोरीको दर ९४.८ प्रतिशत पुगेको छ। सन् २०१५ यता, चीनले गरिबीमा दर्ता भएका ११ लाख महिलाहरुलाई लघुवित्त ऋणको रूपमा ६१ अर्ब चिनियाँ युआन बराबर प्रदान गरेको थियो जसले ४० लाखभन्दा बढी गरिब महिलालाई व्यवसायका माध्यमबाट आयआर्जन बढाउन सहयोग गरेको थियो।

गरिबी निवारणको चौथो विधि‘पर्यावरण मैत्री’अन्वेषण कार्य हो। चीनमा ८० प्रतिशतभन्दा बढी गरिब जिल्लाको पर्यावरणीय अवस्था कमजोर छ। सन् २०१५ देखि चीनले १ करोड मानिसहरूलाई उच्च हिमाली क्षेत्र र प्रकोपग्रस्त तथा नाजुक पर्यावरणीय क्षेत्रबाट नजिकैका बजार क्षेत्रमा र गाउँहरूमा सार्नुका साथै पूर्ण रोजगारीको व्यवस्था गरेको छ। सन् २०१६ यता चीनका मध्य र पश्चिमी क्षेत्रका गरिब मानिसहरू जोसँग काम गर्न सक्ने क्षमता छ उनीहरुमध्ये ११ लाख २ हजार मानिसलाई पर्यावरणीय वन रेन्जरका रूपमा भर्ती गरिएको छ। दाउरेलाई वन रेन्जर र गोठालालाई वन संरक्षक बनाएपछि वनजङ्गलको संरक्षण पनि प्रभावकारी रुपमा भएको छ।

गरिबी निवारणमा चीनले अपनाएको पाँचौँ विधि हो सामाजिक सुरक्षाका लागि विशाल ‘सुरक्षासंजाल’को निर्माण। यस संजालमा करीव २ करोड गरिबहरूले दैनिक जीवनका लागि न्युनतम प्रत्याभूति भत्ता र विशेष कठिनाइ आर्थिक सहायता सहयोग प्राप्त गर्ने गर्छन्। २ करोड ४० लाखभन्दा बढी अति आवश्यक तथा अशक्त व्यक्तिहरूले दैनिक जीवन र जिविकाका लागि आर्थिक सहायता पनि यही संजालमार्फत प्राप्त गर्दछन्।

सन् २०१४ मा प्रकाशित तथ्याङ्क अनुसार ४२.२ प्रतिशत चिनियाँहरु रोगका कारण ३५.४ प्रतिशत आर्थिक पूँजी अभावका कारण, २२.३ प्रतिशत प्रविधिको अभावका कारण, १६.८ प्रतिशत श्रम अभावका कारण र १० प्रतिशतभन्दा कम मानिस पढाइ, अशक्तता र अन्य कारणले गरिब बनेका थिए।

गरिबी निवारणमा सबैभन्दा कठिन खोजको विषय नै के कारणले गरिब बन्यो भनेर पत्ता लगाउनु हो। चीनले यो कडी पत्ता लगाएपछि त्यही अनुसार कार्यविधि बनाएर गरिबी निवारण गरेपछि त्यो व्यक्ति फेरि गरिबीको कुचक्रमा पर्ने सम्भावना रहँदैन।


Comment

One thought on “गरिबी निवारणमा चिनियाँ विधिहरू

  1. धेरै गहिरो खाेज र अनुसन्धानले मात्र यति बिशिस्ट र तथ्य परक सामग्री पस्किन सक्षम हुनु भएकाे हाे भन्ने कुरामा म बिश्वस्त छु ।नेपाल सरकारकाे नीति निर्माण तहमा वस्नेहरुले याे लेखलाई बुटी बनाए मात्र पनि देशकाे मुहार फेरिन समय लाग्ने थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved