सुदूरतराईमा एकसातादेखि हुस्सु, चिसोका कारण जनजीवन प्रभावित

सुदूरतराईमा एकसातादेखि हुस्सु, चिसोका कारण जनजीवन प्रभावित

धनगढी। कैलाली कञ्चनपुर लगायत तराईका जिल्लाहरूमा एक सातादेखी चिसो ह्वात्तै बढेको छ। बिहान बाक्लो हुस्सुसँगै दिनभरि कुहिरो लाग्न थालेको छ। दिनभरि घाम नलागेपछि बढ्दो चिसोका कारण जनजीवन प्रभावित बनेको छ।

चिसो बिहान स्थानीयवासी घरबाहिर निस्कन सकेका छैनन्। बजारमा चलहपहल कम भएको छ। वृद्धवृद्धा तथा बालबालिका सडकमा देखिँदैनन्। सधैंजसो भीडभाड हुने सरकारी कार्यालयमा पनि चिसोका कारण सेवाग्राही पातलिएका छन्। बिहानै खुल्ने पसल र बजार पनि ढिलो गरी खुलिरहेका छन्।

यद्यपि, न्याना कपडाका पसलमा भने ग्राहकको भीड बढेको छ। चिसो बढ्न थालेपछि स्थानीयले न्याना लुगा जोहो गर्न थालेका छन्। चिसोकै कारण बिरामीसमेत बढेका छन्। चिसोसँगै दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी बढेका हुन्। एकाएक बढेको चिसोसँगै बिरामीको संख्या ह्वात्तै बढेको सेती प्रादेशीक अस्पताल धनगढीका सुचना अधिकारी दिलीप कुमार श्रेष्टले जानकारी दिए।
बालबालिका, वृद्धवृद्धा, मुटु, मिर्गौला, मधुमेह तथा अन्य दीर्घरोगी चिसोले थप जोखिममा भएकाले यो मौसममा उनीहरूले विशेष ख्याल पुर्‍याउनुपर्ने चिकित्सकको सुझाव छ।

चिसोका कारण बाढीपीडित बढी मारमा परेका छन्। गत असोजमा कैलालीको पुर्वी क्षेत्रमा आएको बाढीले घर टहरा बगाएका बाढी पीडितहरू निकै समस्यामा परेका छन्। बाढीका कारण घरबारविहीन भई टहरामा कष्टकर जीवन गुजारिरहेका पीडित जाडो बढेपछि थप कष्ट बेहोर्न बाध्य भएका छन्। चिसो बढ्दै गएकाले बाढीपीडित अब कसरी दिन कटाउने भन्ने समस्यामा देखिएका छन्।

चिसोले कठ्यांग्रिँसक्दा पनि सरकारले स्थायी आवासका लागि केही गर्न नसकेको उनीहरूको गुनासो छ। घाम लाग्न छाडेपछि कसरी जीवन सुरक्षित पार्ने भन्ने कुराले पिरोल्न थालेको जिल्लाको भजनी नगरपालिका–६ का धर्मराम चौधरीले बताए।

घर बाढीले बगाएपछि टहरामा बसिरहेकाहरूको जीवनयापन कष्टकर हुँदै गएको हो। जाडोको चपेटामा परेका बाढीप्रभावित दलित समुदायलाई चिसो सिरेटोले रात–बिहान पिरोल्ने गरेको स्थानियहरूको गुनासो छ।

आजमात्रै धनगढीको अधिक्तम तापक्रम १३ दशमलव ४ डिग्री सेल्सियस मापन भएको छ भने न्यूनतम तापक्रम १० दशमलव ५ डिग्री सेल्सियस छ। मौसमविदका अनुसार सुदूर तराईमा घाम लाग्न अझै एकसाता लाग्ने अनुमान गरिएको छ।

मौसमविद् प्रभु पौडेलले भने, “आज र भोलि त हुस्सु नै लाग्ने छ। शुक्रबार र शनिबार हल्का वर्षाको पनि सम्भावना छ। त्यसपछि फेरि हुस्सु लाग्ने र अर्को साताको अन्त्यतिर मौसम सुधार हुने पूर्वानुमान छ।” यस्तै सुदूर पहाडका जिल्लाहरूमा वर्षा हुन सक्ने उनको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved