खोप नलगाए जोकोभिचले यी प्रमुख प्रतियोगिता पनि गुमाउन सक्छन्

नेपालभ्युज

खोप नलगाए जोकोभिचले यी प्रमुख प्रतियोगिता पनि गुमाउन सक्छन्

एजेन्सी। अस्ट्रेलियन ओपन खेल्नका लागि कानूनी लडाँइ लडेका नोभाक जोकोभिच मुद्दा हारेसँगै आइतबार राती त्यहाँबाट निस्किएका छन्। खोप नलगाएका कारण जोकोभिचको भिसा स्थगित गर्ने निर्णय अस्ट्रेलिया सरकारले गरेको थियो।

उनले त्यस निर्णयविरुद्ध चुनौती दिदैं अदालतमा मुद्दा हाले। त्यसयता, पछिल्ला दुई साता जोकोभिचले निरन्तर मिडियाको ध्यान खिचिरहेका थिए। करियरको २१ औं ग्रान्ड स्लाम जित्ने अभियानमा रहेका जोकोभिच अस्ट्रेलियन ओपनमा यसकारण पनि बलियो दाबेदार थिए, किनकी उनले पछिल्ला १४ संस्करणमध्ये ९ वटा उपाधि आफ्नो नाममा लेखाएका छन्। उनी अहिले विश्व टेनिसको वरियतामा पनि पहिलो स्थानमा छन्।

त्यसकारण, सोमबारदेखि शुरू भएको यो प्रतियोगिता उनकोे अनुपस्थितीले केही खल्लो भएको छ। सर्वाधिक धेरै २० ग्रान्ड स्लाम उपाधि जोकोभिच, राफाल नाडाल र रोजर फेडेररको नाममा छ। यी तीन खेलाडीमध्ये घुँडाको चोटका कारण फेडेरर प्रतियोगितामा सहभागी छैनन्। नाडालले प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन्।

जोकोभिचले अब ग्रान्ड स्लाम उपाधि जित्नका लागि अझै केही महीना पर्खनुपर्ने हुनसक्छ। यदी खोप नलगाउने आफ्नो निर्णयमा अडिग गरिरहे उनले यस वर्षका अन्य तीन ग्रान्ड स्लाम पनि गुमाउनसक्छन्।

फ्रेन्च ओपन
अस्ट्रेलियन ओपन गुमाइसकेका नोभाक जोकोभिचले फ्रेन्च ओपन खेल्न पाउने पनि तय छैन। फ्रान्सका खेलकुद मन्त्री रोक्साना माराससिनेऊले खोप नलगाएका कुनै पनि खेलाडीले प्रतियोगिता खेल्न नपाउने स्पष्ट घोषणा गरिसकेका छन्।

जोकोभिच अलग हुनेछैनन्। त्यसकारण प्रतियोगिता खेल्ने हो भने उनले खोप लगाउनुपर्छ। जोकोभिच यस प्रतियोगिताका डिफेन्डिङ च्याम्पियन हुन्। उनले सन् २०१६ मा पनि उपाधि जितेका थिए। मेई २२ बाट यस संस्करणको फ्रेन्च ओपन शुरू हुँदैछ।

बिम्बल्डन

यदी खोप नलगाई बिम्बल्डन खेल्ने हो भने बेलायत छिर्नभन्दा दुई दिनअघि जोकोभिचले कोरोना भाइरस परीक्षण गर्नुपर्नेछ। बेलायत छिरेपछि १० दिन क्वारेन्टाइन बस्नुपर्नेछ। क्वारेन्टाइनमै बसेका बेला सातौं र आठौं दिनमा परीक्षण गर्नुपर्नेछ।

बेलायत सरकारले विदेशी पर्यटकका लागि तोकेको नियम हो, यो। बिम्बल्डनको आयोजक संस्था अल इङल्यान्ड क्लबले सहभागीका लागि थप नियम बनाउँछ वा सरकारले तोकेको नियम पछ्याए पुग्छ, यस विषयमा अहिलेसम्म केही स्पष्ट छैन। जोकोभिच यस प्रतियोगिताका पनि डिफेन्डिङ च्याम्पियन हुन्। समग्रमा उनले ६ पटक बिम्बल्डन जितेका छन्। यस वर्ष २७ जुनबाट प्रतियोगिता शुरू हुनेछ।

युएस ओपन

जब युएस ओपनमा खोप नलगाएका जोकोभिचलाई समस्या हुनसक्छ। उनले यो प्रतियोगिता तीनपटक जितिसकेका छन्। अमेरिका जान चाहने अमेरिकी नागरिक, त्यहाँ स्थायी बासिन्दा वा आप्रसवासी भिसामा भ्रमण गर्नेबाहेक अन्यले पूर्ण खोप लगाएको हुनुपर्ने नियम छ। र, जोकोभिच यी कुनै पनि नियममा अटाउदैनन्।

अपवादका रूपमा, खोपको अभाव वा सिमितता भएका केही देशका नागरिकले पनि भिसा पाउनसक्छ। तर, जोकोभिचको देश सर्बिया यस्ता देशहरूको सुचीमा पर्दैन। यस्तो सूचीमा परेका प्रायः सबै देश अफ्रिकाका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved