कञ्चनपुरका होल्डिङ सेन्टर कोरोना संक्रमित राख्ने ठाउँ बनाइँदै

कञ्चनपुरका होल्डिङ सेन्टर कोरोना संक्रमित राख्ने ठाउँ बनाइँदै

 कञ्चनपुर। कञ्चनपुरमा कोरोना संक्रमितको सङ्ख्या वृद्धि भएसँगै अवस्था सामान्य भएका संक्रमितलाई यहाँको होल्डिङ सेन्टरमा राख्ने प्रबन्ध मिलाइँदै छ।

सरकारले गत माघ दुई गते होल्डिङ सेन्टर सञ्चालन, जनशक्ति व्यवस्थापनलगायत जिम्मेवारी प्रदेश सामाजिक विकास मन्त्रालयलाई दिएपछि कार्यविधि बनाएर होल्डिङ सेन्टर सञ्चालनमा ल्याउने तयारी थालिएको छ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले गड्डाचौकीमा कोरोनाको परीक्षण दिनहुँ भइरहेको बताए। “ वडा कार्यालयको सिफारिसमा लक्षण नदेखिएका संक्रमितहरूलाई होम आइसोलेसनमा पठाउने गरिएको छ”, प्रजिअ पाण्डेले भने, “ वडामा पनि स्वास्थ्यकर्मीहरूले संक्रमितको निगरानी गर्ने गरेका छन्।” मुख्यमन्त्री वा प्रदेश सामाजिक विकास मन्त्रीको नेतृत्वमा कार्यविधि बनाएर होल्डिङ सेन्टर सञ्चालन गर्ने तयारी भइरहेको उनको भनाइ थियो।

यसअघि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रायलले सबै पालिकालाई २५ बेडको आइसोलेसन बनाउन पत्राचार गरेपनि अधिकांशले वास्ता गरेको देखिँदैन।

तर कञ्चनपुरमा बेलौरी नगरपालिकाले ५० बेडको आइसोलेसन वार्ड बनाएको खबर आएको प्रजिअ पाण्डेले बताए। यहाँको सालघारीमा होल्डिङ सेन्टर निमार्णको जिम्मेवारी पाएको हनुमान कन्र्ट«क्सनका प्रतिनिधी लक्ष्मण सापकोटाले निमार्ण अन्तिम चरणमा पुगेको बताए।

“एक हजारमध्ये ५५६ बेड तयार भइसकेका छन्”, उनले भने, “ अरू सामान आएर काम हुनुका साथै अब निर्माण अन्तिम चरणमा पुगेपनि आर्थिक कारणले ढिलाइ भएको छ।” उनले सरकारले रकम निकास नगर्दा चार महिनादेखि काम गरेको रकम नपाएको बताए। “ २९ करोड २४ लाख रुपैयाँको ठेक्का भए पनि काम सकिन लाग्दासम्म रु १५ करोड मात्रै पायौं”, उनले भने, “ गत असार १६ गतेबाट निर्माण सुरु गरिएको थियो।”

स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप फोकलपर्सन जनक कुवँरले जिल्लाभरि खोप अभियान सञ्चालन गरिरहेको बताए। “ बालबालिकाको दोस्रो मात्राबाहेक सबै खोप यहाँ मौज्दात छ”, उनले भने, “ सरकारको निर्देशन अनुसार पालिकाहरूमा धमाधम खोप अभियान सञ्चालन हुँदैछ।”

उनले स्वास्थ्य कार्यालयसँग कोभिसिल्ड, जोन्सन एण्ड जोन्सन, भेरोसिलसहितका खोप गरेर करिब ४५ हजार मात्रा मौज्दात रहेको बताए। “ भारतबाट आउनेहरूलाई गड्डाचौकीमा रहेको होल्डिङ सेन्टरमा दिनहुँ खोप लगाइरहेका छौं”, उनले भने, “कोरोना बढेसँगै नाकामा पनि खोप लगाउनेहरूको सङ्ख्या बढिरहेको छ।”

यहाँको महाकाली प्रादेशिक अस्पतालमा कोरोनाको गम्भीर लक्षण देखिएका एक जनाको उपचार भइरहेको छ। संक्रमित देखिएकाहरूलाई गड्डाचौकीबाट अस्पताल पठाइने गरेको भएपनि लक्षण नहुनुका साथै अवस्था सामान्य हुँदा प्रक्रिया पुर्‍याएर होम आइसोलेसनमा पठाउने गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved