मेयरको जन्मदिनमा उपमहानगरको प्रशासनिक भवन उद्घाटन

नेपालभ्युज

मेयरको जन्मदिनमा उपमहानगरको प्रशासनिक भवन उद्घाटन

बुटवल। कोरोनाकै महामारीकै बीचमा बुटवल उपमहानगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरिएको छ। ८ असार २०७५ मा तत्कालीन अर्थमन्त्री एवं नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले शिलान्यास गरेको उक्त भवनको बुधबार पौडेलले नै भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन्।

उद्घाटन गर्दै पौडेलले सेवाग्राहीका कामलाई पहिलो प्राथमिकता राखेर अगाडि बढ्न सुझाव दिए। उनले नागरिकले नयाँ भवनबाट प्राप्त गर्ने सेवालाई पनि स्तरीय बनाउन आग्रह गरे। भवन निर्माण गर्दा ५४ करोड ७८ लाख ४५ हजार ३ सय ८१ रुपैयाँ अनुमानित लागत राखिएकोमा विकोही, शिवशक्ति, बन्दन भगवती जेभी न्यू बानेश्वरले ४३ करोड ५३ लाख ४९ हजार ५ सय ७२ रुपैयाँ ८४ पैसामा भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो।

भवनको गत २६ असारभित्रै निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौताको म्याद राखिएको भए पनि कोभिड महामारीका कारण सात महीना ढिला गरी भवन निर्माण सकिएको उपमहानगरपालिकाका योजना प्रमुख इन्जिनियर सुमन श्रेष्ठले जानकारी दिए।

२०३५ सालमा निर्माण गरिएको हाल उपमहानगरपालिका कार्यालय रहेको भवन २०७२ सालको भूकम्पले चर्किएपछि मर्मत गरेर कार्यालय संचालन भइरहेको थियो। भूकम्पले क्षतिग्रस्त भएको भवनमा कार्यालय सञ्चालन गर्न जोखिम भएको भन्दै उपमहानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि अत्याधुनिक भवन निर्माणको प्रक्रिया अगाडि बढाइएको थियो।

बुधबार उद्घाटन गरिएको भवन करीब तीन बिगाहा क्षेत्रफलमा निर्माण गरिएको र यही क्षेत्रमा आवश्यकताका आधारमा थप ६ वटा अन्य ब्लकसमेत निर्माण गरिँदै जाने उपमहानगरपालिकाले जनाएको छ।

गुरुयोजनाअनुसार पहिलो चरणमा निर्माण गरिएको ‘ए ब्लक’ अर्थात् प्रमुख प्रशासनिक भवन बेसमेनसहित चार तलाको अत्याधुनिक रहेको छ। दुई अलग–अलग स्थानमा लिफ्ट र दुवैतर्फ सिँढी बनाइएको अण्डरग्राउण्ड सहितको नवनिर्मित भवनमा अण्डरग्राउण्डमा १ सय ६ वटा मोटरसाइकल, ३५ देखि ५० वटा सम्म कार पार्किङ गर्न मिल्ने गरि निर्माण गरिएको छ। भवनको बाहिर पनि छुट्टै सवारी साधन पार्किङ गर्न मिल्ने क्षेत्र छुट्टाइएको छ।

उपमहानगरपालिकाका ईन्जिनियर गौतम रौनियारका अनुसार भुइँ तलामा प्रतीक्षा कक्ष, बैंकका लागि काउण्टर, हेल्प डेस्क, नक्शा, योजना, राजश्व र भूमि व्यवस्थासम्बन्धी शाखा राखिएका छन्। पहिलो तलामा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, लेखा र प्रशासन शाखा राखिएको छ। त्यस्तै दोश्रो तलामा वातावरण, सामाजिक कल्याण, सूचना प्रविधिलगायत शाखा राखिएको छ भने तेश्रो तलामा शिक्षा, युवा तथा खेलकुद शाखा र २ देखि ३ सय जना क्षमताको सभाहल राखिएको छ।

इन्जिनियर रौनियारले चारवटै तल्लामा २०र२५ जना क्षमताका बैठक कक्षहरू निर्माण गरिएको जानकारी दिए। नवनिर्मित भवन निर्माणको काम सम्पन्न भई बुधवार उद्घाटन गरिएपनि अहिले फर्निचर व्यवस्थापन र ईन्टेरियरको काम भईरहेकोले फागुन ३ गते उपमहानगरपालिकाको स्थापना दिवससम्म सम्पूर्ण शाखाहरूको काम नयाँ भवनबाटै संचालन गरिने उनले बताए। २०१६ सालमा स्थापना भएको बुटवल नगरपालिकाले हरेक वर्ष विभिन्न रचनात्मक कार्यक्रमका साथ स्थापना दिवस मनाउँदै आएको छ।

गृहमन्त्री खाँणको नाम नलिएको भन्दै कांग्रेस बुटवल सभापति आक्रोशित

बुटवल उपमहानगरपालिकाको भवन उद्घाटनका क्रममा गृहमन्त्री बालकृष्ण खाँणको नाम नलिएको भन्दै नगर सभापति खेलराज पाण्डेयले आक्रोश पोखे। नगरको प्रशासनिक भवनको उद्घाटनको मूल समारोहमा सभापति पाण्डले आयोजकले रूपन्देहीबाट निर्वाचित संघीय सांसद ,कांग्रेस केन्द्रीय सदस्य तथा गृहमन्त्री खाँणको नामै नलिएको र सबै दललाइ नसम्झेको भन्दै आपत्ति जनाए।

बुटवलको नयाँ भवनमा सबैको योगदान रहेको भन्दै पूर्वमेयर,पूर्वजनप्रतिनिधि,तथा सबै दलहरूसँग नगरले समन्वय गर्न नसकेको दाबि गरे।‘नयां नगरहरूले आजसम्म कति काम गरे, २०१६ सालमा स्थापित हाम्रो नगर किन पछि पर्यो,किन जनताले पक्षमा काम हुन सकेन,बुटवलको मूल सडक,ज्योतिनगर पहिरो पिडीतको अवस्था,अब्यबस्थित सुकम्बासी ब्यबस्थापन किन भएन ’उनको प्रश्न छ।नगरले काम गरे वा नगरेको बारेमा जनताले मुल्यांकन गरिरहेको उनले बताए।

नगरप्रमुखको जन्मदिनमा उद्घाटन भएको भन्दै आलोचना

बुधबार बुटवल उपमहानगर प्रमुख शिवराज सुबेदिको जन्मदिनको अवसरमा भवन उद्घाटन गरिएको भन्दै आलोचना हुन थालेका छन। फागुन ३ गते उपमहानगरको स्थापना दिवस आईरहेको अवस्थामा पनि एक महिना अघिनै उद्घाटन गरिनुले सार्वजनिक सम्पती ब्यक्तिगत जन्मदिन मनाउन प्रयोग हुन थालेको भन्दै आलोचना भएको हो। समाजिक सञ्जालमा यसको बिरोध भईरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved