अपराजित रहँदै एपीएफले उचाल्यो राष्ट्रिय टी-ट्वान्टी प्रतियोगिताको उपाधि

नेपालभ्युज

अपराजित रहँदै एपीएफले उचाल्यो राष्ट्रिय टी-ट्वान्टी प्रतियोगिताको उपाधि
फाइल तस्वीर

काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय टी-ट्वान्टी प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ। बुधबार भएको फाइनलमा चिर प्रतिद्वन्दी नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै एपीएफ क्लबले उपाधि आफ्नो बनाएको हो।

एपीएफले दिएको १५८ रनको लक्ष्य पछ्याएको पुलिस १३६ रनमा समेटिएपछि उपविजेता बन्यो। त्रिवि खेल मैदान कीर्तिपुरमा भएको फाइनल खेलमा नेपाल पुलिस क्लबले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गर्‍यो।

पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरको खेलमा अन्तिम एक बल खेल्नु अगाडि अलआउट हुँदै १५७ रनको योगफल तयार पारेको थियो। एपीएफले शुरुआतदेखि नै आक्रमक खेल खेल्ने प्रयास गर्‍यो। तर ठूलो योगफल तयार पार्ने लोभमा समालिएर ब्याटिङ गर्न नसक्दा एपीएफको शुरुआत भने त्यति राम्रो हुन सकेन।

पावर प्लेको शुरुआती ६ ओभरमा ६१ रन जोडे पनि एपीएफले चार विकेट गुमाइसकेको थियो। ओपनरद्वय प्रदीप ऐरी सात र आसिफ शेख नौ रनमा आउट भएका थिए। त्यस्तै दीपक बोहोरा मात्र ६ रनमा पेभेलियन फर्किँदा पुरन विक डकआउट भए।

यो प्रतियोगितामा उत्कृष्ट खेल देखाइरहेका लोकेश बमले १५ बलमा २७ र सन्दीप जोराले २४ रन जोड्दै एपीएफको इनिङलाई जोगाएका थिए। कप्तान शरद भेषाकरले पनि १९ रन मात्र जोड्न सके।
कुनैबेला १०४ रनमा सात विकेट गुमाएको एपीएफको इनिङलाई अमर रौतलाले २९ रनको योगदान गर्दै उकासेका थिए। उनले आक्रमक खेल देखाउँदै मात्र १५ बलमा दुई चौका र तीन छक्का प्रहार गरेक थिए।

बलिङतर्फ पुलिस क्लबका सागर ढकाल र दिपेन्द्र सिंह ऐरीले तीन-तिन विकेट लिएका थिए। यसपछि स्टार खेलाडीद्वय ओपनर कुशल भुर्तेल र तीव्रगतिका बलर करण केसीबिना मैदानमा उत्रेको पुलिसको पनि शुरुआत राम्रो हुन सकेन।

एपीएफका बलर किशोर महतोले पुलिसका दुवै ओपनरलाई सस्तैमा पेभेलियनको बाटो देखाइदिए। इनिङको पहिलो बलमा नै महतोले पवन सर्राफलाई डकआउट गराउँदा अर्का ओपनर अमित श्रेष्ठ पनि मात्र तीन रनमा आउट भए।

यसपछि अनिल शाह पनि १० रन जोड्दै बाहिरिएपछि पाँचौं ओभरमा मात्र २६ रन जोड्ने क्रममा पुलिसको तीन विकेट गुमिसकेको थियो। तर दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट पारी खेल्दै खेलमा पुलिसको आशा जीवितै राखेका थिए। उनले ५४ बलमा ६५ रनको योगदान दिए। त्यस्तै दिलीप नाथले २३ रन जोडेका थिए।

तर अन्य खेलाडीहरु खासै चल्न नसक्दा पुलिसले २० ओभरमा ७ विकेट गुमाउँदै मात्र १३६ रन जोड्न सक्यो। बलिङतर्फ एपीएफका क्लबका किशोर महतोले चार ओभरमा मात्र १७ रन दिएर तीन विकेट लिएका थिए।

प्रतियोगिताभरि अपाराजित रहँदै एपीएफ क्लबले प्रधानमन्त्री कप राष्ट्रिय टी-ट्वान्टी प्रतियोगिताका उपाधि उचालेको हो।

यी दुवै टिम समुह चरणदेखि एक खेल पनि नहारि प्रतियोगिताको फाइनलसम्म पुगेका थिए। आउँदो टी-ट्वान्टी विश्व कपको छनोट प्रतियोगिताको तयारि र राष्ट्रिय टिमको छनोटको लागि पहिलो पटक यो प्रधानमन्त्री कप टी-ट्वान्टी फम्र्याटमा खेलाइएको थियो। यसअघि प्रधानमन्त्री कप एकदिवसीय फर्म्याटमा आयोजना हनेगर्थ्यो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved