विराटनगरमा फेला पर्‍यो २४ सय वर्ष पुरानो मन्दिरको अवशेष

उत्खननको क्रममा इशापूर्व दोस्रो शताब्दीको मन्दिरको अवशेष फेला परेको हो।

विराटनगरमा फेला पर्‍यो २४ सय वर्ष पुरानो मन्दिरको अवशेष

विराटनगर।  विराटनगरको १८ भेडियारीस्थित विराट राजाको दरबार रहेको क्षेत्रमा जारी उत्खननको क्रममा प्राचिन मन्दिरको भग्नावशेष फेला परेको छ।

उत्खननको क्रममा इशापूर्व दोस्रो शताब्दीको मन्दिरको अवशेष फेला परेको हो। फेला परेको अवशेष २४ सय वर्ष पुरानो रहेको दाबी गरिएको छ। महाभारतकालसँग युगसँग जोडेर हेर्ने गरिएको यस ठाउँमा नेपाल सरकारको पुरातत्व विभागको टोलीले पुष २७ गतेबाट उत्खननको कार्य शुरु गरेको छ।

दरबार क्षेत्रको ऐतिहासिक तथा पुरातात्विक महत्वका बिषयवस्तु पत्ता लगाउन सरकारी निर्देशानुसार उत्खनन शुरु गरिएको पुरातत्व अधिकृत भाष्कर ज्ञवालीले बताए। उनले प्रारम्भिक चरणमा दरबार क्षेत्रको मध्यभागमा माटोको ढिस्कोको रुपमा रहेको भागलाई ४ भागमा रेखाङ्कन उत्खनन कार्य जारी रहेको जानकारी दिए। ‘‘हामीले जमिन मुनिको संरचनाको ढाँचा, आकार र त्यसले ओगटेको क्षेत्रफल पत्ता लगाउने छौं,’’ उनले भने, ‘‘कार्बन डेटिङ गरेर संरचना निर्माणको समय समेत पत्ता लगाउने सकिन्छ।’’

नेपाल सरकारको पुरातत्व विभागबाट खटिएको टोलीले कुनै प्राविधिक गडबडी नभए ३ हप्ताभित्र उत्खननको कार्य सम्पन्न गर्नेछ। उक्त अवधिमा टोलीले दरबार क्षेत्रको सांस्कृतिक ईतिहास समेत अध्ययन गर्ने तयारी गरेको छ। उत्खनन कार्यक्रम लागि यतिबेला दरबार क्षेत्रमा १७ जना मजदुर खटाईएका छन। विविध कार्यादेश सहित सो कार्यका लागि सरकारले १० लाख रुपैयाँको विनियोजन गरेको छ।

वि.सं. २०२७ सालमा पनि नेपाल सरकारको पुरातत्व विभागले यस क्षेत्रमा उत्खननको कार्य गरेको थियो। उत्खननका क्रममा विभागले ४० वटा पञ्चमार्क नामक चाँदीका मुद्रा भेटेको थियो। उक्त मुद्रालाई ईशापूर्व कालको अवशेष मानिएको थियो। त्यसबेला भेटिएका ती चाँदीका मुद्राहरू हाल नेपाल सरकारको राष्ट्रिय संग्रालयमा सुरक्षित छन्। साविकको बुधनगर गाउँपालिका र हाल विराटनगर–१८ को यसक्षेत्रमा यसअघि पनि कयौंपटक पुरातात्विक महत्वका सामग्रीहरू फेला परेको विराट राजा खोज तथा संरक्षण समितिका अध्यक्ष कमल किशोर यादवले बताए। फेलापरेका कतिपय सामाग्री राष्ट्रिय संग्रहालय र केही सामाग्रीहरू स्वयंम आफुसँगै सुरक्षित रहेको उनले जानकारी दिए।

विराटनगर–१८ स्थित भेडियारीमा विराट राजाको दरबार रहेको र पाण्डवहरू वनबासपछि १ बर्षसम्म सो दरबारमा गुप्तबास बसेको विश्वास गरिन्छ। त्यसबेलाको ३०/४० कोठाको दरबार र मन्दिर अझैपनि जमिनमुनि रहेको प्राचीन कथन छ। विभिन्न धार्मिक ग्रन्थहरूमा समेत यसबारे वर्णन गरिएको छ। प्रचलित किवदन्ती अनुसार विराट राजाको दरबार रहेको उक्त क्षेत्रमा पाण्डवहरूको गतिविधि चियो गर्न दुर्योधनले भेदियारी अर्थात् गुप्तचर पठाएका थिए। जसको आधारमा यस क्षेत्रको नाम भेडियारी रहन गएको हो।

सोही बिषयको वास्तविकता पत्ता लगाउन हाल पुरातत्व विदहरूको टोलीले दरबार क्षेत्रमा उत्खननको कार्य जारी राखेका छन्। आउँदो तीन साताभित्र यहाँ रहेको संरचना र भग्नावशेषको स्पष्ट खाका प्राप्त हुने उनीहरूको अपेक्षा छ। यसअघि २०७७ साल चैत ११ गते लण्डनको दुर्‍हाम विश्वविद्यालयका पुरातत्वविदहरूको अध्ययन टोलीले यस क्षेत्रको भू–भौतिक सर्वे गरेका थिए। अध्ययन टोलीले विराट राजाको दरबार क्षेत्रको ऐतिहासिकता र वास्तविकता पत्ता लगाउन सिमित क्षेत्रफलभित्र ३ मिटर जमिन मुनिसम्मको अवस्था अध्ययन गरेका थिए। सर्वेको आधारमा अध्ययन टोलीले तयार पार्ने प्रतिवेदनकै आधारमा नेपाल सरकारको पुरातत्व विभागले उत्खननको कार्य अघि बढाउने तयारी थियो। तर, अध्ययन टोलीको प्रतिवेदन हालसम्म प्राप्त हुन सकेको छैन्।

भेडियारीस्थित विराट राजाको दरबारका नाममा नेपाल सरकारसँग हाल कुल ८ विगाहा ३ कठ्ठा १७ धुर जग्गा छ। यस क्षेत्रमा विराट राजाको दरबार बनाउने योजनालाई पूर्णता दिन विराटनगर महानगरपालिका पनि विगत लामो समयदेखि कसरत गर्दै आएको छ। विराट राजाको दरबार रहेको जनविश्वास गरिदै आएको यसक्षेत्रको आसपासमा अहिले पनि धरवा, किच्चकबध, भन्सिया, थरथोवा, गुहिया, दिघरी र बहरवा गरि आधा दर्जनभन्दा बढी पोखरीहरू छन्। जसलाई परापुर्वकालमा राजा विराटले विभिन्न प्रयोजनका लागी बनाएको यहाँका स्थानीयहरूले दाबी गर्दै आएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved