चिसो बढेपछि विद्यार्थीलाई न्यानो कपडा वितरण

चिसो बढेपछि विद्यार्थीलाई न्यानो कपडा  वितरण

चितवन। भरतपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ। महानगरपालिकाले ‘बालबालिकासँग मेयर कार्यक्रम’मार्फत न्यानो कपडा वितरण गरेको हो।

बाल विकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो। कोभिड–१९ संक्रमणको जोखिम बढेपछि विद्यार्थीको भौतिक उपस्थितिमा नभई विद्यालयमार्फत विद्यार्थीलाई दिने गरी न्यानो कपडा वितरण गरिएको हो। महानगर प्रमुख रेनु दाहालले आर्थिक अवस्था कमजोर भएका विद्यार्थी जाडो भएकै कारण विद्यालयबाट बञ्चित हुन नपरोस् भनेर तीन वर्षदेखि उक्त कार्यक्रम अघि बढाइएको बताइन्।

राप्ती र नारायणी नदी किनारमा रहेका बालबालिकालाई लक्षित गरी कार्यक्रम गरिएको र यसले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्न थालेको उनको भनाइ छ। संघीय सरकारको दिवाखाजा कार्यक्रम र महागरले न्यानो कपडा दिएपछि शिक्षा हासिल गर्न बालबालिकालाई सजिलो भएको उनले बताइन्। पाँच वर्षमा सामुदायिक विद्यालयमा १० हजार नयाँ विद्यार्थी संख्या थप्ने महानगरको लक्ष्य छ। हालसम्म ६ हजार नयाँ विद्यार्थी थपिएका छन्। शिक्षामा बजेट अभाव हुन नदिएको र ऐन–नियम बनाएर सामुदायिक शिक्षा सुधारमा काम गरिरहेको दाहालले बताइन्।

महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले १२ लाख रुपैयाँ बजेट विनियोजन गरेर बोलपत्र आह्वान गरी न्यानो कपडा वितरण गरिएको जानकारी दिए। महानगरका १० आधारभूत विद्यालय छनोट गरी त्यहाँ अध्ययनरत एक हजार २२० विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो। कोरोनाको जोखिमका कारण ती विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई संयुक्तरूपमा न्यानो कपडा हस्तान्तरण गरिएको छ। विद्यालयले महानगरमा पेश गरेको तथ्याङ्क र नामका आधारमा विद्यार्थीलाई न्यानो कपडा प्रदान गरिनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved