माघ दोस्रो साता कोभिड महामारी उच्च विन्दुमा पुग्नसक्ने

खोपलाई उच्च प्राथमिकता दिन र सावधानीका उपाय कडा रुपमा लागू गराउन विज्ञहरूको सरकारलाई सुझाव छ।

माघ दोस्रो साता कोभिड महामारी उच्च विन्दुमा पुग्नसक्ने

काठमाडौं। द्रुत गतिमा बढिरहेको कोभिड महामारीबाट अबका दुई साता चुनौतीपूर्ण रहने अनुमान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीले आउने दुई हप्ता चुनौतीपूर्ण हुने आकलन गरिएको बताए।

“अहिले हामी कोरोना संक्रमणको उच्च विन्दुमा नै छौं”, डा. अधिकारीले भने, “अबको दुई हप्ता चुनौतीपूर्ण हुने आंकलन गरिएको छ।”

डेल्टा भन्दा ओमिक्रोन भेरिएन्ट बढी संक्रामक भएकाले अहिले धेरै संक्रमित हुनसक्ने तर जोखिम भने अघिल्लो लहरमा भन्दा कम हुने तर्क उनले गरे।

“कोरोनाको दोस्रो लहर फैलाएको डेल्टा भरिएन्टभन्दा तुलनात्मक रूपमा अहिले फैलिरहेको ओमिक्रोन भाइरस बढि संक्रामक छ” उनी भन्छन्, “त्यसैले ओमिक्रोनबाट धेरै व्यक्ति संक्रमित हुने जोखिम छ। यस्तो अवस्थामा अस्पताल जानेको संख्या वृद्धि हुन सक्छ।”

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी निर्देशक डा. मनिषा रावल पनि ओमिक्रोन बढी संक्रामक भएकाले आउँदो हप्तादेखि दुई हप्तासम्म संक्रमितको संख्या अत्यधिक हुने आकलन गर्छिन्।

उनका अनुसार ओमिक्रोन भेरिएन्टबाट संक्रमित एकजनाले १० जनामा फैलाउन सक्छन्।

प्रत्येक दिन थपिएका संक्रमितको तथ्यांकको आधारमा एक देखि दुई हप्ता चुनौतिपूर्ण रहेको र संक्रमितको संख्या बढ्ने उनले जानकारी दिइन्।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनको पनि त्यस्तै आकलन छ। उनी भन्छन्, “दक्षिण अफ्रिका लगायत फ्रान्सको अनुभवलाई आधार मानेर हेर्दा अबको दुई सातापछि विस्तारै मत्थर हुँदै जानसक्छ।”

संक्रमितको संख्या बढेता पनि दोस्रो लहरमा जस्तो जटिल स्थिति नआउने उनको अनुमान छ।

“विभिन्न अनुसन्धानले ओमिक्रोन भेरिएन्ट डेल्टा भेरिएन्ट जस्तो कडा नभएकोे देखाएको छ” उनी भन्छन्,  “ओमिक्रोन भेरिएन्टले धेरै व्यक्ति संक्रमित भए पनि दोस्रो लहरको जस्तो अस्पतालमा बिरामीको चाप थेग्न नसक्ने अवस्था आउँदैन।”

डेल्टा भेरिएन्टको भन्दा ओमिक्रोन भेरिएन्टका संक्रमितमा देखिएका लक्षण फरक छ। अहिले धेरैजसो बिरामीहरू रुघाखोकी लाग्ने, नाक बन्द हुने, घाँटी दुख्ने, ज्वरो आउने टाउको दुख्ने, शरीर दुख्ने जस्ता लक्षण लिएर अस्पताल आइपुग्ने वीर अस्पतालका उपनिर्देशक डा. प्रज्वल श्रेष्ठ बताउँछन्।

विश्व स्वास्थ्य संगठनले एक महीना अगाडि नै नेपालमा माघको दोस्रो अथवा तेस्रो हप्ता ओमिक्रोन उच्च बिन्दुमा पुग्ने आकलन गरेको थियो। यहि हिसाबले कोरोना संक्रमण बढ्ने हो भने माघको दोस्रो हप्ता कोरोनाको उच्च बिन्दुमा पुग्ने देखिएको डा श्रेष्ठ बताउँछन्। तथापी यसले पार्ने असर पनि कम घातक रहेको उनको अनुभव छ।

वीर अस्पतालमा ४ माघमा उपचाररत ९२ जना कोरोना संक्रमितमध्ये १६ जना मात्र आईसीयूमा रहेको उनले जानकारी दिए। उनी भन्छन्, “डेल्टा भेरिएन्ट फैलिँदा ९२ जना उपचाररत हुँदा ६० जना आईसीयूमा हुन्थे। यसको आधारमा ओमिक्रोन संक्रामक भए पनि गम्भीर अवस्था नहुने देखिएको छ।”

कोरोनाविरुद्ध लड्न अस्पताललाई पुर्व तयारी अवस्थामा रहेको उनले तर्क गरे। तथापी यसपटक स्वास्थ्यकर्मी धेरै संक्रमित भइरहेको हुँदा उपचार गर्ने जनशक्तिको अभाव सिर्जना हुनसक्नेे उनले संकेत गरे।

उनी भन्छन्, “कोरोना उपचारका लागी तोकेको अस्पतालमा बेड संख्या र अक्सिजन पनि अभाव नहुन सक्छ। तर यो पटक उपचार गर्ने स्वास्थ्य जनशक्ति अभाव हुन सक्छ। अहिले वीर अस्पतालका १२६ जना स्वास्थ्यकर्मी संक्रमित भएर होम आइसोलेसनमा छन्।”

त्रिवी शिक्षण अस्पतालमा पनि स्वास्थ्यकर्मी संक्रमित भएर होम आइसोलेसनमा छन्। अहिलेको लहरमा धेरै अस्पतालमा स्वास्थ्यकर्मी अभाव हुने देखिएको उनी बताउँछन्। त्यति हुँदा पनि कोभिडको खोप लगाइसकेका व्यक्तिहरूमा संक्रमण भए पनि स्वास्थ्य जटिल हुने नगरेकाले निराश हुनुपर्ने अवस्था नरहेको उनी बताउँछन्।

त्यसैले पनि सरकारले खोपलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने डा. श्रेष्ठको सुझाव छ। साथै सावधानीका उपाय अपनाउन सरकारले कडाई गर्नुपर्ने उनको मत छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved