१६ देखि २० माघसम्म विद्यालय खोलेर खोप अभियान चलाइने

७ माघदेखि सार्वजनिक स्थानमा हिडडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्ने

नेपालभ्युज

१६ देखि २० माघसम्म विद्यालय खोलेर खोप अभियान चलाइने
सांकेतिक तश्वीर

काठमाडौं । सरकारले विद्यालयहरू खुला राखेर १६ देखि २० माघसम्म कोभिडविरुद्धको खोप अभियान चलाउने भएको छ।  १६ देखि २० माघसम्म कोभिडविरुद्धको खोप लगाउने प्रयोजनका लागि विद्यालय खोल्ने निर्णय गरिएको गृहमन्त्रालयअन्तर्गत विपद् व्यवस्थापन महाशाखाका प्रमुख प्रदीप कोइरालाले जानकारी दिए।

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकमा गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डे, स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेल, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिर्देशक शैलेन्द्र खनाल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा‍‍. दिपेन्द्ररमण सिंह, शिक्षा मन्त्रालयका सहसचिव हरि लम्साल, पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेलगायत सरोकारवालाहरू उपस्थित थिए।

कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले गरेको सिफारिसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न विभिन्न निर्णय गर्दै कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयलाई सिफारिस गर्ने सहमतिसमेत बैठकमा बनेको छ ।

सीसीएमसीले ७ माघदेखि सार्वजनिक स्थानमा हिडडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्ने निर्णय गरेको छ। लक्षित वर्गसम्म कोभिड–१९ विरुद्धको बुस्टर डोज पुयाउने विषयमा पनि छलफल भएको छ।

बैठकले विद्यालय 

‘यही माघ १६ गतेदेखि २० गतेसम्म विद्यालय कोभिडविरुद्धको खोप लगाउने प्रयोजनका लागि खोल्ने निर्णय भएको छ । त्यो समयमा हामीले विद्यालयमा खोप अभियान चलाउने निर्णय गरेका छौँ,’ सहसचिव कोइरालाले भने, ‘हामीले निर्णय गरेका छौँ सम्बन्धित मन्त्रालयले सूचना जारी गर्छन् र कार्यान्वयनमा जान्छ ।’

त्यस्तै, विश्वविद्यालयस्तरमा चलिरहेका र मिति निश्चित भएका परीक्षा स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ। कोभिड संक्रमण भएका विद्यार्थीलाई छुट्टै स्थानको व्यवस्था गरेर परीक्षा दिन पाउने व्यवस्था गर्न निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ। त्यो सर्कुलर भने सम्बन्धित मन्त्रालयले विश्वविद्यालयहरूमा गर्नेछन्।

त्यस्तै, बैठकले हवाइजहाजमा यात्रा गर्नेहरूलाई टिकट काट्दा नै खोप कार्ड अनिवार्य देखाउन पर्ने व्यवस्था गर्ने निर्णय गरेको छ। बैठकले राष्ट्रिय परिचय पत्र र इ–पासपोर्ट बनाउन अत्यावश्यक काम परेकालाई बाहेक तत्कालका लागि स्थगन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ। ‘राष्ट्रिय परिचय पत्र र इ–पासपोर्ट बनाउने कार्य अत्यावश्यक परेकालाई बाहेक तत्कालका लागि स्थगत गर्न सम्बन्धित निकायलाई भन्ने निर्णय भएको छ,’ सहसचिव कोइरालाले भने।

नेपाल प्रहरी र सशस्त्र प्रहरीका अस्पत्तालबाट पनि सर्वसाधारणलाई कोभिडविरुद्धको खोप लगाउने व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको छ। त्यस्तै, विदेशबाट नेपाल भित्रने नाकामा एन्टीजेन्ट परीक्षण गर्ने र खोप नलाएकालाई खोप लगाउने व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको छ। नेपालमा रहेका विदेशी नागरिकलाई पनि व्यवस्था मिलाउन बैठकले निर्देशन दिएको छ।

बैठकमा गृहमन्त्री खाणले कोभिड महामारी रोकथाम र नियन्त्रणमा सरकार गम्भीर र संवेदनशील रहेका बताए। कोभिडबाट नागरिकलाई बचाउने दायित्व सरकारको भएको भन्दै त्यसबारे संवेदनशील भएर काम गर्न गृहमन्त्री खाणले निर्देशन दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved