दुई लेनको बन्दै डुम्रे-बेँसीशहर सडक

इञ्जिनियर अधिकारीले भने, “डुम्रे बजारबाट २२० मिटरदेखि आठ दशमलव तीन किलोमिटर चाम्बाससम्म पहिलो चरणमा दुई लेन सडक बनाउन थालिएको हो। राजमार्गको यस सडकको मापदण्ड दायाँबायाँ ‘राइटअफ वे’ सहित १५/१५ मिटरको हुने भएको छ।”

नेपालभ्युज

दुई लेनको बन्दै डुम्रे-बेँसीशहर सडक
फाइल तस्वीर।

लमजुङ। लमजुङ र छिमेकी जिल्ला तनहुँ जोड्ने डुम्रे–बेँसीशहर सडक दुई लेनको बनाउन थालिएको छ। तनहुँको डुम्रे बजारदेखि लमजुङतर्फ निर्माण गर्न लागिएको उक्त सडक अहिले डुम्रे बजार नजिकैबाट दुई लेनको बनाउन थालिएको डुम्रे–बेँसीशहर–चामे सडक आयोजनाका इञ्जिनीयर पुरुषोत्तम अधिकारीले बताए।

इञ्जिनियर अधिकारीले भने, “डुम्रे बजारबाट २२० मिटरदेखि आठ दशमलव तीन किलोमिटर चाम्बाससम्म पहिलो चरणमा दुई लेन सडक बनाउन थालिएको हो। राजमार्गको यस सडकको मापदण्ड दायाँबायाँ ‘राइटअफ वे’ सहित १५/१५ मिटरको हुने भएको छ।”

इञ्जिनियर अधिकारीका अनुसार १०/१० मिटर जमिनको लगतकट्टा भइसकेको छ भने अधिग्रहण गरिएमध्ये चौडाइ ११ मिटरमा सडकको संरचना बन्ने भएको छ।

यसअघि, तीन दशमलव ७५ मिटरको क्यारिज वे (भारवाहन सडक) रहेकामा अब सात मिटरको हुने उक्त आयोजनाले जनाएको छ। दायाँबायाँ एक एक मिटरको ‘सोल्जर’ तथा एक/एक मिटरको नाली निर्माण गरिने भएको छ।

अहिले सडकको नाली बनाउने, चौडाइ पु¥याउन कटिङ गर्ने, टेवा (पर्खाल) उठाउनेलगायत निर्माण कार्य भइरहेको छ । आयोजनाका अनुसार सडकमा ‘अस्फाल्ट’ किसिमको कालोपत्र हुनेछ भने, कालोपत्र सकिएपछि सडक रङ्गरोगन गर्ने र किलोमिटर पोस्ट राखिने भएको छ।

हालसम्म १५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको आयोजनाले जनाएको छ। आठ दशमलव आठ किलोमिटर सडक २२ कात्तिक २०८० सम्म सक्ने गरी आशिष अनेस्ट जेभीले गत २२ वैशाखमा ठेक्का सम्झौता गरेको थियो।

डुम्रे बेँसीशहर सडक ४२ किलोमिटर रहेको छ। यस सडकको डुम्रेदेखि लमजुङकोे सिमाना पाउदी बजारसम्म २४ किलोमिटर छ। सडकका लागि भ्याट र पीएसबाहेक ७५ करोड ९४ लाख ९७ हजार रुपैयाँ लागत अनुमान गरिएकामा उक्त जेभीले ३८ करोड ९ लाख ८६ हजारमा ठेक्का सम्झौता गरेको थियो। पहिलो चरणको निर्माण सकिएलगत्तै सडकको अन्य कामसमेत अघि बढाइने बताइएको छ।

छिमेकी जिल्ला तनहुँको डुम्रे बजारबाट विसं २०२९ मा खन्न शुरु गरिएको उक्त सडक बेँसीशहरसम्मको ४२ किलोमिटरसम्म पु¥याउन झण्डै १५ वर्ष लागेको थियो । विसं २०४६ मा ट्याक खुलेसँगै २०५२ देखि सिंगल लेनको कालोपत्र थालिएको थियो ।

शुरु गरेको चार वर्षको अवधिमा ४२ किलोमिटर सडक कालोपत्र गरिएकोे थियो। कालोपत्रे भएपछि समय समयमा मर्मतसम्भार हुन नसक्दा सडक जीर्ण बन्दै गएको स्थानीयबासीको भनाइ थियो। उक्त सडकमा दैनिक सयौँ संख्यामा साना तथा ठूला सवारीसाधन सञ्चालन हुन्छ।

डुम्रे बेँसीशहरको उक्त सडक हुँदै हिमाली जिल्ला मनाङका बासिन्दासमेत आवतजावत गर्दै आएका छन्। यी सडक दुई लेन भई कालोपत्र भए तीनै जिल्लाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved