प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवमा १२ नाटक छनोट

नेपालभ्युज

प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवमा १२ नाटक छनोट

पोखरा। पोखरा थिएटरले आयोजना गरेको दोस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवमा अन्तिम चरणको लागि १२ नाटक छनोट भएका छन्। महोत्सवको लागि प्राप्त कुल २४ नाटकमध्ये पहिलो चरणमा १६ नाटक छनोट गरिएको थियो। छनोट भएका १६ नाटकबाट अन्तिम चरणको लागि १२ नाटक छनोट गरिएको महोत्सव संयोजक एवं पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीले जानकारी दिए।

‘‘नाटक छनोटका लागि पुष २६ गतेबाट माघ २ गतेसम्म विभिन्न जिल्लामा गएर अवलोकन गरिएको थियो। यस अगाडि अन्तिम चरणमा १० नाटक छनोट गर्ने भनिएपनि नाटकको प्रस्तुतिका आधारमा थप २ नाटकलाई प्रोत्साहनस्वरुप छनोट गरिएको हो,’’ उनले भने।

नाटक छनोटका लागि वरिष्ठ कलाकार प्रकाश घिमिरेको संयोजकत्वमा तीन सदस्यीय निर्णायक समिति बनाइएको थियो। जसको सदस्यमा निर्देशक तथा कलाकार माओत्से गुरुङ र कलाकार प्रमिला तुलाचन रहेका छन्। संयोजक टोलीले सम्बन्धित ठाउँमा पुगेर नाटकको अवलोकन गरेर उत्कृष्ट १२ छनोट गरेका थिए।

अन्तिम चरणको लागि नवलपुर जिल्लाबाट सबैभन्दा धेरै तीन नाटक छनोटमा परेका छन्। जसमा लीलाबहादुर भण्डारीको लेखन तथा निर्देशनमा कुमारी प्राविको हराएको खुशी, खगराज सापकोटाको लेखन तथा निर्देशनमा त्रिभुवन बाल माध्यमिक विद्यालयको जिम्मेवार को ? र अनामिका सापकोटाको लेखन तथा कमला कँडेलको निर्देशनमा बरचुली माध्यमिक विद्यालयको सक्षम छात्रा शीर्षकको नाटक रहेका छन्।

कास्की जिल्लाबाट दुई नाटक छनोटमा परेका छन्। जसमा मनोज अधिकारीको लेखन तथा सोनिया कार्की खत्रीको निर्देशनमा भानुभक्त आवसीय माध्यमिक विद्यालयको शान्तिको अशान्ति शीर्षकको नाटक र सुनिता ज्ञवालीको लेखन तथा निर्देशनमा धर्मस्थली आधारभूत विद्यालयको आरोह अवरोह शीर्षकको नाटक रहेका छन्।

लमजुङ जिल्लाबाट दुईवटा नाटक छनोट भएका छन्। जसमा भरत रानाको लेखन तथा निर्देशनमा युनिभर्सल एकेडेमीको धनवहादुर शीर्षकको नाटक र सुर्य बहादुर के.सी.को लेखन तथा पशुपति न्यौपानेको निर्देशनमा विद्याज्योति माध्यमिक विद्यालय सुन्दरबजारको जीउँदालाशहरु शीर्षकको नाटक रहेका छन्।

तनहुँ जिल्लाबाट टुकादेवी पौडेलको लेखन तथा निर्देशनमा पञ्चमुनिदेव माध्यमिक विद्यालयको नाम बिनाको चिर्कटो छनोट भएको छ।

यसैगरी गोरखाबाट अनिता देसाईको लेखन तथा सुरेन्द्र देवकोटा नाट्य रुपान्तरण एवं निर्देशनमा शक्ती माध्यमिक विद्यालयको एक समर्पित छोरा शीर्षकको नाटक अन्तिम छनोटमा पर्न सफल भएको छ।

म्याग्दी जिल्लाबाट बेनी सामुदायिक माध्यमिक विद्यालयको बाल विवाह शीर्षकको नाटक छनोट भएको छ। कर्ण बस्यालले लेखेको यस नाटकलाई रामचन्द्र पौड्यालले निर्देशन गरका हुन्। बाग्लुङ जिल्लाबाट कालीगण्डकी आवासीय माध्यमिक विद्यालयको विदेशिनु पर्दाको पिडा शीर्षकको नाटक छनोट भएको छ। जीवननाथ शर्मा रेग्मीको लेखन तथा अर्जुन थापाको निर्देशनमा यो नाटक तयार भएको छ।

यस्तै पर्वत जिल्लाबाट न्यु होराइजन आवाशीय माध्यमिक विद्यालयको मेरो समाजमा नारी शीर्षकको नाटक छनोटमा परेको छ। मिना रेग्मीको लेखन रहेको नाटकलाई रेजिना मल्लले निर्देशन गरकी हुन्।

मञ्चन मिति पछाडि सर्‍यो

छनोट भएका नाटक मञ्चन हुने मिति भने पछाडि सरेको छ। यसअघि माघ ११ गतेदेखि १५ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन गरिने भनिएकोमा कोरोना संक्रमण पुनः बढेकोले सारिएको हो। परिस्थिति सहज हुनेबित्तिकै नयाँ मिति तय हुने आयोजक पोखरा थिएटरले जनाएको छ।

‘विद्यालयमा रंगमञ्च,अर्थपूर्ण बाल सहभागीताको आधार’ भन्ने मुल मन्त्रका साथ आयोजना गरिएको महोत्सवमा गण्डकी प्रज्ञा–प्रतिष्ठानको प्रमुख सहकार्य एंव नेपाल संगीत तथा नाट्य–प्रज्ञा प्रतिष्ठान काठमाडौं र पोखरा प्रज्ञा–प्रतिष्ठान पोखराले सहकार्य गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved