दर्शकबिनै आहा रारा गोल्डको तयारी

पहिलो खेलमा सहारा र एपीएफ भिड्ने

नेपालभ्युज

दर्शकबिनै आहा रारा गोल्डको तयारी

पोखरा। मोफसलको सर्वाधिक राशि पुरस्कार भएको आहा रारा गोल्डकपको २० औँ संस्करण ६ माघदेखि शुरु हुने भएको छ। १५ माघसम्म पोखरा रंगशालामा चल्ने प्रतियोगिता दर्शकबिना नै सञ्चालन गर्ने तयारी रहेको आयोजकले मंगलबार अन्तिम पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

सहारा क्लबका अध्यक्ष हरेराम गुरुङ ‘सुरज’ ले तत्काललाई केही दिन दर्शकबिना नै प्रतियोगिता सञ्चालन गर्ने तयारी रहेको सुनाए। ‘‘पहिलो चरणका खेलहरू दर्शकबिना नै गर्ने तयारी गरेका छौं। त्यसपछि कोभिडको अवस्था कस्तो रहन्छ त्यसैमा भर पर्छ,’’ उनले भने, ‘‘हामीले टिकट तयार गरिसकेका छैनौं, पास सिस्टमबाट खोप कार्ड अनिवार्य गरेका छौं।’’

प्रतियोगितामा १० टिमले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा पाहुना टोली बिवाईएससी र नेपाली ‘ए’ डिभिजन क्लबहरुले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको पहिलो खेल आयोजक सहारा क्लब र नेपाल एपीएफ बीच रहनेछ।

क्लबका अध्यक्ष सुरज गुरुङअनुसार गत वर्षको विजेता टोली संकटा क्लब, पाहुना टोली बीवाईएससी माईनसोटा अमेरिका, मछिन्द्र क्लब, विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब, रुस्लान थ्रिस्टार क्लब, मनाङ मर्स्याङ्दी क्लब र आयोजक सहारा क्लब गरी कुल १० टिमले नकआउटको आधारमा प्रतिस्पर्धा गर्नेछन्।

उनले प्रतियोगिताको विजेता टिमलाई नगद १० लाख १ हजार रूपैयाँ प्राप्त गर्ने र उपविजेता टोलीलाई ५ लाख १ हजार रूपैयाँ प्रदान गर्ने बताए। यसपटकको प्रतियोगिताबाट आम्दानी १ करोड ३६ लाख र खर्च १ करोड ६ लाख रूपैयाँ हुने अनुमान क्लबको रहेको छ।

पर्यटकीय शहर पोखरालाई स्पोर्ट हब सिटीको रूपमा परिचित गराउने र पर्यटन प्रबर्द्धन गर्नुको साथै, नव प्रतिभावान फुटबल खेलाडीहरुलाई आफ्नो खेल कौशल प्रदर्शन गर्ने उचित अवसर उपलब्धगराउने उद्धेश्य रहेको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले जानकारी दिए। उनकाअनुसार यस वर्ष सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७८ बाट एक जना राष्ट्रिय खेलाडी सम्मान हुनेछन्।

सम्मानित खेलाडीले ३५ हजार रूपैयाँ, प्रमाणपत्र र दोसल्ला प्रदान गरिने उनले जनाए। प्रतियोगितामा निर्णायक ट्रफी (रेफ्री), वेस्ट अफ फाइभ ट्रफी, मेन अफ दि म्याच, सर्वोत्कृष्ट खेलाडी, फेयर प्ले एव खेलाडीले पनि पुरस्कार पाउने उनले जानकारी दिए।

प्रतियोगितालाई पहिलो संस्करणदेखि नै हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउले मुख्य प्रायोजन गर्दै आएको छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले सिताजको तर्फबाट अप्रिला स्कुटर प्राप्त गर्नेछ। स्मरण रहोस्, १९ औं संस्करणको आहा रारा गोल्डकपको विजेता संकटा क्लब र उपविजेता अफ्रिकन रुट एसोसिएसन डाउला,क्यामरुन रहेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved