बाँच्नको लागि बच्चा र मिर्गौला बेच्दै अफगानिस्तानका विस्थापित परिवार

गरिबी, देशको आर्थिक समस्या र कोभिड–१९ महामारीको प्रभाव परेकाले यस्तो निर्णय लिन बाध्य भएको विस्थापित परिवारहरू बताउँछन्।

नेपालभ्युज

बाँच्नको लागि बच्चा र मिर्गौला बेच्दै अफगानिस्तानका विस्थापित परिवार
संयुक्त राष्ट्र संघीय शरणार्थी नियोगले प्रकाशन गरेको अफगानी शरणार्थी शिविरको तस्वीर।

काबुल। अफगानिस्तानको बल्ख प्रान्तको राजधानीमा रहेको एक शिविरमा बस्दै आएका विस्थापित परिवारले बाँच्नको लागि खर्च जुटाउन आफ्नो छोराछोरी र मिर्गौला बेचेका छन्।

उनीहरू अफगानिस्तानको उत्तरी प्रान्त बल्ख, सार–ए–पुल, फर्याब र जज्जानमा गणतान्त्रिक सरकारको पतन हुनुअघि इस्लामिक इमिरेट्स र पूर्व सरकारी सेनाबीच भएको द्वन्द्वमा परेर विस्थापित हुन पुगेका थिए।

एक बच्चाको मूल्य एक लाखदेखि डेढ लाख अफगानी र मिर्गौलाको मूल्य डेढलाख देखि दुई लाख २० हजार अफगानीसम्म पाउने गरेका छन्।

विस्थापित परिवारहरू बल्ख प्रान्तको राजधानी मजर–ए–शरिफको क्याम्पमा बसिरहेका छन्। गरिबी, देशको आर्थिक समस्या र कोभिड–१९ महामारीको प्रभाव परेकाले यस्तो निर्णय लिन बाध्य भएको विस्थापित परिवारहरू बताउँछन्।

“हामी समस्याले ग्रस्त छौँ,” एक विस्थापित व्यक्तिले भने, “हामीलाई कसैले ध्यान दिएको छैन। त्यसैले हामीलाई धेरै नै समस्या परेको छ।”

प्रत्येक परिवारमा दुईदेखि सात जना बालबालिका छन्।

त्यसरी युद्धका कारण विस्थापितमध्ये एक हुन्, दिलबर। उनको परिवार पनि भोकमरीको सामना गर्न बाध्य छन्। छोराछोरीको हेरचाह गर्न मिर्गौला बेच्नुको विकल्प नभएको दिलबर बताउँछन्।

“मेरो बच्चा बिरामी थियो। उसको उपचारको लागि अपस्पताल लगेँ तर डाक्टरले उसको उपचार गर्न मानेन,” दिलबर भन्छन्।

यी परिवारहरूलाई बच्चा र मिर्गौला बेच्नबाट रोक्न एक परोपकारी संस्थाले मद्दत गरेको थियो।

संस्थाले बच्चा र मिर्गौला बेच्नबाट रोक्नको लागि मजर–ए–शरिफमा बस्दै आएका हजारौँ विस्थापित र असुरक्षित मानिसलाई पैसा र खाना उपलब्ध गराएको थियो।

परोपकारी संस्थाका प्रमुख मोहम्मद सादिक हासिमीले व्यवसायीहरूलाई देशभरका समस्यामा परेका मानिसलाई मद्दत गर्न आह्वान गरेका छन्।

“केही दिदीबहिनीहरू आफ्नो मिर्गौला बेच्न तयार थिए, तिमध्ये केहीले आफ्नो मिर्गौला बेचिसकेका छन्, केही परिवारले आफ्ना छोराछोरीको मिर्गौला बेचिरहेका थिए,” प्रमुख मोहम्मद भन्छन्, “हामीले उनीहरूलाई सहयोग गर्न सक्यौँ।”

इस्लामिक उलेमा र बल्खका वासिन्दाले अफगानिस्तान गम्भीर मानवीय संकटबाट गुज्रिरहेकाले अन्तराष्ट्रिय समुदायलाई मानवीय सहायता उपलब्ध गराउन आग्रह गरिरहेका छन्।

– अफगानिस्तानको टोलो न्युजमा प्रकाशित सैयद मोहम्मद आरिफ मुसावीले तयार पारेको रिपोर्टको अनुवाद


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved