पर्वतमा कालिगण्डकी नदीमाथि जिपलाइनमा सरर…

पर्वतमा कालिगण्डकी नदीमाथि जिपलाइनमा सरर…

पोखरा। बन्जी र स्विङपछि ‘एड्भेन्चर’ मन पराउनेको लागि पर्वतमा जिपलाइन सञ्चालनमा आएको छ। सुपरम्यान शैलीमा विश्वकै दोस्रो भनेर दाबी गरिएको जिपलाइन गत शनिबार देखि सञ्चालनमा आएको हो।

कालीगण्डकी नदीको सतहदेखि झन्डै २५० मिटरको उचाइबाट शुरु हुने जिपलाइनको शुरुआती गति प्रतिघण्टा १३० किलोमिटरको गतिमा बगेर गन्तव्य नजिकिँदै जाँदा बिस्तारै घट्दै जाने गर्दछ। १४ सय ८० मिटरको दूरी पार गरिसक्दा कालीगण्डकी नदी किनारमा कम्पनीले नै निर्माण गरेको रिसोर्टमा पुगेर जिपलाइनको ल्यान्डिङ हुनेछ।

जिपलाइन प्रालिका अध्यक्ष विदुर पौड्यालका अनुसार सुपरम्यान शैलीमा विश्वको सबैभन्दा लामो २८ सय मिटरको जिपलाइन दुबईमा रहेको र पर्वतको जिपलाइन त्यसपछिको लामो भएका कारण पर्वतमा पर्यटकहरूलाई आकर्षित गर्नेछ।

अंग्रेजी नयाँ वर्षको दिन पारेर व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने भनिएपनि प्राविधिक परीक्षणका काम पूरा नभएकोले सञ्चालनमा निर्माण समितिले केही साता पर धकलेको थियो। जिपलाइनमा पछिल्ला केही दिन यता हरेक दिन जसो धेरै जनाले परीक्षणका रूपमा यात्रा गरेपछि औपचारिक शुरुआती पुसको अन्तिम साताबाट भएको पौड्यालले जानकारी दिए। “जिपलाइनका लागि ३५ सय रुपैयाँ शुल्क तोकिएको र सञ्चालनमा आएको केही दिनसम्म उद्घाटनको अवसरमा १० प्रतिशत छुट दिन लागिएको छ,” उनले भने, ‘‘सुपरम्यान शैलीमा भएकोले पनि धेरै पर्यटकहरू पर्वतमा आकर्षित हुने अपेक्षा हामीले गरेका छौँ।” बन्जी जम्प निर्माण भएसँगै साहसिक खेलका लागि पर्वतमा पर्यटकीय चहलपहल शुरु भएको थियो। अब जिपलाइनले फेरि नयाँ आकर्षण दिए उनी बताउँछन्।

उनका अनुसार शालिग्राम पाइने धार्मिक नदी कालीगण्डकीलाई दुई ठाउँबाट ‘क्रस’ गर्न सकिने भएकाले पनि देशका अन्य ठाउँमा रहेका जिपलाइनभन्दा पर्वतको जिपलाइन विशेष रहेको छ। नदी नै क्रस गर्नुपर्ने भए पनि सामान्यतः एक ठाउँमा क्रस हुनेमा पर्वतको जिपलाइन कालीगण्डकी नदीलाई दुई ठाउँमा क्रस गर्छ। पर्वत सदरमुकाम समेत रहेको कुश्मा नगरपालिका–५ चाक्लेको डिलबाट कालीगण्डकी नदीको किनारमा रहेको साउने बगरसम्मको दूरीमा जिपलाइन बनेको हो।

तत्काललाई जिपलाइन बन्द 

जिपलाइनको निर्माणको जिम्मा लिएको भारतीय कम्पनीले पूर्ण रूपमा काम नसकिँदिदा तत्काललाई केही दिन रोकिएको सञ्चालक राजकुमार बस्नेतले जानकारी दिए। “शुरुआती ४ दिन जिपलाइनलाई सञ्चालनमा ल्यायौं। अहिले तत्काललाई शनिबारसम्मलाई रोकेका छौं,” उनले भने, “भारतीय कम्पनीले छोडेपछि अर्को कम्पनी विग बोल्डर टिमबाट आएको छ। जिपलाइनमा आवश्यक ब्रेकिङ सिस्टम सेटअप गर्नुपर्नेछ। त्यसैले पनि केही रोकेका हौं।” भारतीय कम्पनीले काम पूरा गर्न नसकेपछि रकम फिर्ता गर्ने कुरा भैरहेको उनले सुनाए।

जिपलाइन सञ्चालन गर्दा शुरुवातको समय लकडाउनमा परिएको उनले सुनाए। “दुईपटकको लडकाउनले गर्दा समयमा निर्माण पूरा गर्न सकेनौं,” उनले भने, “अब विस्तारै शुरु गर्दैछौं।” शुरुवातको ४ दिनमा जिपलाइन गर्न आउनको संख्या बढेको उनले सुनाए। उनका अनुसार दैनिक २५ जनाको हाराहारीमा जिपलाइन गर्दथे। नेपालामा सुपरम्यान शैली शुरु गर्दा अरू कसैले नगरेको उनले बताए। “हामीले शुरुवातमै सुपरम्यान शैलीमा निर्माण गर्‍यौं। यसको क्रेज त छ तर जिपलाइन धेरै भएकोले यसको महत्व छिटै हराउँछ कि जस्तो लाग्छ,” उनले भने।

सुपरम्यान शैली सुतेर गन्तव्यमा पुगिने भएकोले अरूभन्दा फरक रहेको उनले प्रस्टाए। “अरूभन्दा फरक यसकारण पनि छ कि अरू जिपलाइन जंगलको बीचमा छन भने हाम्रो कालिगण्डकी हेरीहेरी तर्न पाइन्छ,” उनले भने।

उनका अनुसार जिपलाइनमा एकै पटकमा दुई जना सँगै झुण्डिन मिल्छ भने ६० देखि ९० सेकेन्डको समय अवधिभित्रमा यात्रा पूरा हुन्छ। जिपलाइनमा प्रयोग हुने डोरीले एक पटकमा दुई हजार किलो तौल धान्न सक्ने उनले जानकारी दिए।

जिपलाइनमा ७ जनाको लगानी रहेको छ। उनका अनुसार जिपलाइनमा साढे ३ करोड लगानी रहेको छ। जिपलाइन पोइन्ट माथि फास्ट फुड रेस्टुरेन्ट भएकोले पर्यटकले त्यसको पनि मज्जा लिन सक्ने उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved