डोटीमा पनि सार्वजनिक सेवा लिन कोरोनाविरुद्ध खोप कार्ड अनिवार्य

नेपालभ्युज

डोटीमा पनि सार्वजनिक सेवा लिन कोरोनाविरुद्ध खोप कार्ड अनिवार्य

डोटी। जिल्लामा केही दिन यतादेखि कोभिड–१९ का सङक्रमितको सङ्ख्या दिनहुँ बढ्दै गएको छ। एकै हप्तामा जिल्लामा ३३ नयाँ सङक्रमित फेला परेका छन्।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले कोरोनाविरुद्ध खोप अनिर्वाय गरे पनि अधिकांशले उक्त खोप नलगाएको भन्दै नजिकैको स्वास्थ्य संस्थामा गएर खोप लगाउन स्थानीय प्रशासनले सबैमा आग्रह गरेको छ।

सङ्क्रमण बढ्दै गएकाले यहाँका सरकारी कार्यालयको सेवा प्राप्त गर्न कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य साथमा राख्नुपर्ने भएको छ। गृहमन्त्रालयको निर्देशनअनुसार यही ७ माघदेखि सरकारी कार्यालयमा सेवा लिनका लागि पुग्ने नागरिकले अनिवार्य रुपमा खोपको पूर्ण मात्रा लगाएको कार्ड साथमा राख्नुपर्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले बताए। उनले भने, “जिल्लामा कोरोनाको जोखिम फेरी बढेको छ, यसबाट बचाउन तथा खोपमा सबैको पहुँच पुर्‍याउन खोप कार्ड अनिवार्य गरेका छौँ, खोप लगाएर मात्रै सेवा लिन आउनु होला।”छिमेकी मुलुक भारतबाट घर फर्किएका नागरिकको सङ्ख्या बढेसँगै जिल्लामा कोरोना सङ्क्रमणको जोखिम पनि एकाएक बढेको प्रजिअ विष्टको भनाइ थियो।

यसैगरी यहाँका नौवटै स्थानीय तहमा आइसोलेशन कक्षको व्यवस्था गर्न जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले आग्रह गरेको छ। भारतबाट घर फर्किरहेका नागरिक कोरोना जाँच नै नगरी सिधै गाउँ जाने गरेका कारण यहाँका सहरबजारभन्दा पनि गाउँमा कोरोनाको जोखिम बढ्ने देखिएको केआइसिंह गाउँपालिकाका तिलकबहादुुर रावलले बताए। उनले भने, “भारतबाट आउने दाजुभाइ जाँच बिना नै सिधै गाउँ जान थालेका छन्, अब कोरोना गाउँबाट बढी फैलिने सम्भावना छ।”

जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रहरी प्रशासनले निगरानी गरिरहे पनि खासै फलदायी हुननसकेको स्थानीयवासीको आरोप छ। यहाँको प्रहरी प्रशासनले घर बाहिर वा सार्वजनिकस्थलमा जाँदा र सार्वजनिक यातायातका साधन प्रयोग गर्दा मास्कको प्रयोग अनिवार्य गर्न लगाउनाका साथै भौतिक दूरी कायमलगायत स्वास्थ्यसुरक्षाको मापदण्ड पूर्णपालना गर्न आह्वान गरेपनि यहाँका नागरिकले त्यसको खासै पालना नगरेको दिपायल सिलगढी नगरपालिका–४ का मदन बोगटीले बताए।

विभिन्न जिल्ला तथा स्थानीय तहले सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य गर्दै आएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved