बतास समूहको पक्षमा नाडाको विज्ञप्ति, ‘सरकारले व्यवसायीको चरित्र हत्या गर्‍यो’

नेपालभ्युज

बतास समूहको पक्षमा नाडाको विज्ञप्ति, ‘सरकारले व्यवसायीको चरित्र हत्या गर्‍यो’

काठमाडौं। अटोमोबाइल व्यवसायीहरूको छाता संगठन नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालले सरकारले व्यवसायीको चरित्र हत्या गरेको आरोप लगाएको छ। नारायणहिटी दरबार संग्रालय परिसरभित्र रेस्टुरेन्ट सञ्चालन विवादमा मुछिएको बतास समूहको पक्षमा विज्ञप्ति निकाल्दै नाडाले व्यवसायीलाई मर्यादापूर्ण व्यवहार गर्न अनुरोध गरेको छ।

बतासले कानून प्रक्रियाअनुसार सहभागी भई सरकारले तोकेको भाडा बुझाउने शर्तमा क्याफटेरिया सञ्चालनसम्बन्धी अनुमति पाई नियमअनुसार काम गरेको नाडाको निक्यौल छ। व्यवसायीक संस्थाको चरित्र हत्या र व्यवसायीमाथि अमर्यादित व्यवहार गरिएको भन्दै बतासलाई अपराधिक समूहका रूपमा परिभाषित गर्ने प्रयास गरिएकोमा उक्त कार्य अन्यायपूर्ण भएको नाडाले बताएको छ।

‘‘समाचारकै आधारमा स्पष्टिकरणको समेत अवसर नै नदिई कारबाहीको प्रक्रिया थालिनुलाई कुनै पनि अर्थमा उचित मान्न सकिँदैन,” नाडाका अध्यक्ष ध्रुव थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘सरकारले व्यवसाय सञ्चालन गर्न अनुमति प्रदान गरिसकेको सन्दर्भमा एकपक्षीय रूपमा व्यवसायीलाई मात्र दोष दिएर समग्र निजी क्षेत्र कै मनोबल गिराउने प्रयासले नेपालमा लगानीको वातावरणमा समेत नकारात्मक प्रभाव पार्नेछ।”

विज्ञप्ति

नेपालको अर्थतन्त्रमा अटोमोबाइल क्षेत्रको योगदान २५ प्रतिशतभन्दा बढी रहेको छ भने नेपालको रोजगारीमा पनि अटोमोबाइल क्षेत्रले १७ लाख भन्दा बढीलाई रोजगारी प्रदान गर्दे आएको छ। यस अटोमोबाइल क्षेत्रले वार्षिक झण्डै ४० हजारको संख्यामा देशमा रोजगारी उपलब्ध गराउदै आएको छ। यसमध्ये नेपालको अटोमोबाइल क्षेत्रको एक प्रतिष्ठित व्यावसायिक संस्था बतास समूहमाथी गरिएको चरित्र हत्या र अमर्यादित व्यवहारप्रति नाडा अटोमोबाइल्स एशोसिएशनको गम्भीर ध्यानाकर्षण भएको छ।

सरकारले आह्वान गरेको टेण्डरहरूमा बतास समूहले सरकारले नै निर्धारण गरेकोे कानूनी प्रक्रिया अनुसार सहभागी भई सरकारले तोकेको भाडा बुझाउने शर्तमा क्याफटेरिया सञ्चालन सम्बन्धी अनुमति पनि सरकारबाट नै प्राप्त गरेको थियो। स्वयं सरकारबाट अनुमति पाएको सन्दर्भमा निजी क्षेत्रले व्यवसाय गर्नु एउटा स्वभाविक प्रक्रिया हो। सरकारबाट अनुमति पाएर पनि बतास समूहले आफनो जिम्मेवारीलाई अघि नवढाउनु गैर कानूनी हुनु पर्नेमा उल्टो अघि बढाउदा बतास समूहलाई अपराधिक समूहको रूपमा परिभाषित गर्ने प्रयास गरिएको छ। जुन कार्य अन्यायपूर्ण छ।

प्रक्रिया र कानून विपरित भएका गतिविधिमाथी सरकारले अंकुश लगाउने र कारवाही गर्ने कुरालाई यस एशोसिएशनले अन्यथा लिने प्रश्न नै आउदैन, कुनै पनि आरोपको सत्यतथ्यको खोजि गरिनु पर्छ र आरोप प्रमाणित भए पश्चात मात्र दण्डित हुनु पर्छ भन्ने हाम्रो मान्यता हो र कानूनको सामान्य सिद्धान्तले पनि यहि भन्छ। समाचार कै आधारमा स्पष्टिकरणको समेत अवसर नै नदिई कारवाहीको प्रक्रिया थालिनुलाई कुनै पनि अर्थमा उचित मान्न सकिदैन। सरकारले व्यवसाय सञ्चालन गर्न अनुमति प्रदान गरिसकेको सन्दर्भमा एकपक्षिय रूपमा व्यवसायीलाई मात्र दोष दिएर समग्र निजी क्षेत्र कै मनोबल गिराउने प्रयासले नेपालमा लगानीको वातावरणमा समेत नकारात्मक प्रभाव पार्नेछ।

नाडाले आफनो स्थापनाकालदेखि नै कानूनी र विधिसम्मत व्यवसायको पक्षमा सदैव आवाज उठाउदै आएको सन्दर्भमा कानूनसम्मत व्यवसाय गर्दे आएको व्यवसायीमाथी कतैबाट पनि आरोप नलगाउन सम्बन्धित सवैको ध्यानाकर्षण गराउन चाहान्छौ।

(धु्रव थापा)
अध्यक्ष


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved