विश्वका १० धनाढ्यको सम्पत्ति कोभिड महामारीबीच नै दोब्बर, गरिबीको रेखामुनि थप १६ करोड

– हरेक सेकेण्डमा उच्च धनाढ्य १० को सम्पत्ति १५ हजार अमेरिकी डलर (१७ लाख ८६ हजार नेपाली रूपैयाँ)ले बढ्छ।
– हरेक चार सेकेण्डमा एक जना मानिसको असमानताकै कारण निधन हुनेगर्छ।

नेपालभ्युज

विश्वका १० धनाढ्यको सम्पत्ति कोभिड महामारीबीच नै दोब्बर, गरिबीको रेखामुनि थप १६ करोड

काठमाडौं। कोभिड-१९ को विश्वव्यापी महामारी भएको दुई वर्षमा संसारका सबैभन्दा धनाढ्यको सम्पत्ति दोब्बर भएर सात सय बिलियन (७ खर्ब) अमेरिकी डलरबाट १.५ ट्रिलियन अमेरिकी डलर (१५ खर्ब अमेरिकी डलर) पुगेको छ। प्रतिसेकेण्ड १५ हजार अमेरिकी डलर र प्रतिदिन १.३ बिलियन (एक अर्ब ३० करोड) अमेरिकी डलरको दरले उनीहरूको सम्पत्ति बढेको असमानता, गरिबी र अन्यायविरूद्ध काम गर्ने अन्तर्राष्ट्रिय संस्था अक्सफाम इन्टरनेशनलले सार्वजनिक गरेको छ।

महामारीका यी दुई वर्षमा विश्वभरका ९९ प्रतिशत मानिसको आय खस्किएको छ भने १६ करोड थप मानिसहरू गरिबीको रेखामुनि धकेलिएका छन्।

आजदेखि २१ जनवरीसम्म स्विट्जरल्याण्डको डाभोसमा हुँदै गरेको विश्वका ‘वर्ल्ड इकोनोमिक फोरम’को पूर्वसन्ध्यामा ‘इनइक्वालिटी किल्छ’ (असमानताले मार्छ) शीर्षकको प्रतिवेदन सार्वजनिक गर्दै अक्सफामले उक्त तथ्यांक सार्वजनिक गरेको हो।

प्रतिवेदनका अनुसार बढ्दो असमानताका कारण हरेक दिन कम्तिमा २१ हजार मानिसहरू जीवन गुमाउन विवश छन् अर्थात् हरेक चार सेकेण्डमा एकजनाको असमानताकै कारण निधन हुने गरेको छ।

“संसारका यी उच्च १० धनाढ्यले आजको भोली ९९ प्रतिशतले सम्पत्ति गुमाए पनि उनीहरू संसारका बाँकी ९९ प्रतिशत मानिसभन्दा धनी नै हुनेछन्”, अक्सफामका अन्तर्राष्ट्रिय कार्यकारी निर्देशक गाब्रिएला बुचरले भने, “संसारका सबैभन्दा गरीब तीन अर्ब १० करोड मानिससँग भन्दा ६ गुणा बढी सम्पत्ति छ।”

अक्सफामको प्रतिवेदन अनुसार विश्वका धनाढ्यहरूको सम्पत्ति पछिल्लो १४ वर्षमा भन्दा बढी कोभिड महामारी शुरू भएपछि बढेको हो।

कसको कति सम्पति बढ्यो?

मार्च २०२० देखि अक्टोबर २०२१ सम्म सबैभन्दा धेरै सम्पति एलन मस्कको बढेको छ।

फोर्ब्स पत्रिकाको तथ्यांक उद्धरण गर्दै ‘द गार्जियन’ले विद्युतीय कार कम्पनी टेस्लाका संस्थापक मस्कको सम्पत्ति महामारी शुरू भएको शुरूआती २० महीनामा एक हजार १६ प्रतिशतले बढेको जनाएको छ। फलस्वरूप उनको कूल सम्पत्ति दुई खर्ब ९४ अर्ब २० करोड अमेरिकी डलर पुगेको छ।

मार्च २०२०देखि अक्टोबर २०२१ सम्म बढेको धनाढ्यहरूको सम्पत्ति विवरण यस्तो छः

अक्सफामले यी धनाढ्यले महामारीका दौरान गरेको आम्दानीमा ९९ प्रतिशत कर लगाउन सिफारिस गरेको छ। त्यसो भएमा निम्न उपलब्धी हुने उसको ठम्याई छ-
– विश्वभरलाई पुग्ने भ्याक्सिन निर्माण गर्न सकिन्छ।
– विश्वभरलाई पुग्ने स्वास्थ्य सेवा र सामाजिक सुरक्षा उपलब्ध गराउन सकिन्छ।
– ८० भन्दा बढी देशलाई जलवायु परिवर्तन अनुकूलन र लैंगिक हिंसा अन्त्य गर्न आर्थिक सहयोग गर्न सकिन्छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved