फिल्म समिक्षा

कठपुतली कि ‘कठै पुतली’ ?

जे होस्, यो फिल्मले “हात्ती आयो हात्ती आयो फुस्सा!” उखानलाई मोर्डनाइज गर्दै “कठपुतली! कठपुतली! कठै पुतली!” भन्न पनि मिल्छ है भन्ने एउटा सन्देश भने दरिलै दिएको छ।

कठपुतली कि ‘कठै पुतली’ ?
श्रीजु सरल

‘नेपाली दर्शकलाई हलसम्म फर्कायो कठपुतलीले!’ यी र यस्तै यस्तै शीर्षकका समाचार अघिल्लो हप्ता अधिकांश पत्रपत्रिकाले छापे। र अवश्य जे छापियो, सही छापियो, सत्य छापियो। हत्तपत्त हलमै पुगेर फिल्म हेर्न नसक्ने मजस्तो मिडल क्लास फिल्म लभरलाई पनि कठपुतलीले हलसम्म डोहोर्‍याएकै हो।

‘नेपाली फिल्मलाई माया गर्नुपर्छ!’ लागिरहेकै थियो। अरू अरूबाट पनि उस्तै आग्रह एवं अनुरोध पाएपछि म हलसम्म पुगेँ। पातलो खल्ती छाम्दै छाम्दै ढिलो गरी (शायद दोस्रो हप्ता) पुग्दा दर्शकहरू पनि पातलिइसकेका थिए। खैर, केही पूर्वचेतावनीका बाबजुद हृदय भरिएकै थियो, एउटा मौलिक नेपाली चलचित्र हेरेर त्यसबाट पाइने सन्तुष्टि कल्पिएरै। कल्पनाकै दौरान, फिल्ममा मस्तै डुब्छु भन्ने एउटा आत्मविश्वासका कारण शायद, स्क्रिनमार्फत सूचना पाउनुअघि नै फोनलाई मौन मुद्रामा पठाइसकेको थिएँ।

 ‘हलिउडस्तर’को नेपाली फिल्म

हुन त अपेक्षा नै नैराश्यको उद्गम हो भनिन्छ। अपेक्षा गर्नेलाई गलत ठहर्याउने गर्छ एउटा ठूलो जमातले। तर, स्थानस्थिति अनुसार धारणाहरूले पृथक धार पकड्न सक्नुपर्छ भन्ने ठान्दछु म। जति अपेक्षाको लेनादेना भएन प्रेम उति सुन्दर हुँदो हो। तर, मलाई लाग्छ कलामा भने एउटा अपेक्षा राखिनुपर्छ। एउटा पक्षबाट मात्र नभएर दुवैपक्षबाट। अपेक्षाहरूको सन्तुलित आदानप्रदान नै एउटा त्यस्तो कडी र क्रिडा हो जसले व्यापारलाई समेत सुन्दर बनाउन सक्ने ल्याकत राख्दछ। र जति व्यापार सुन्दर हुन सक्दछ, सभ्यताको परिकल्पना उति सार्थक!

खैर, आज व्यापारबारे नबोलूँ! फिल्मजस्तो कलात्मक (वस्तु)को व्यापारमा कलाभन्दा व्यापारिकता मात्रै व्यापक्किँदै गएको देख्दा आज त्यो खड्किएको चिज अर्थात् फिल्मको कलात्मक पाटोमाथि नै बोलूँ बोलूँ लाग्यो। र स्मरण रहोस्, कुनै फिल्मबारे मैले बोलेको यो नै प्रथमबाजी हो।

फिल्म अर्थात् कठपुतली शुरु भयो आन्दोलनको आवाजसँगै। आवाजसँगै दरबार परिसरमा सैनिकहरूको उठ्दै बस्दै गरेको छाती, तिनको छातीभित्रको उकुसमुकस अनुहारमै स्पष्ट मडारिएको त्यो दृश्य! माथि झ्यालबाट दृश्य नियाल्दै गरेको युवराज र उसको सल्लाहकार। सल्लाहकारले सल्लाह दिने आफ्नो नियोजित जिम्मेवारी निभाइरहँदा पनि धीर र मौन रही कुटनीतिक देखिन खोज्दै गरेको युवराजको त्यो मुहारमुद्रा! अहो! फिल्म त प्रचार गरिएजस्तै हलिउडस्तरकै लाग्यो!

फिल्ममा जब दृश्यहरूले नै भरपुर बोल्छन् तब डायलग कम हुन्छन्। र सशक्त दृश्य हुने हो भने फिल्म लगभग संवादरहित हुन पनि सक्दछ र त्यही संरचनामा उत्कृष्टता हासिल गर्न पनि सक्दछ। फिल्मको ओपनिङ दृश्यले यस्तै केही छनक दिएको भए पनि अघि बढ्दै जाँदा फिल्मका दृश्यहरूले दर्शकको मनमष्तकमा पकड बनाइरहन सकेका छैनन्। र डायलगहरू पनि कमजोर सुनिएका छन्। जति अघि बढ्यो कठपुतलीले आफ्नो पुत्ला आफै दोहन गरझैं लागिरहन्छ।

चरित्र ‘निर्माण’ कि ‘निर्मूलन’

फिल्ममा खलपात्रको भूमिकामा देखाइएका राजालाई हेर्दा लाग्छ उनलाई जबर्जस्ती खलपात्र बनाइएको छ। उनको शासनविरुद्ध जुन आन्दोलन चर्किएको भनिएको छ, सो आन्दोलन किन र केका लागि भएको हो? यसको खाँटी कारण फिल्मको शुरुआतदेखि अन्त्यसम्म पनि खुलेको छैन। कारण त खुलाइएन खुलाइएन चलचित्रजस्तो दृश्यकेन्द्रित सिर्जनामा आन्दोलनको दृश्य देखाउनमा समेत कन्जुस्याइँ गरिएको छ। युवराजको चरित्रलाई लिड रोल दिन खोजिएको त छ तर, लिड रोलमा भएर पनि उति सशक्त भूमिका उनले निभाउन पाएका हुन् जस्तो दर्शकले महशुस गर्ने ठाउँ भेटिँदैन। यसलाई फिल्मको कथा एवं पटकथाको कमजोरीका रूपमा बुझ्न दर्शकलाई गाह्रो हुँदैन।

शुरुआतमा राजाको गोप्य बैठकमा अवरोध दिई युवराजले जंगी पारामा आफ्नो चरित्रको शक्ति देखाएका छन्। राजालाई चुनौती दिएर (स्मरण रहोस्, पहिल्यै बनाइसकेको) गुरुयोजना कार्यान्वयन गर्न भनी युवराजले अर्को साहसी कदम चालेर आफ्नो विद्रोही र शक्तिशाली चरित्र प्रदर्शन गर्छन्। तर, लगतैको दृश्यमा भने उनै युवराज यति निरीह देखिएका छन् कि ‘हात्ती आयो हात्ती आयो फुस्सा!’ उखान नसम्झिने शायदै कुनै दर्शक हुनेछन्। किनकि, बन्दुक भिरेर, गुरुयोजना सफल पारी सिंगो देश हाँक्ने हाँकका साथ राजशासन बचाउन हिँडेका युवराज जनताको जमातको छायाँ मात्रसँग पनि तर्सिएर मुसोजस्तै दुलो खोज्दै कुलेलाम ठोक्छन्।

यो दृश्य हेरिरहँदा जो कसैलाई पनि विश्वास गर्न गाह्रो पर्छ कि यो उही हक्की युवराज हो जो केहीछिन् अघि राजाको गोप्य बैठकलाई भंग गर्दै जनतासँग माफी मागे आन्दोलन साम्य हुने ठोकुवा गर्दै कुशल शासकको गुण र कुटनैतिक व्यक्तित्वको जंग देखाउँदै थियो। चरित्र निर्माणमा यो हदसम्मको फितलोपन देख्नुपर्दा दर्शकलाई पनि फिल्ममा बताइएकोजस्तै (देखाइएको जानाजानै भनिनँ) आन्दोलन गर्ने जंग पक्कै छुट्नेछ।

चरित्र निर्माणको कुरा निस्किहाल्यो अब शोभाको कुरा पनि गरिहालौँ। शोभालाई फिल्ममा नेवारी लवज र भेषभुषा दिइएको? कि भिराइएको? यो प्रश्न सोध्न मन लाग्छ। पात्र शोभालाई नेवार नै किन बनाइयो भन्ने लजिक फिल्ममा कतै पनि खुलाइएको छैन। यो प्रश्न दर्शकको मनमा किन पनि उठ्छ भने शोभाको लवजलाई हेर्दा र सुन्दा यस्तो लाग्छ कि पटकथा बलियो नभएपछि चटपटा चरित्र निर्माण गरेर भए पनि दर्शकलाई भुलाउन खोजिएको भान हुन्छ। यो शंकाको शंख फिल्मको दृश्यमा बजाइएको शंखभन्दा चर्कै बज्छ दर्शकको मनभित्र।

अब यो प्रश्न निस्किसकेपछि यसैमा केहीबेर अल्झिउँ न होइन? के दर्शकको मनमा उठेको जस्तो प्रश्न अभिनय गर्ने कलाकारको मनमा चाहिँ उठ्दैन? फिल्मको स्क्रिप्ट पढिरहँदा के कलाकारलाई यो जानूँ जानूँ लाग्दैन? कि, आफू जुन भूमिका निभाउन लागिरहेको छु त्यो किन निभाउँदैछु? मेरो चरित्र नेवार नै किन बनाइयो? मेरो चरित्रलाई तोते नै बोल्न किन लगाइयो? अथवा म यो डायलग नै किन बोल्दैछु? यसोभन्दा त्यसो गरे अझै राम्रो हुने थिएन र?

के कलाकारको स्वविवेकले वा सिर्जनशीलताले यति प्रश्न फिल्मका लेखक, निर्देशकसँग सोध्ने सामर्थ्य राख्दैन त? नेपालमा मात्रै यस्तो कि बलिउड हलिउडतिर पनि यस्तै हो? के कलाकारको यो जिम्मेवारी र अधिकार होइन आफूले निभाउँदै गरेको भूमिकाको पृष्ठभूमि स्पष्ट बुझेर मात्र दर्शकसामू त्यसलाई उभ्याउने? एउटा चलचित्र निर्माणको समग्र प्रक्रियाहरूबीच के कलाकार एउटा कठपुतली मात्रै हो त, जो फिल्म मेकर्सले यसो गर, त्यसो गर भनेको इशारालाई चुपचाप मानिदेओस् मात्र !

यी प्रश्न सारा फिल्मकर्मीहरूलाई रह्यो र जवाफको अपेक्षी मलाई म मात्रै हुँ जस्तो लाग्दैन।

काँचा संवाद, भोका दृश्य

खैर, प्रश्नहरू आउँदै रहलान् फेरि कुरातिरै लागौँ। अँ त, गुरुयोजना सफल पार्नका लागि आफ्नो साथी उत्सव भेट्न निस्किएको युवराज घाइते भएर पुरानो बन्द भइसकेको दरबारभित्र ओछ्यान परेको छ। दरबारबाट भागेको युवराजले अलपत्र हुँदा पनि दरबारकै शरण पाउनु पुँजीवादी एवं नाटकीय दृश्य त लाग्छ नै। र अर्को कुरा किशोरकालदेखि दरबारभन्दा बाहिर जान नपाएरै कपाल फुलाइसकेकी दरबारिया सुसारेले समेत दरबारिया भाषा राम्रोसँग बोल्न नजानेको देख्दा दर्शक टिठलाग्दो हाँसो हाँस्नसक्छ, जसलाई सुनेर फिल्मका भुतहरू स्वयं नै तर्सिएर नभाग्लान् भन्न सकिन्न। त्यसो भएमा यसमा दर्शकको कुनै दोष हुनेछैन।

जहाँ घर बनाउन जग हालिन्छ त्यहाँको माटो कस्तो छ भनी चासो नै नगर्नूजत्तिकै लापरवाही यस मामलामा फिल्मका लेखकले गरेकै हुन्। उसो त शोभाकै नेवारी लवज पनि बेलाबेला नाटकीय नलाग्ने होइन। अघि भन्थेँ तर, यो कुरो यतिखेरै भन्नु सान्दर्भिक लाग्यो।

अब भने एउटा असान्दर्भिक फड्को पनि मारिहालूँ। त्यो पुरानो दरबार अर्थात राजपरिवारको इमर्जेन्सी आश्रम अथवा त्यो भुतिया बंगला नै भन्दा पनि फरक नपर्ला कि? लौ त भनेँ, साथी उत्सव भेट्न निस्किएको युवराज भुतिया बंगलामा कैद हुन्छ, कैद भएको छु न थाहा पाएरै, भुतिया बंगला हो न थाहा पाएरै! त्यसपछि, त्यहाँ पुगेको दिनदेखि युवराजले गरेको काम केवल दुई ओटा हो भन्दा हुन्छ। एक, निदाउनु। दुई, भोकाउनु।

हुन त घाइते खुट्टोमा काम्रो बाँधिएको छ, नसुतेर गरोस् पनि त के? खैर, सुत्नु र निदाउनुबीचको फरक दर्शकले अवश्य छुट्याउन सक्छन्। खुट्टामा चरचरी पोल्ने घाउ, त्योभन्दा बढी पोल्ने त्यो छटपटी साथी भेट्ने र गुरुयोजना सफल पार्ने! आफ्नै पिताको शासनविरुद्ध भइरहेको देशव्यापी अराजकता, गाउँलेले आफ्नो ठेगानाको सुँइको पाउने हुन् कि भन्ने डर, दरबारकैले थाहा पाउलान् कि भन्ने भय! अँह! यत्रो डर, त्रास छटपटाहटका बाबजुद पनि युवराज भरपुर निदाइरहन्छ। किन? खाली सपना देख्नकै लागि! किनभने, फिल्मका लेखक/निर्देशकहरू जबरजस्ती बाबु (राजा) का कर्तुतहरू छोरा (युवराज) कै कर्तुत हुन् भन्ने छाप दर्शकमा पार्न चाहन्छन्।

सपनाका माध्यमबाट र केही चटपटा डायलगबाट फिल्मले राजा र युवराजलाई यतिविघ्न दाँजिदिन्छ कि लाग्छ ‘झुट पनि दोहोर्‍याइरहेपछि एकदिन सत्य हुन्छ!’ भन्ने लोकोक्तिले मानौँ लेखकको मस्तिष्कमा राम्रै छाप पारेको छ। र यहाँनिर यो पनि भनी हालूँ, सपनाको माध्यमबाट फिल्मकारले राजा र युवराजलाई दाँजेका मात्र छैनन् बरू त्यही सपनाकै माध्यमबाट दर्शकलाई तर्साउन पनि खोजेका छन्।

यसअर्थमा, फिल्मले ‘एक वाण, दुई शिकार’ को असफल चेष्टा भने गरेकै हो। युवराजको सपनामा ठूलाठूला कुरुप आँखा भएकी स्त्रीले खाउँलाजसरी हेरेको पहिलो वा दोस्रो दृश्यले कमजोर मुटु हुने दर्शकलाई झस्काउनु बेग्लै कुरा। तर, बारम्बार दोहोरिरहने एकै किसिमको भुतिया दृश्यले दर्शक तर्सिनुको सट्टा हाँसिरहेको साक्षी त यी मेरा आँखा र कान मात्र नभएर मेरै ओठ/मुख समेत हुन्। खैर, दृश्यमा सिर्जनशील फड्को मार्न नसके पनि भुतिया आवाजको नाउँमा ध्वनी प्रदुषण गर्ने दुस्साहस भने फिल्मले गरेको छैन।

बाबुको पाप छोरालाई भिराउन मिल्छ ?

एकपटक म पछाडि फर्कन चाहन्छु। किनभने, रमाइलो तरिकाले बोलिरहँदा एउटा गम्भीर कुरा छुटाउँदै पो छु कि जस्तो आभास भयो। अँ त, प्रश्नबाट थालौँ। आखिर, फिल्मले राजा र युवराजलाई त्यतिविघ्न दाँजेर किन देखाएको ? म तपाईंलाई भनूँ? (हाहा) मैले, ‘राजा र युवराजलाई दाँज्नु नै फिल्मको मुख्य उद्देश्य थियो’ भनेँ भने तपाईं हाँस्नु त हुन्न नि? हाँस्न मन लागे हाँस्दिनुस् है।

हरर फिल्ममा भेटिने कमेडीमा पनि नहाँसे त नेपाली फिल्मको इतिहासले तपाईंलाई सराप्नेछ नि फेरि! अँ त, यो सराप्ने कुरा पनि कस्तो राइट टाइमिङमा निस्किदियो हेर्नुस् त! यही नै त हो, फिल्मको थिम! र यही थिमलाई प्रमाणित गर्नका लागि त राजाका कर्तुतहरूको भारी सपनाका माध्यमबाट युवराजको काँधमा बिसाइयो। राजा र युवराजलाई भरपुर दाँजियो।

अन्तिमपटक राजाले लगाएकै वस्त्र युवराजलाई पहिर्‍याइयो। युवराजको अनुहारमा भूतले कोपरेको दाग ठ्याक्कै उहिले भएको राजाकै घाउको दागसँग मेल खुवाइयो। राजाले अन्तिमपटक पिएकै मदिरा युवराजलाई पनि पिलाइयो। राजालाई गलत ठहर्‍याएर दरबारबाट विद्रोह गरेर निस्किएको युवराजलाई राजासँगै दाँजी राजाले यौन अत्याचार गरेर मारेका युवतीहरूलाई सपनाका माध्यमबाट ब्यूँत्याई युवराजलाई नै राजा सम्झी मार्न लगाइयो। र अन्तिममा मारियो पनि। राजालाई र युवराजलाई पनि।

युवराजलाई मात्रै नभएर युवराजको नवजात शिशुलाई समेत बलात्कृत, शोषित, मृत युवतीहरूका भड्किएका आत्माको केन्द्रीय शक्ति अर्थात् फिल्मको मुख्य भूतले भेटिसकेको छ। त्यो निर्दोष नवजात शिशुलाई मारियो/मारिएन नदेखाइएको भए पनि फिल्मले सन्देश यस्तो दिएको छ कि ‘नारीमाथि पुरुषले गर्दै आएको अत्याचार अति भइसकेको छ र कुनैदिन अत्याचारमा परेर मरेका नारीहरूका आत्माले सरापेर धर्तीबाट सारा पुरुषको सर्वनाश हुनेछ!’

के विद्रोह गर्न मर्नैपर्छ ?

के विद्रोह गर्न पनि अब मरिसकेका नारी नै ब्यूँतिन पर्ने हो त? जिउँदा नारीहरू विद्रोह गर्न सक्षम छैनन्, बाँचुन्जेल सहेर मरेपछि नै हो त विद्रोह गर्नुपर्ने? अझै, प्रश्न त गहिरिन सक्छ यहाँ, यो विद्रोह कि बदला? अनि अर्को प्रश्न, के नारीमाथि हुने अत्याचारमा सबै पुरुष दोषी छन्? हुन्छन् नै? बाबुले गल्ती गरे छोरा स्वयं दोषी भइहाल्छ? नारी शोषणका लागि नारी आफै भने जिम्मेवार हुँदै हुँदैनन् त? नारीले बाँच्दै र जिउँदो हुँदै सशक्त हुने कि मरेपछि प्रेत बनुन्जेल सराप दिनलाई पर्खिएर बस्ने?

अब अलिकति महारानीको चरित्रको कुरा गरौँ। ऊ पनि एउटी नारी हो जो जान्दछे आफ्नो ‘महाराज पति’ गलत छ। ऊ पनि एउटी पीडित स्वास्नी हो जसको लोग्ने आफूप्रति बफादार छैन र बाहिर बाहिर नाजायज सम्बन्ध राखेर हिँड्छ। आफ्नो दाम्पत्य, आफ्नो परिवार, आफ्नो वंश, आफ्नो शासनसत्ता, देशका जनता कसैबारे पनि उसको लोग्ने जिम्मेवार र बफादार छैन।

तर, महारानी जसमा जतिबेला प्रेतले होस(चेतना) कब्जा गरेको थियो त्यतिबेला उसले महाराजलाई सिलिङमा झुण्ड्याएर मृत्युदण्ड दिई। तर, प्रेतले छोडेर चेतना फर्कनासाथ उसलाई उही लोग्नेप्रति ममता उम्रियो। किन? ऊ जिउँदै भएको कारण? या त फेरि महारानी भएकै कारण? सच्याउनपर्ने कुरा त कति छन् छन् तर, यही दृश्यमा महारानीले नै वास्तवमा आत्मा खेलाएको देखाउन सकेको भए पनि कमसेकम नारीहरूले जिउँदो हुँदै विद्रोह गर्न सक्छन् भन्ने सकारात्मक सन्देश त जाने थियो कि ?

खैर, आन्दोलन, गुरुयोजना, उत्सव, विद्रोहजस्ता भारीभरकम कुरा गरेर दर्शकलाई उत्साहको पहाड चढाई अन्त्यमा मात्र नभएर शुरुदेखि अन्त्यसम्मै ल्वाप्पा खुवाउने काम कठपुतलीले गरेको नकार्न मिल्दैन। जे होस्, यो फिल्मले “हात्ती आयो हात्ती आयो फुस्सा!” उखानलाई मोर्डनाइज गर्दै “कठपुतली! कठपुतली! कठै पुतली!” भन्न पनि मिल्छ है भन्ने एउटा सन्देश भने दरिलै दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप ब्लग

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved