चाकु बनाउने शहर

पहिले धान नफल्ने भएकोले उखु बारी मात्रै थियो। त्यसैले यसको नाम तुख्यः रहन गएको थियो। पछि अपभ्रंश भएर टोखा हुन पुग्यो।

चाकु बनाउने शहर

काठमाडौं आज त माघे संक्रान्ति। तरुल र शखरखण्ड उसिनिँदै होला। तिलको लड्डु तयार भयो होला ? अनि चाकु ल्याउनुभयो त ? काठमाडौं उपत्यकामा हुनुहुन्छ भने पक्कै पनि टोखाको चाकु ल्याउनुभयो होला।

काठमाडौंका नेवारहरूको चलन, चिसोबाट बच्न चाकु खाने गरिन्छ। धान्य पूर्णिमाको दिनमा बनाउने यःमरि मा पनि चाकु राखिन्छ भने माघेसंक्रान्तिमा पनि घ्यू चाकु खाने गरिन्छ। र, काठमाडौं उपत्यकामा चाकु बनाउने स्थानको रूपमा परिचित छ, टोखा।

टोखाका नेवारहरूको पुस्तैनी पेशा हो यो। तीमध्ये एक हुन्, ३८ वर्षीय बुद्ध श्रेष्ठ। यो पेशामा संलग्न उनी चौथो पुस्ता हुन्। चार पुस्तादेखि चाकु बनाउने पेशामा छ उनको परिवार।

पहिले उनका बाजे र बुवाहरू चाकु बनाउन अन्यत्र डुल्ने गर्थे। तर अहिले बुद्धले ‘काशिलाल चाकु प्रोडक्सन’ नामको चाकु कम्पनी नै खोलेका छन्।

उनी मात्रै होइन, टोखाका अरू नेवारहरू पनि अहिले आफैले कम्पनी स्थापना गरी चाकु व्यवसायमा संलग्न भएका छन्। टोखामा १३ देखि १४ वटा चाकु कम्पनी सञ्चालनमा छन्। बुद्ध चाकुसंघको उपाध्यक्ष पनि हुन्।

“पहिले बुवा, बाजेहरू चाकु बनाउन कहिले कसैको घरमा, कहिले असनको पसलतिर त कहिले ज्याथाको पसलतिर जानुहुन्थ्यो। म पनि १६ वर्षको उमेरसम्म उहाँहरूकै पछि लागेर ठाउँठाउँमा चाकु बनाउन गएँ,” बुद्ध भन्छन्, “जब बुवाले आफ्नै घर बनाउनुभयो, तबदेखि घरबाटै चाकु बनाएर बेच्न थाल्यौँ। १० वर्षदेखि यो व्यवसायलाई कम्पनीको स्वरूप दिएको छु।”

बुवाको हात समातेर उनी बजारमा जान्थे। बुवा अनपढ भएकोले हिसाब गर्न छोरालाई हात समातेर लैजान्थे। पहिले चाकुको मुख्य बजार नै असन थियो। बच्चैदेखि चाकु बनाएको भएर उनलाई यही काममा रुची जाग्यो। बुद्धका अनुसार चाकु बनाउनको लागि लामो प्रक्रिया छैन। एक बोरा सख्खरमा एक जग पानी राखेर पकाउने हो। सख्खर राम्रो भयो भने राम्रो चाकु बन्छ। गुलियोपन आउँछ। सख्खर राम्रो भएन भने तितो हुने, नमिठो हुन्छ।

काठमाडौंका बजारमा पाइने अधिकांश चाकु भने टोखामा बन्ने गरेको छ। टोखा चाकुको लागि प्रख्यात छ।

पहिले यो ठाउँको नाम तुख्यः थियो, टोखा भनिँदैनथ्यो। नेपाल भाषामा तु भनेको उखु हो भने ख्यः भनेको खाली ठाउँ हो। बुद्धका अनुसार यहाँ पहिले धान नफल्ने भएकोले उखु बारी मात्रै थियो। त्यसैले यसको नाम तुख्यः रहन गएको थियो। तर पछि अपभ्रंश भएर टोखा हुन पुग्यो।

बुद्धका जिजु हजुरबादेखि बुवाको पालासम्म पनि उखु उत्पादन टोखा मै हुन्थ्यो। त्यतिबेला माग पनि कम थियो। टोखामा उत्पादन भएको उखुले नै माग धान्थ्यो। तर अहिले माग धेरै भएकोले उखु धेरै चाहिने भयो। उखु उत्पादन भने घट्दै गयो।

“पहिले खेत नै खेत थियो। तर अहिले ति सबै घरले भरिन थालेका छन्। उखु रोप्दा थोरै पैसा आउने र धान रोप्दा धेरै पैसा आउने भएकोले उखु रोप्नै छोडिदिएको अवस्था छ,” उनी भन्छन्, “घरमा दुईचार वटा खानको लागि मात्रै रोपेका छन्। बाध्यताबस हामीले बाहिरबाट सख्खर ल्याएर चाकु बनाउनुपरेको छ।”

बुद्धले नेपालकै नवलपरासीबाट सख्खर ल्याउने गरेका छन्। त्यहाँबाट ल्याएको सख्खर पुगेन भने भारतबाट ल्याउने गरेका छन्। त्यति गर्दा पनि माग अनुसार चाकु पुर्‍याउन नसकेको बताउँछन् उनी।

उनको दाइ र भाइले पनि चाकु बनाउने काम गर्छन्। तिनै जनाको कम्पनीमा लगभग ४० जना भन्दा बढी कामदार काम गर्छन्। जाडोको मौसम शुरु भएसँगै बिहान ६ बजेदेखि बेलुकी ८ बजेसम्म काम हुन्छ। गर्मीको मौसम लाग्न थालेपछि व्यवसाय सुस्ताउँछ।

बुद्धका अनुसार पहिले उनले चाकु विदेशतिर पनि पठाउने गरेका थिए। कोभिड अगाडिसम्म उनले बनाएका चाकु अमेरिका, अष्टे«लिया, जापान, कतार, चीन लगायत केही मुलुकमा निर्यात हुन्थे। तर कोभिड महामारी शुरु भएसँगै निर्यात ठप्प भएको उनले बताए।

नेवार समुदायमा चाकुलाई औषधिको रूपमा प्रयोग गर्ने चलन छ। चिसोबाट बच्न र शक्ति बढाउन चाकु खाने चलन छ। महिला सुत्केरी भएको बेला पनि स्पेशल अर्डर गरेर बुद्धलाई चाकु बनाउन लगाउँछन्। बुद्ध भन्छन्, “बजारमा थरीथरीका चाकु हुन्छ। तर बजारमा पाइने लस्सादार चाकु, गुलियोपन भएको चाकु राम्रो हुन्छ। ”

४ वर्षदेखि उनले मेसिनबाट पनि चाकु बनाउन थालेका छन्। काममा स्टाफको कमी हुन थालेपछि उनले मेसिनबारे १० वर्ष पहिले नै अनुसन्धान गरेका थिए। तर बजारमा चाकु बनाउने मेसिन पाएनन्। त्यतिबेला युट्युवको जमाना पनि थिएन। तर पछि जमाना फेरिँदै आयो। लामो अनुसन्धान पछि २०७४ सालमा उनले नेपाली इन्जिनियर र मेसिन बनाउने कामदारसँग मिलेर नयाँ मेसिन तयार पारेका छन्।

“अहिले मसँग दुई वटा चाकु बनाउने मेसिन छ। दुबैले पनि नभ्याएको अवस्थामा हातैले पनि चाकु बनाउन दुईवटा परम्परागत थाममा किला ठोकेर राखेको छु। त्यसमै बनाउँछु”, बुद्ध भन्छन्।

सबै तस्वीरः गोपेन राई


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved