प्रिय कथा

अम्बाको बोट

अम्बाको बोट

(रचनागर्भ– २०६४ सालमा म विराटनगर छोडेर काठमाडौं आएँ। त्यति बेला काठमाडौं स्कुल अफ ल, ठिमीमा मेरा श्रीमान एलएलएम पढ्दै हुनुहुन्थ्यो।

कलेज पायक पार्न हामी ठिमीमा नै बस्थ्यौँ। बज्रवाराही मन्दिरको अलिकति पूर्वपट्टि हाम्रो कोठा थियो। त्यसबेला त्यतातिर फाट्टफुट्ट मात्र घर थिए। धेरैजसो त एकतले। वरिपरि खेतैखेत।

हामी बसेको घरभन्दा अलिकति पर अहिलेको नयाँ पुल निस्किने भित्री बाटोको छेउमा एउटा एकतले घर थियो। घरमा रङ नलगाएकोले हेर्दै पुरानो, विस्याहारको जस्तो लाग्थ्यो। गेट बन्द र आधा घर छेकिने पर्खाल भएकोले कम्पाउण्डभित्र केके छ, त्यो त देखिँदैनथ्यो तर पर्खाल नाघेर अग्लो भएको एउटा अम्बाको बोटचाहिँ बाहिरबाटै देखिन्थ्यो।

त्यो घरको अर्कोपट्टि खाली चौर थियो। चौरमा केटाकेटी खेलेको देख्थेँ, कहिलेकाहीँ म हिँड्दा।

एकदिन म सामान किन्न ठिमी चोकतिर जाँदै थिएँ। त्यो घरबाट एउटा ६५-७० वर्षजतिको मान्छे बाहिर निस्केर गेटमा साँचो लगाउँदै थिए। भित्र अम्बाको बोटमा लटरम्म अम्बा फलेका थिए।

साँचो लगाइसकेर ती मान्छे मेरोविपरीत बाटो लागे।

चौरमा खेल्दै गरेका दुई जना नौ–दश वर्षका केटा उनलाई देखेर दौड्दै छेउमा आए र भने, ‘हजुरबा अम्बा दिनुस् न।’ उनी केही नबोली लुरुलुरु बाटो लागे। पाँच सेकेन्ड अर्थात् मैले बाटो काटुन्जेलको दृश्य थियो त्यो।

त्यसको केही दिनपछि फेरि म त्यही बाटो जाँदा देखेँ, त्यो अम्बाको बोट काटेर चौरतिर फ्याँकिएको रहेछ। केही केटाकेटी त्यही बोटमा खेलिरहेका थिए। सायद उनीहरू काँचा अम्बाका दाना खोज्दै थिए।

आम मानिसले देख्ने दृश्य यति नै थियो। तर एउटा कथाकारको आँखाले त्यो दृश्यमा केके देख्यो–देख्यो।

हुन त, न त म कहिल्यै ती मान्छेसँग बोलेकी थिएँ न त कसैलाई सोधेकी नै थिएँ, उनको या त्यो घरको बारेमा। उनको वास्तविक कथा के थियो मलाई केही थाहा थिएन। तर मैले त्यो अम्बाको बोट र ती मान्छेमा कति धेरै कुरा देखेँ। आफ्नै प्रकारको काल्पनिक कथा बनाएँ उनको बारेमा। अनि केही आफूले देखेका, केही सुनेका, केही अनुभूत गरेका खिच्रिङमिच्रिङ कुराहरू जोडजाड पार्दै थपिदिएँ र एउटा कथा लेखेँ। नाम दिएँ– ‘अम्बाको बोट।’

र, साँच्चिकै मार्मिक कथा छ– ‘अम्बाको बोट’। मलाई सबैभन्दा मन परेको विम्बचाहिँ अन्तिम लाइन हो। त्यहाँ बुढोले सन्तानप्रति वितृष्णा जागेर त्यो अम्बाको रुख काटेर मिल्काउँछ्न्। तर केही दिनपछि त्यो ठुटोमा थुप्रै मुजुरा पलाउँछ। सन्तानको माया पनि त्यस्तै हो, जति रिसाए पनि, त्यागे पनि फेरि मुटुको माझमा लुकेर बसेको हुन्छ र आफै निस्कन्छ– स्वतःस्फूर्त रूपमा भन्ने विम्ब बताउँछ त्यो मुजुराले।)

दशैँ पसिसकेको छ। अझ भनौं मज्जाले छिप्पिसकेको छ दशैँ। सबैका घरघरमा। आज महाअष्टमी। सबैतिर चहलपहल, रमाइलो देखिन्छ। अझ बढी त केटाकेटीहरूमा देखिन्छ। स्वतन्त्र र उमङ्गका साथ खेलिरहेका छन् बाहिर बाटो र चौरभरि। एक हुल केटाकेटी मेरै घरको गेट अगाडि चौरमा खेलिरहेका छन्। कसैको हातमा क्रिकेट व्याट र कसैको हातमा चङ्गा लट्टाई।

जति दशैँ छिप्पिँदै गएको छ, सँगसँगै मेरो मनमा पनि एकदम विचलन छिप्पिँदै गएको छ। हिजो सप्तमीदेखि त झन् मेरो मन विचलित छ। भोक, तिर्खा हराएको छ। यत्रो बडा दशैँमा आफ्नो चारैतिर शून्यता घोप्टिएको छ। कुनै प्रक्रियाद्वारा उमङ्ग र खुसी भित्रिएको पनि छैन। न त खुसी व्यक्त गर्ने कुनै माध्यम वा वस्तु र व्यक्ति नै छन्। घरिघरि त लाग्छ सुटुक्क कतैबाट एक अँगालो खुसी र उमङ्ग चोरेर ल्याउँ अनि आफ्नो घरभरि छताछुल्ल पोखिदिउँ।

उसले र मैले दूध पियौँ। बिस्कुट पनि दिएँ उसलाई। गिलास रित्तिएपछि म उठेँ। पछिपछि आयो ऊ पनि। जुत्ता लगाउँदै मैले उसलाई हेरेँ। ऊ टुलुटुलु मलाई नै हेरिरहेको थियो। मैले आँखैबाट भनेँ मुस्कुराउँदै, ‘बसिराख है म घुमेर आउँछु।’

ऊ प्रतिक्रियाविहीन भयो। किनभने उसलाई थाहा छ म सधैँ बाहिर घुम्न निस्कन्छु एक्लै। कहिल्यै उसलाई लान्न। त्यसैले पनि उसले कहिल्यै जिद्धि पनि गरेको छैन। सँगै जान्छु भनेर।

बाहिर निस्कनासाथ एक भँगालो केटाकेटीहरूले मलाई छोपिहाले ‘हजुरबा, अम्बा दिनुस् न …।’

‘कहाँ छ र अम्बा ?’ म टार्न खोज्छु।

‘बोटमा कति धेरै छन् त दिनुस् न ..।’ आग्रह गर्छन् उनीहरू।

‘पाकेको छैन ..।’ ढाँट्न खोज्छु म।

‘ऊ पाकेका छन् त कति धेरै ..।’ अत्तालिन्छन् उनीहरू हातले अम्बाको बोटतिर देखाउँदै।

‘दशैँलाई राखेको पो त।’ पन्छाउन खोज्छु म।

‘अनि दशैँ त आइसक्यो त ..।’ प्रमाणित गर्न खोज्छन्।

‘खसी त काटिसके ..। यी नयाँ लुगा त लाइसक्याँै हामीले।’

मेरो हातखुट्टा र मुख एकैचोटी चलिरहेको थियो। ऊ गेटसम्म आएको थियो मैले ‘जा गएर बस’ भनेँ एकचोटी। ऊ फनक्क फर्केर गयो। मैले गेटमा साँचो लगाएँ। नलगाउँ त केटाकेटिको त्यही भँगालोभित्र पसेर अम्बाको बोट लछारपछार पार्लान्। उनीहरू मलाई पच्छ्याउँदै अलि परसम्म आए ‘हजुरबा दशैँ आइसक्यो त दिनु न..।’

‘हजुरबा …।’

‘पख न, मेरो दशैँ आएकै छैन ..।’ म क्रमशः गतिशील भएँ।

आफ्नो प्रयास असफल भएपछि र अलिपर पुगेपछि खिन्न भएर उनीहरू फर्किए। सायद मलाई गाली पनि गरे होलान्। मप्रति आक्रोश पनि पोखे होलान्। तर म उनीहरू भन्दा निकै पर पुगिसकेको थिएँ।

बिहान म सधैँ निस्कन्छु बाहिर। गाउँदेखि माथि डाँडामा गणेश मन्दिर छ। गएर सधैँ शिर निहुराउँछु र छेउको चौतारीमा गएर नियाल्छु तलतिरको आफ्नो गाउँलाई।

सधैँ हेर्दा आनन्द लाग्ने आफ्नै गाउँ पनि आज मलाई बिझायो मेरा आँखामा। हिजोअस्ति यस्तो हुँदैनथ्यो। आज भयो। एउटै दृश्य पनि समय र मनस्थिति अनुसार हो कि, मान्छेभित्रको अवस्थाले हो, कहिले आल्हादित पार्दाेरहेछ भने कहिले बिझाउँदो रहेछ।
००

दस वर्षअघि म यस ठाउँमा आएको थिएँ। सहरको कोलाहलदेखि भागेर। सहरको संकुचन र खोक्रो आडम्बरदेखि निसास्सिएर। सहरमै घर थियो। वैभव थियो। शान थियो। मान थियो। मूल्यवान् थियो। तर साँघुरो थियो घर अनि कोठा पनि। चट्पटाउन नै नसकिने। तर सहरी सुविधाले गर्दा यी सबै कुरालाई पछारेको थियो। तर छोराहरू खेल्ने भएपछि माग गर्न थाले, ‘बाबा हामीलाई पनि क्रिकेट खेल्ने चौर किनिदिनु न…। हामी चाहिँ क्रिकेट कहाँ खेल्नु ..?’

निरुत्तर भएको थिएँ म। साथै ब्युँझेको पनि थियो मलाई उनीहरूको यस अपरिमित मागले। त्यसैले पनि म उत्साहित भएँ यहाँ आउन।

एकदिन सहरको कोलाहललाई सर्लक्क छोडेर यो फाँटमा लुसुक्क आएर उन्मुक्त भएको थिएँ म। अझ भनौँ हामी। बूढीले त त्यति स्वीकारेकी थिइन, सहरको वैभव छोडेर यो शून्यतामा रमाउन। तर खुसी थिए दुई छोराहरू। उनीहरू उन्मुक्त र स्वतन्त्र भएर भकुण्डो फ्याँक्न सक्थे। चङ्गा उडाउन पाउँथे। उनीहरूको त्यो खुसी आज पनि मेरो मस्तिष्कमा दृश्य भएर ऊर्जा दिइरहन्छ एकान्तमा।

सुरुमा त मेरा छोराहरू माटो र धूलोदेखि डराए। सहरमा गमलामा बाहेक माटो नदेखेका यहाँ जताततै माटो र धूलो मात्र देख्दा त बाहिर निस्कन पनि मानेनन्। तर मैले उनीहरूलाई माटो छुनुपर्छ, माटोसँग खेल्नुपर्छ र माटोलाई चिन्नुपर्छ भनेर सिकाएँ। भनौँ माटो चिनाएँ। बिस्तारै उनीहरू अभ्यस्त भएका थिए माटोसँग खेल्न। उनीहरू माटोमा खेलेर हिलै र धूसै्र भएर घर आउँदा एक किसिमको आनन्दानूभूति हुन्थ्यो मलाई। म त्यसैत्यसै पुलकित हुन्थेँ उनीहरूलाई देखेर।

म यहाँ आउँदा यो फाँटमा आठ–दस वटा घरमात्र थिए। अरू सबै हरियो फाँट। समय र मौसम अनुसारका बाली लाग्थे कहिँकहिँ। जताततै खाली चौर। बाटो पनि फराकिलो। बाटोमा खेल्दा पनि स्वतन्त्र त्रास र डर, भयमुक्त। सबैतिर माटैमाटो।

सधैँ हामी तीन बाबुछोरा बिहानको नित्यकर्मपछि प्रातः भ्रमणमा निस्कन्थ्यौँ। वरिपरिका मन्दिर घुम्थ्याँँै। मन्दिरको घण्टी ज्यादै मन पथ्र्याे उनीहरूलाई। हुन त मलाई पनि सबैभन्दा मन पर्ने वस्तु भगवानको टिका हो। भगवानको मूर्तिमा चढाइएको रातो टिका देख्दा सबै नै लगाउँ झँै लाग्दछ। अनि घण्टिको आवाज पनि सधैँ गुन्जिरहोस् जस्तो लाग्छ। अनि छोराहरू पनि त्यस्तै छन्। मन्दिर घुमेर हामी गाउँको फाँटदेखि माथिको डाँडामा गएर बस्थ्यौँ। जहाँबाट सबै फाँट देख्न सकिन्थ्यो। सबै घर गन्न सकिन्थ्यो। छोराहरू आ–आफ्ना साथीका घर चिनाउँथे। कहिलेकाहीँ डाँडाबाट तल फाँटमा भएका साथीहरूलाई पनि बोलाउँथे।

दशैँमा त झन् रमाइलो हुन्थ्यो। त्यहाँबाट नै सबैका घरघरमा खसी काट्दै गरेको देखिन्थ्यो। कसका घरमा के गर्दैछन् ? कसका घरमा रङ पोते, कसका घरमा चिउरा कुट्दैछन् ? कसका घरको धुरीबाट धुवाँ निस्कँदैछ त्यो सबै दृश्य डाँडैबाट देखिन्थ्यो। खाना पाकेपछि घरबाट उनीहरूकी आमाले बोलाएको पनि पो सुनिन्थ्यो। पछि यहि डाँडामा हामी सबै गाउँले मिलेर गणेश मन्दिरको स्थापना ग¥यौँ। बस्ने, दृश्यावलोकन गर्ने ठाउँ पनि बनाएपछि झन् रमाइलो भएको छ यो डाँडो।

दशैँमा चढाउन ल्याएको फलफूलमध्ये अम्बा खाँदा दानैदाना देख्दा कौतुहल पस्क्यो सानो छोराले सात वर्षको हुँदा।

‘बाबा यो अम्बामा किन दानैदाना भएको होला ?’

‘त्यस्तै हुन्छ।’ मैले सही जवाफ नै भेटिनँ।

‘कसले हालेको यो दाना ?’

‘भगवानले ..।’

‘अनि के हुन्छ यो दानाले ?’
‘अर्काे अम्बा फल्ने बोट उम्रन्छ।’

‘कसरी फल्छ अम्बा ?’

‘यो दाना माटोमा रोप्नु पर्छ। अनि सानासाना बिरुवा उम्रन्छन्। अनि त्यो बढ्दै जान्छ र ठूलो भएपछि अम्बा फल्छ। अनि पाक्छ अनि हामीले खानुपर्छ।’

‘अनि त्यसमा पनि यस्तै दाना हुन्छ हो ?’

‘हो।’

‘त्यसो भए यो दाना रोपूँ है त माटोमा ?’ खाइरहेको चानाबाट केही दाना निकाल्यो उसले।

हामी तीनै जना बाबा–छोरा मिलेर कोठेबारीमा लगेर अम्बाको दाना रोपेका थियौँ। केही दिनपछि नै उम्रेका थिए साना–साना बिरुवा।

दुवै उठ्ने बित्तिकै, स्कुलबाट फर्कने बित्तिकै अम्बाको बिरुवा हेर्थे। पालैपालो पानी हाल्थे। उनीहरूको मिल्ने साथीजस्तै भएको थियो। उनीहरूको सामिप्यता पाएर होला हलक्क बढेको थियो अम्बाको बोट पनि।

एक दिन फूल खेलेको देखेर उनीहरूले सोधेका थिए। ‘अब फल लाग्छ’ भनी मैले बताएको थिएँ। पछि फल लाग्यो। पहिलो चोटि नै लटरम्म फल्यो अम्बा पनि। उनीहरू दिनहुँ दाना छाम्थे, पाक्यो कि पाकेन भन्दै।

‘अम्बा दशैँ आएपछि मात्र पाक्छ’ मैले आश्वस्त पारेको थिएँ दिनहुँ चलाउनबाट बचाउन। त्यसपछि अम्बा छाम्न हैन दशैँ आउन कति दिन बाँकी छ त्यो समय गन्नतिर लाग्थे उनीहरू। ज्यादै उत्साह हुन्थ्यो दशैँ उनीहरूलाई। एकातिर दशैँको रमाइलो, नयाँ लुगा, मीठामीठा खानेकुरा, टिका, पैसा, मामाघर। अर्काेतिर आफ्नै बारीको बोटमा अम्बा पाक्ने क्या मज्जा।
कैयौं वर्ष यसरी नै रमाइलोको पर्खाइमा रमाउँथे उनीहरू। उनीहरूको रमाइलोको अपार सन्तुष्टि मिल्थ्यो हामीलाई।

हो, आज साँच्चै नै बिझाएको थियो मलाई सधैँ देखिरहने र खुब रमाइलो लाग्ने यही फाँट। आज खुब ध्यान गयो फाँटमा। ओ हो, त्यो हरियो फाँट खै ? चस्स दुख्यो। त्यो हरियो दृश्य र ठोक्कियो आँखा अगाडिको कंक्रिटको जङ्गल भएको स्क्रिनमा। समयको गति वा विकासको तिव्रता। दस वर्षअघिको जताततै देखिने सुन्दर फाँट आज कंक्रिटको जङ्गल भइसकेछ। रङ्गीविरङ्गी जङ्गल मानौँ उद्यान जस्तो तर सुगन्धविहीन। रसविहीन। स्वादविहीन। अनि सौन्दर्यविहीन।

औंलाका कापजस्तै जताततै बाटैबाटो। मानौँ कालो फित्ता टाँगेजस्तो। घरैघर। होहल्ला। गाडीको घाइँघाइँ र टाँ टिँ। सधैँ बसिरहेको आफ्नो घर ठम्याउन खोजँे। अहँ, जङ्गलभित्र कता लुकेछ कता ? देखिनँ पटक्कै। न त अम्बाको बोट नै ठम्याएँ। धेरै बेरको ठम्याइपछि मात्र पत्ता लाग्यो लक्षित दृश्य। अरू नवनीतको अगाडि रुपहीन, रङ्गहीन्, सौन्दर्यहीन। उदास विधवा आइमाईजस्तो लाग्यो आज आफ्नै घर पनि। पहिले यहीँबाट हेर्दा सबभन्दा तरुनो रुपवान्, आकर्षक लाग्थ्यो र सुनिन्थ्यो अरूको मुखबाट पनि। हाम्रो घर।

सायद मलाई नै पच्छ्याउँदै आएछ सहर पनि मसँगै। तर मैले पो फर्केर हेरेनछु कि ….?

दशैँको चहलपहल झन् बिझ्यो, आफ्नै घरको अनाकर्षक दृश्य। अमिलो मन बनाएर उठेँ र घरतिर लागेँ।

समयानुसारको नै शिक्षा दिलाएँ मैले छोराहरूलाई। सहरको आधुनिक शिक्षा पाएका छोराहरूले उच्च शिक्षाको लागि नेपाल रुचाएनन्। समसामयिक प्रभावबाट अछुतो रहेनन् उनीहरू पनि। नेपालको यस्तो शिक्षाले भोलि कसरी बाँच्ने भनेर लागे अमेरिकातिर। हामी आमाबाबु साँच्चिकै टुहुरा भयौँ। पारिवारिक विखण्डन सहन सकिन आमा चाहिँले। छोराहरूको न्यास्रोपनले मानसिकता नै खलबलियो। र, अन्त्यमा उसले पनि मलाई एक्लै छोडेर गई। पूर्णतः टुहुरो भएँ म।

दोहोरो संवाद कहिलेकाहीँ छोराहरूसँग टेलिफोनमा बाहेक घुम्न निस्केको बेला बाटोमा कसैसँग जम्काभेट हुँदा ‘सन्चै हो ?’ या ‘ठीकै छु’ भन्ने मात्र हुन्थ्यो। सहरी सभ्यतानुसार आवश्यक कामले बाहेक मेरो ढोका चिहाउँदैनथे छिमेकीहरू वा आफन्तले पनि। मलाई पनि कसैकहाँ काम विशेष बाहेक जान मन लाग्दैनथ्यो। त्यसैले पनि सन्चो–बिसन्चो र भोकतिर्खा सोध्ने–खोज्ने म मात्र थिएँ।

दोहोरो सास फेर्ने ऊ र म मात्र छौँ घरमा। तर ऊसँग संवाद नै छैन मात्र टुलुटुलु हेरिरहन्छ ऊ मेरो लाचार जीवनलाई। आँखाबाट मात्र हाम्रा संवाद हुन्थे हामीबिच। कहिलेकाहीँ मुखबाटै ध्वनित हुन्थ्यो मेरो ‘तँ र ममा के फरक छ थाहा छ तँलाई ?’ आफूसँग बोलेको देखेर ऊ भन्न सक्तिनको भावले हो वा थाहा छ को भावले हो ऊ पुलकित हुन्छ। आत्मीयता पस्कन्छ र झन् छेउमा आएर टाँसिन्छ। म भावविभोर भएर सुम्सुम्याउँदै भन्छु, ‘म शब्द पस्कन सक्छु तर तँ भाव मात्र सक्छस्। म स्वतन्त्र छु तर तँ मसँग आश्रित। अरू सबै त उस्तैउस्तै त हो नि।’
उसले धेरै बुझेझैं घुटुक्क पार्छ मुख।

‘जयन्ती मंगला काली …।’ दशैँभरिका लागि रिङटोनमा हालिएको मन्त्र बजाउँछ गोजीमा भएको मोवाइलले। स्वीच थिचेर कानमा राख्दै भनेँ, ‘कल्याण मस्तु…।’

‘बाबा…।’ ठूलो छोराको सम्बोधन आउँछ उताबाट। एक अँगालो आत्मीयता आएर घोप्टिएको अनुभूत हुन्छ मलाई ‘बाबा’ शब्दसँगै। सधैँ यसो हुँदैनथ्यो तर आज भयो। सायद आज म अलिक असामान्य अवस्थामा थिएँ र पो हो कि ?

म निरुत्तर भएको सुनेर फेरि दोहो¥यायो उसले, ‘बाबा, ठीकै छ हजुरलाई ?’

‘ठीकै छ बाबु ठीकै छ। मलाई कहिल्यै र के पो बेठीक हुन्छ र ?’

‘बाबा हामी दशैँको टिकाको दिनसम्ममा आइपुग्छौँ यसपाली। खुब राम्ररी दशैँ मान्नु पर्छ है बाबा ?’

उनीहरू आउने कुराले खुसीको तरङ्ग झन् बढी तरङ्गित भयो।

केही क्षणपछि कान्छाले पनि फोन ग¥यो र बतायो त्यही कुरा। सोध्यो, ‘बाबा हाम्रो अम्बाको बोटमा पनि थुपै्र अम्बाहरू फलेका छन् होला हैन ? यतिखेर त पाकेका पनि होलान् हगि बाबा ?’

‘पाकेका छन् बाबु पहेँलै भएर मगमग भएर पाकेका छन्।’ मैले भनेँ। उसले मुख मिठ्यायो मज्जासँग।

खुसीको वा पीडाको बीजको न त स्वरुप हुँदोरहेछ न त दृश्य नै। मात्र एक शब्दले पनि, एक वाक्यले पनि वा एक स्पर्शले मात्रै पनि सहि नसक्नुको खुसी वा सहि नसक्नुको पीडा थोपरिँदो रहेछ। पीडा वा खुसी कतैबाट उभाएर वा खोजेर ल्याउने पनि हैन रहेछ। वस्तुगत हुँदोरहेनछ। मात्र बोध रहेछ खुसी वा पीडा त।

छोराहरूको आगमनको सूचनाले मात्र पनि अपार खुसी बोध भयो मलाई। हिजो वा अघिसम्मको छोराहरूको दशैँमा आउने वा नआउने कुनै खबर नआएकोले ढाडिएर अमिलो भएर गह्रौं भएको मेरो मन त्यसैत्यसै हलुङ्गो र स्फूर्त भयो। मेरो अनुहारको हाउभाउ उसले पनि पढ्यो सायद ऊ पनि उत्साहित देखियो। म बाहिर निस्केर बरण्डा छेउको अम्बाको बोट नजिकै गएँ। अम्बा लटरम्म पहेँलपुर भएर पाकिरहेका थिए, आफ्नो उन्मत्त बैंसालु बासमा गम्किएर। छोराहरू सम्झिएँ र अम्बाको बोट र पाकेका दानाहरूलाई सुम्सुम्याएँ धेरैबेरसम्म।

चार दिनहरू ज्यादै उत्साहले बित्यो मेरो। टिकाको दिन अझ बढी उमङ्ग र उत्साहले भरिएको थियो। मलाई आफ्नै बाल्यकालको याद आयो। आजको खुसी देख्दा। यस्तै खुसी हुन्थेँ म दशैँको दिन। नयाँ लुगा, टिका, जमरा, पैसा, मामाघर। यी विषय अहिले नभए पनि मलाई त्यस्तै खुसी लागिरह्यो।

छोराहरू र आमा चाहिँका फोटाहरू एकै ठाउँमा राखेँ। टिकाको सामान अक्षता र जमरा ठीक पारेँ। ढोकामा कलस सिँगारेर राखेँ। उनीहरूको फ्लाइटको समय दस बजेको थियो। घडी हेरेँ नौ मात्र बजेको रहेछ। कति ढिलो कुदेको आज त घडीको सुई पनि। अझ भनौँ समय नै स्थिर भएजस्तो लाग्यो मलाई।

समय कटाउन मैले कम्प्युटर खोलेँ। भर्खर इमेल आएको रहेछ। जेठो छोराको। कहाँ आइपुग्यौँ भन्ने खबर पठाइएको होला फोन नलागेर। यस्तै सोचेँ। खुसीको सीमा रहेन। हतारहतार पढेँ।

‘सरी बाबा ! हामी यसपालीको दशैँमा नेपाल आउन सकेनौँ। किनभने आज नै म यहाँ क्याटरिनासँग विवाह गर्दैछु। आज बाह्र बजे चर्चमा मेरो बिहे हुँदैछ। क्रिस्चियनसँग बिहे गरेपछि म पनि क्रिस्चियन नै हुनुपर्छ रे यहाँको कानुनमा। म खुसी छु बाबा। ऊ पनि आफ्नो पहिलेको लोग्ने र दस वर्षको छोरो छोडेर मसँग बिहे गर्दैछे। मलाई ऊ एकदम माया गर्छे। ऊ धेरै असल छे बाबा। म हाम्रो बिहेको फोटो इमेल गरिदिन्छु फोटोमै भए पनि आशीर्वाद दिनु है बाबा। अँ, एक महिनापछि भाइले पनि गर्छ होला। ऊ पनि त गर्लफ्रेण्डसँगै बस्छ।’

‘दशैँ राम्ररी मनाउनु होला है बाबा। ल त ह्याप्पी दशैं ..।’

मलाई आफू बसेको धर्ती नै भासिएजस्तो लाग्यो। अँध्यारो छायो चारैतिर। म स्थिर बनेँ पूर्णतः। न त केही सोच्न सकेँ न त केही गर्न नै। के सोचेर खुसी भएको थिएँ तर के भयो। साँच्चै नै आफन्तविहीन र सम्बन्धविहीन लाग्यो आफूलाई।

टेबलमा राखेका टिकाको थाली र कम्प्युटरको स्क्रिनमा आँखा घुमिरहे। के औचित्य रह्यो र अब यसको मलाई ? छोराहरूलाई दशैँको ? अबदेखि उनीहरू क्रिस्चियन रे। उनीहरू अहिलेसम्म भौगोलिक दूरीबाट मात्र टाढा थिए तर बिस्तारै मेरो भावनात्मक सम्बन्धबाट पनि टाढा लाग्न थाल्यो। उनीहरूप्रति भएको सबै संवेदनाहरू क्रमशः ओइलाउँदै गए म भित्रबाट।

कम्प्युटर बन्द गरेँ। असह्य पीडा भयो मलाई। ऊ मेरो आवेगलाई अँध्यारो मुख पारेर हेरिरहेको थियो। मलाई खलखली पसिना आएजस्तो भयो। अनि बाहिर निस्केँ। बाटोमा टिका र जमरा लगाएका मान्छेहरूको चहलपहल बढेको रहेछ। मान्छे हिँडिरहेका। चौरमा केटाकेटीहरू खेल्दैछन्। रङ्गीविरङ्गी भएर। कोही टिकामा दक्षिणा पाएका पैसा गन्दैछन्।

एक झोका हावा आएर अम्बाको एक अँजुली बासना ठोक्कियो मेरो नाकमा। झसङ्ग भएँ म। हेरेँ, अम्बाको बोटतिर। पहेँलै पाकेका अम्बाले खिसी गरेजस्तै लाग्यो मलाई। वर्षौंदेखि छोराहरूजस्तै आत्मीय लाग्ने अम्बाको बोटप्रति त्यसैत्यसै वितृष्णा जागेर आयो। क्रमशः संवेदनाविहीन बन्दै गएँ म। यन्त्रवत चल्दै गए मेरा हातहरू ..।

प्रतिक्रियास्वरुप चुइँकिँदै थियो ऊ। तर उसको प्रतिक्रियाले मलाई रोक्न सकेन। अन्ततः ठुटो बनाएँ मैले अम्बाको बोटलाई र बाहिर बाटोतिर हुत्याइदिएँ। खेलिरहेका केटाकेटीहरू खुसी भएर उफ्रँदै हुरुरु आए र पाकेका अम्बाहरू धमाधम खान थाले। आजसम्म मैले एक दाना अम्बा पनि कुनै केटाकेटीलाई दिएको थिइनँ। आफ्नै मुटुका टुक्राहरू दिएजस्तै लाग्थ्यो मलाई। तर आज मैले उनीहरूलाई उनीहरूले मागेभन्दा पनि बढी सिङ्गै बोट नै दिएँ। उनीहरूले मीठो मानेर खाएको देख्दा अपार आनन्द लाग्यो। धेरैबेरसम्म हेरिरहेँ उनीहरू रमाएको।

ऊ यताउता गर्दै थियो। एक क्षणपछि उसले त्यही अम्बाको काटिएको ठुटोमाथि गएर खुट्टा उचालेर तुक्र्यायो। उसले मलाई साथ दिएको हो कि, आफ्नो जात जनाएको हो त्यो बुझ्न सकिनँ मैले।

खुला देखियो बगैँचा। रुखको सेपले सुख्खा भएको माटो। अम्बाको सेपले झार नउम्रेको माटो हेर्दै मनमनै सोचेँ, ‘यही माटो चिनाउन सहरबाट यहाँ ल्याएको थिएँ, आज सजिलै बिर्से उनीहरूले यही माटोलाई।’
००

केही दिनपछि देखेँ, काटिएको अम्बाको ठुटोबाट थुपै्र मुजुराहरू पलाएका थिए। अनायास मेरो चेतनाले अन्तरमन छाम्यो सुस्तरी …।

(कला– डीराम पाल्पाली)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved