कोरोना कहर : दिन दुई गुणा रात चौगुणाले बढ्दै संक्रमित

चीनबाहेक कुनै पनि देशमा स्वास्थ्यको मापदण्ड प्रभावकारी देखिएको छैन। चीनको अभ्यासले जनस्वास्थ्यका मापदण्डहरू पालना गराउन सरकार कडा हुनुपर्ने देखाउँछ।

कोरोना कहर : दिन दुई गुणा रात चौगुणाले बढ्दै संक्रमित

काठमाडौं। नेपालमा कोभिड १९ संक्रमण २४ पुसयता तीव्र गतिमा बढ्दो छ।

२४ पुसमा ५ प्रतिशतमा रहेको संक्रमण दर बढेर ३० पुसम्म आइपुग्दा २४ दशमलव ७ प्रतिशत पुगेको छ। माघको दोस्रो सातादेखि नेपालमा तेस्रो लहर आउने भनिएको थियो। तर, पुसको अन्तिम साताबाटै तेस्रो लहर शुरू भइसकेको जनस्वास्थविद्हरूको ठहर छ।

२९ पुसमा १५ हजार ८१ जनाको स्वाब परीक्षण गर्दा ३ हजार ५५३ जनामा संक्रमण पुष्टि भएको थियो। त्यस्तै, ३० पुसमा २० हजार ५६० जनाको स्वाब परीक्षण गर्दा ५ हजार ८७ जनामा संक्रमण देखियो।

यसरी, नेपालमा संक्रमतिको संख्या दिन दुईगुणा रात चौगुणाले बढिरहेको भिरोलोजिस्ट डा.रमेश आचार्यले बताए।

उनी भन्छन्, “समुदायसम्म ओमिक्रोन भुसमा लागेको आगो जसरी फैलिसकेको छ। तर संक्रमित बनेका धेरैले परीक्षण नै गराएकै छैनन्, त्यसकारण पनि संक्रमित संख्या यकिन रूपमा डाटामा देखिएका छैनन्, सरकारले भोलि नै ३० हजारको पिसीआर परीक्षण गर्यो भने १० देखि १५ हजारमा संक्रमण पुष्टि हुन सक्छ भने ५० हजारको गर्यो भने २५ देखि ३० हजारसम्म पनि देखिन सक्छन्।”

सरकारले पिसीआर परीक्षणको दायरा जति बढाउँदै जान्छ, उति नै संक्रमित संख्या बढ्दै जाने उनको भनाइ छ। “नेपालमा लगाइरहेको खोप संसारभर नै लगाइएको छ,” उनले भने, “ती खोप लगाएका ७० प्रतिशत व्यक्तिमा नै कोभिड संक्रमण पुष्टि भएकाले अहिले खोपमा नै प्रश्न उठिरहेको अवस्था छ।”

उनका अनुसार ओमिक्रोन भेरियन्टमा न त खोप नै प्रभावकारी बनेको छ। न त स्वास्थ्यका मापदण्ड नै, चीनबाहेक कुनै पनि देशमा स्वास्थ्यको मापदण्ड प्रभावकारी देखिएको छैन। चीनको अभ्यासले जनस्वास्थ्यका मापदण्डहरू पालना गराउन सरकार कडा हुनुपर्ने देखाउँछ।

माघ तेस्रो साता उच्च बिन्दू

नेपालमा माघको तेस्रो सातातिर तेस्रो लहर उच्च बिन्दुमा पुग्ने अनुमान गरिएको वीर अस्पतालका सहनिर्देशक डा प्रज्वल श्रेष्ठले बताए।‘‘ तेस्रो सातासम्म २ लाख ४५ हजारको हाराहारीमा संक्रमित थपिने अनुमान गरिएको छ, तीमध्ये १५ हजारलाई गम्भीर खालको निमोनिया हुने र बाँकीमा हल्कामात्रै लक्षण देखिने अनुमान छ,’’ उनले भने।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले पनि नेपालमा संक्रमित संख्या बढ्दै जाने बताए। उनी भन्छन्, “अस्पतालमा रुघाखोकी लागेर आउनेको संख्या उत्तिकै बढेको छ, त्यसकारण पनि संक्रमितको संख्या बढ्नु स्वाभाविक नै हो र यो संख्या अझै बढ्दै जान्छ।”

अन्य देशहरुलाई आधार मान्दा भने २÷३ सातामै नेपालमा संक्रमण उत्र्कषमा पुग्न सक्ने उनको भनाइ छ। “जुन बेला ग्राफमा संक्रमण चुचुरोमा पुगेर बिस्तारै झर्न थाल्छ त्यसलाई नै उत्कर्षमा पुगेको भनिन्छ,” उनले भने,“तर अहिले नै संक्रमित संख्या कति पुग्छ भनेर भन्न सकिदैन।” ३ हप्तासम्म संक्रमण तिव्र गतिमा बढ्दै जाने र त्यसपछि भने बिस्तारै घट्दै जाने उनको प्रक्षेपण छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved