बालुवाटार जग्गा प्रकरणका दोषीहरूलाई उम्काउने प्रपञ्चमा सरकार: उपमहासचिव ज्ञवाली

सरकारी वकिलको कार्यालयले अधिकारको दुरुपयोग गरेको उनको भनाई छ। सरकारी वकिलको कार्यालयबाट मुद्दा गरेर मुद्दालाई ढिसमिस पार्न लागिएकाले यसको विरुद्ध एमालेले सशक्त दबाब सिर्जना गर्ने उनले बताए।

नेपालभ्युज

बालुवाटार जग्गा प्रकरणका दोषीहरूलाई उम्काउने प्रपञ्चमा सरकार: उपमहासचिव ज्ञवाली
फाइल तस्वीर

काठमाडौं। नेकपा एमालेका उपमहासचिव प्रदीप कुमार ज्ञवालीले सरकारले ललिता निवासको सरकारी जग्गा किर्ते प्रकरणका दोषीहरूलाई उम्काउने प्रपञ्च गरेको आरोप लगाएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले सिआइबिले दुई वर्ष लगाएर गरेको अनुसन्धान सरकारी वकिलको कार्यालयले फिर्ता गरेर भ्रष्टाचारीहरूलाई ढाकछोप गर्न खोजेको बताए।

सरकारी वकिलको कार्यालयले अधिकारको दुरुपयोग गरेको उनको भनाई छ। सरकारी वकिलको कार्यालयबाट मुद्दा गरेर मुद्दालाई ढिसमिस पार्न लागिएकाले यसको विरुद्ध एमालेले सशक्त दबाब सिर्जना गर्ने उनले बताए।

उनले भने, ‘‘सिआइबिले २ वर्ष लगाएर असाध्यै मेहनतपूर्वक अध्ययन गर्‍यो। दोषीहरूको लिष्ट बनायो। तर, अस्ति अचानक सरकारी वकिलको एउटा निर्णयले दुई वर्षदेखि प्रहरीले गरेको सारा मेहनतलाई पानी खन्याउने काम भएको छ। सरकारी वकिललाई मुद्दा चलाउन पाउने कि नपाउने भनेर दिइएको अख्तियारी अथवा अधिकार भ्रष्टाचारलाई ढाक्नछोप गर्न, अपराधीलाई उम्किनको निम्ति लाइसेन्स होइन। यो ढङ्गले दुरुपयोग गर्न मिल्दैन। यति गम्भीर विषयमा वर्तमान सरकारले यति ठुलो सार्वजनिक सम्पत्तिको हिनामिनाको केसलाई गुपचुप पार्न खोजेको छ। त्यसलाई ढिसमिस पार्न खोजेको छ। दोषीहरूलाई उम्काउने प्रपञ्च हुँदै छ ।’’

उपमहासचिव ज्ञवालीले लिपुलेकमा भारतले सडक निर्माण गरिरहेको सम्बन्धमा सरकारले भारतीय पक्षसँग कुरा गर्नुपर्ने बताए। नेपालको भूभागमा भारतले बलमिचाइँ गरेको विषयमा सरकार बोल्नुपर्ने उनले बताए। देशको सीमाको विषयमा बोल्न नसके सरकारको वैधता समाप्त हुने पनि उनले उल्लेख गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved