प्रदेश २ राजधानी किचलो : जनकपुरधाम हुन नदिन रौतहटको होटलमा सांसदहरू भेला

वीरगञ्ज राजधानीका लागि सहमति जुटाउन समिति गठन

प्रदेश २ राजधानी किचलो : जनकपुरधाम हुन नदिन रौतहटको होटलमा सांसदहरू भेला

जनकपुरधाम। प्रदेश २ नाम र राजधानीबारे दलहरूबीच मतदानका लागि प्रदेशसभामा प्रस्ताव लैजाने सहमतिसँगै प्रदेशसभा बैठक आगामी २ माघमा बस्ने भएको छ। बैठकमा विभिन्न दलका प्रदेशसभा सदस्यबाट नाम र राजधानीका लागि आएका प्रस्ताव टेबल गर्ने र ३ माघमा मतदान गर्ने दलहरूबीच सहमति छ।

नाम र राजधानीमा सहमति जुटाउन प्रदेश सभाले सभामुख सरोजकुमार रायको संयोजकत्वमा गठन गरेको विशेष समितिले सहमति जुटाउन असफल भएको छ। सहमति जुट्न नसकेपछि दर्ता भएका सबै प्रस्तावहरू प्रदेश सभामा भोटिङका लागि प्रस्तुत हुने सचिवालयका सचिव रञ्जित कुमार यादवले बताए।

नाममा सहमति जुट्न नसके पनि जनकपुरधाम राजधानीको लागि दलहरूबीच लगभग सहमति हुने अवस्था देखिए पनि अहिले आएर जनकपुरधामलाई राजधानी हुन नदिने षडयन्त्र शुरु भएको छ।

यसअघि पनि नाम र राजधानीका लागि भएको मतदानमा दुवै फेल गराइएको थियो जबकि त्यतिबेला पनि राजधानीको विषयमा दलहरूबीच सहमति देखिएको थियो।

प्रदेश सभाको यसै अधिवेशनबाट नाम र राजधानी टुंगो लगाउने तयारी र छलफल चलिरहेकै बेला केही दिनदेखि वीरगन्जका सांसद र मन्त्रीसमेतको संलग्नतामा जनकपुरधामलाई राजधानी बन्न नदिने वीरगञ्जलाई राजधानी र ‘मधेश प्रदेश’को नयाँ खाका तयार भएको छ।

वीरगञ्जलाई राजधानी बनाउन बिहीबार रौतहटको चन्द्रपुर (चन्द्रनिगाहपुर) स्थित गौतम होटलमा एक भेला नै आयोजना गरिएको थियो। जसमा वीरगन्जलाई राजधानी बनाउने हो भने सभासदहरूले ‘मधेश प्रदेश’मा समर्थन जनाउने आन्तरिक तयारी गरिएको भएको खुलेको छ।

प्रदेश सरकारको सत्ता गठबन्धनमा समेत रहेका नेपाली कांग्रेसबाट खानेपानी तथा ऊर्जा विकास मन्त्री वीरगन्ज निवासी ओमप्रकाश शर्माको विषेश पहलमा आयोजना गरिएको चन्द्रपुरको भेलामा सहभागी सभासदहरूले पूर्वका सभासदहरूले ‘मधेश प्रदेश’मा सहमत नभएकाले राजधानी वीरगञ्ज र ‘मधेश प्रदेश’ पारित गर्नेमा सहमति जुटेको सहभागी मध्येको एक जना सभासदले जनाए।

मन्त्री शर्माले खुलेरै भने, “वीरगञ्जलाई राजधानी स्वीकारे ‘मधेश प्रदेश’ मा समर्थन रहनेछ , तर वीरगञ्ज राजधानी स्वीकार नगरिए ‘मध्य-मधेश’ प्रदेशमा समर्थन हुनेछ। मन्त्री शर्माले प्रदेशको नामकरण र स्थायी राजधानीमा मतदानका लागि पार्टीको ह्वीप नलाग्ने भएकाले कांग्रेसको आधिकारिक प्रस्तावविपरीत मतदान गरिने बताए।

प्रदेशको नाम ‘मिथिला–भोजपुरा’ र राजधानी जनकपुरधाम नेपाली कांग्रेसले प्रदेश सभामा आधिकारिक रुपमा दर्ता गराएको छ। तर सो पार्टीका सभासद राजेश्वर साहले वीरगञ्ज राजधानी र ‘मध्य-मधेश प्रदेश’ को प्रस्ताव दर्ता गराएका छन्। साहलाई मन्त्री शर्माको हरेक किसिमको साथ सहयोग र समर्थन प्राप्त रहेको बताइएको छ।

‘मधेश प्रदेश’लाई सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) र प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले अडान लिएका छन्। त्यसमा नेकपा (माओवादी केन्द्र)ले पनि पूर्ण समर्थन जनाएको छ।

तर नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रामसरोज यादव मधेश प्रदेशको नाममा शुरुदेखि नै विरोध जनाउँदै आएका छन्।

कांग्रेस सभासदहरूको सक्रियतामा भएको चन्द्रपुर भेलामा सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाका ३० जना सभासद सहभागी भएका थिए। भेलामा सबै दलका सभासदहरूको सहभागिता रहेको दाबी गरिएको छ।

प्रदेश सरकारमा भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवले वीरगञ्जलाई स्थायी राजधानी बनाउनभन्दा पनि राजनीतिक स्वार्थपूर्तिका लागि प्रस्ताव गरिएको बताए। उनले भने, “प्रदेश सभामा दर्ता भएको प्रस्तावबाहेक अन्य प्रस्तावलाई समावेश गर्न सकिँदैन।”

वीरगञ्जलाई राजधानी बनाउने प्रस्ताव जसपाको होइन। भेलामा सहभागी राज्यमन्त्री यादवले वीरगञ्जलाई राजधानीको प्रस्ताव राखेर प्रदेशको नामकरण र राजधानीको निर्णय लिन अवरोध गर्न लागिएको बताए।

“मधेश प्रदेश र जनकपुरधामलाई राजधानी बनाउन सर्वसहमतिबाट निर्णय गरौं”, उनले भने, “यस पटक नाम र राजधानी प्रदेशले पाउन नसके प्रदेश सभाका सदस्यहरू असफल मानिनेछन्।

दलहरूले इमानदारीपूर्वक प्रयास गरे प्रदेशको नाम र राजधानी दुवैको निर्णय हुन सक्ने नेकपा (एकीकृत समाजवादी) पार्टी संसदीय दलका नेतासमेत रहेका उद्योग, पर्यटन तथा वन मन्त्री सत्रुधन महतोले दलहरू लचिलो भए निर्णय सम्भव रहेको बताए।

चार जिल्लाको भेलाले वीरगञ्ज राजधानीका लागि सहमति जुटाउन समिति समेत गठन गरिएको छ। भेलामा वीरगञ्ज र जनकपुरधाममा सहमति नजुटेकाले सर्लाहीको नवलपुर–चन्द्रपुर(रौतहट)बीचको भू-भागमा राजधानी राख्नुपर्ने प्रस्ताव पनि आएको थियो।

प्रदेशको नाम र राजधानी सबैको अपनत्व महसुस हुनेगरी राख्नुपर्ने कांग्रेसका सभासद राजेश्वर प्रसाद साहले बताए।

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेश २ को राजधानी जनकपुरधाम राख्ने सवालमा वीरगन्ज क्षेत्रका केही सांसदहरू बाहेक सबै एकै ठाउँमा भएका बताए। साथै उनले प्रदेशको नाम र राजधानी ३ माघमा टुंगो लाग्ने जनाए।

मन्त्री साहले माघ २ गते बस्ने प्रदेशसभा बैठकमा प्रदेशको नाम र राजधानी सम्बन्धी प्रस्ताव प्रस्तुत हुने र माघ ३ गते मतदानद्वारा टुंगिने बताए।

“प्रदेशको नामकरण र राजधानीसम्बन्धी आएका प्रस्तावमाथि छलफल भइरहेको छ,” मन्त्री साहले भने, “प्रदेशको राजधानी जनकपुर नै हुनुपर्नेमा वीरगञ्जका केही प्रदेश सांसदबाहेक सबै सांसद एकै ठाउँमा छन्, नामको सन्दर्भमा पनि छलफल भइरहेको छ।”

प्रदेशसभा समयावधि सकिन थोरै मात्र समय बाँकी रहेकाले सबै दलका प्रदेशसभा सदस्यलाई प्रदेशको नाम र राजधानी टुंगो लगाउनुपर्ने नैतिक दबाब रहेकाले जसरी पनि प्रदेशको नाम र राजधानीको विषय टुंगिने उनले विश्वास व्यक्त गरे।

नाम र राजधानीको निर्णय हुन्छ : मुख्यमन्त्री राउत

प्रदेश नामकरण र राजधानीको निर्णय प्रदेश सभाबाट हुने मुख्यमन्त्री लालबाबु राउतले ठोकुवा गरेका छन्।

“प्रदेशको नाम र राजधानीको विषयमा सहमति नजिक पुगेका छौं”, उनले भने, “प्रदेश सभाबाट मधेश प्रदेश र जनकपुर धाम राजधानीको प्रस्ताव पारित हुनेछ। आ-आफ्ना भूगोलका लागि प्रस्ताव र छलफल गर्न भएको भेला हुनु अस्वाभाविक नभएको जनाउँदै राउतले भने, असन्तुष्टि व्यक्त गर्नु लाई अन्यथा लिनु हुँदैन।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved