नेपालभ्यूजको सम्पादकमा ढुङ्गेल

नेपालभ्युज

नेपालभ्यूजको सम्पादकमा ढुङ्गेल

काठमाडौं। डिजिटल मिडिया हाउसद्वारा सञ्चालित ‘नेपालभ्यूज डट कम’को सम्पादकमा माधव ढुङ्गेल नियुक्त भएका छन्।

नेपालभ्यूजका प्रधान सम्पादक राजाराम गौतमले आज (२९ पुस) ढुङ्गेललाई न्यूज रूममा स्वागत गरेका छन्। स्वागतका क्रममा गौतमले ढुङ्गेलको आगमनले सम्पादकीय टिम अझ सशक्त र बलियो हुने आशा व्यक्त गरे।

“चार महिनाअघि शुरु भएको नेपालभ्यूजले नेपाली अनलाइन पत्रकारितामा विशिष्ट पहिचान बनाउने उद्देश्य लिएको छ। यो यात्रामा ढुङ्गेलको भूमिका महत्त्वपूर्ण हुने विश्वास लिएको छु”, उनले भने, “कुनै पनि मिडियाको सफलताका लागि बलियो टिम स्पिरिट आवश्यक छ। नेपालभ्यूज टिम स्पिरिटका साथ अघि बढ्नेछ।”

सम्पादक ढुङ्गेलले पनि स्तरीय र खोजमूलक मिडिया सामग्री उत्पादन गर्न लागिपर्ने बताए। आफूले ‘टिम स्पिरिट’मै विश्वास गर्ने बताउँदै उनले भने, “यो अनलाइनमार्फत हामी व्यावसायिक पत्रकारितालाई अघि बढाउन टिम स्पिरिटमै अघि बढ्नेछौँ।”

ढुङ्गेल दुई दशकभन्दा लामो समयदेखि नेपाली पत्रकारितामा सक्रिय छन्। २०५१ सालमा जनआस्था साप्ताहिकबाट पत्रकारिता शुरु गरेका उनले कान्तिपुर पब्लिकेशन्सको ‘नेपाल साप्ताहिक’मा आठ वर्ष, नागरिक दैनिकमा पाँच वर्ष र अन्नपूर्ण पोस्ट दैनिकमा ६ वर्ष काम गरिसकेका छन्।

ढुङ्गेल यसअघि ‘ब्रेकएनलिंक्स’का सम्पादक रहेका थिए। उनले व्यवस्थापनमा स्नाकोत्तरसम्मको अध्ययन गरेका छन्।

डिजिटल हाउस प्रालिका प्रबन्धक आदित्य नारायणले पनि ढुङ्गेललाई बधाई ज्ञापन गर्दै स्वागत गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved