कोरोना खोप लगाउन मान्दैनन् चेपाङ

कोरोनाको तेस्रो लहर सुरु हुँदासमेत अल्पसङ्ख्यक समुदायका रुपमा रहेको चेपाङ समुदाय खोप लगाउन मान्दैनन्। जिल्लामा बसोबास गर्ने चेपाङ समुदायले खासै कोभिड खोपमा चासो नदिने गरेको पाइएको छ।

कोरोना खोप लगाउन मान्दैनन् चेपाङ

चितवन। कोरोनाको तेस्रो लहर सुरु हुँदासमेत अल्पसङ्ख्यक समुदायका रुपमा रहेको चेपाङ समुदाय खोप लगाउन मान्दैनन्। जिल्लामा बसोबास गर्ने चेपाङ समुदायले खासै कोभिड खोपमा चासो नदिने गरेको पाइएको छ। जिल्लाका सात पालिकामध्ये छ पालिकामा चेपाङ समुदायको बसोबास छ।

जिल्लाको इच्छाकामना गाउँपालिका तथा कालिका, राप्ती, खैरहनी, माडी नगरपालिका र भरतपुर महानगरपालिकामा चेपाङको बसोबास रहेको छ। यी पालिकामा विसं २०६८ सालको जनगणनाअनुसार २८ हजार ९८९ चेपाङको बसोबास रहेको छ। त्यसमध्ये अहिलेसम्म छ हजार ३२७ अर्थात् २१ दशमलव ८२ प्रतिशत चेपाङले कोरोनाविरुद्धको खोप लगाएका छन्। जिल्लामा रहेका सात पालिकामध्ये राप्तीमा दुई हजार ७०० चेपाङले खोप लगाएका छन्।

राप्ती नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपानेका अनुसार वडा नम्बर १०, ११, १२ र १३ मा चेपाङ समुदायको बाहुल्यता छ। ती वडामा ९० प्रतिशत चेपाङ समुदायको बसोबास रहेको र ती वडामा १८ वर्षमाथिका मात्र आठ हजारले खोप लगाउनुपर्ने हो। चेपाङ समुदायमा सानो उमेरमा नै विवाह गर्ने परिपाटिका कारण खोप लगाउनेको सङ्ख्या कम भएको हुनसक्ने उहाँको भनाइ छ। अठार वर्षमुनिका बालबालिकालाई खोप लगाउँदा कस्तो परिणाम आउँछ त्यसमा भर पर्ने उनले बताए।

उनले भने “यस समुदायमा सानो उमेरमा नै विवाह गर्ने प्रचलन छ, १८ वर्षमुनिकालाई खोप लगाउने क्रममा कस्तो सहभागिता रहन्छ हेरौँ।”
कालिका नगरपालिकामा तीन हजार ८९ चेपाङ समुदायले खोप लगाएका छन्। यस पालिकाको वडा नम्बर ९, १० र ११ मा चेपाङ समुदायको बसोबास छ। यहाँ पहाडी क्षेत्र र खोप केन्द्रभन्दा टाढा बसोबास भएका केन्द्रसम्म आउनसमेत नखोजेको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारीले जानकारी दिए। भण्डारीका अनुसार स्थानीय तहमा रहेका चेपाङ समुदायले खोप किन आवश्यक पर्छ भन्नेजस्ता कुराहरू गर्ने गरेका छन्। उनले भने “पहाडी क्षेत्रमा बसोबास गर्नेले कहीँ जानु छैन भन्दै खोप लगाउन नमान्ने गरेका छन्।”

यस्तै इच्छाकामना गाउँपालिकाको सबैजसो वडामा चेपाङ समुदायको बसोबास रहेको छ। विशेष गरी वडा नम्बर १, २ र ६ मा चेपाङ समुदायको बसोबास छ। ती बसोबास रहेको क्षेत्रबाट दुई हजार ३५० ले कोरोनाको खोप लगाएका छन्। यस पालिकामा १८ हजारभन्दा बढीले खोप लगाएको स्वास्थ्य शाखा प्रमुख वासुदेव सापकोटाले जानकारी दिए। सापकोटाका अनुसार उमेरअनुसार खोप लगाउने क्रममा अब सो सङ्ख्या बढ्ने छ। चेपाङ समुदायको बस्ती विकटमा हुने र त्यस क्षेत्रबाट खोप केन्द्रसम्म आउनसमेत नखोज्ने गरेका कारण सङ्ख्या कम भएको हो।

यस्तै खैरहनी नगरपालिकामा ३५० ले कोरोनाविरुद्धको खोप लगाएका छन्। पालिकाका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीका अनुसार यस पालिकामा रहेका ८५ प्रतिशतले खोप लगाएकामा सो सङ्ख्यामा चेपाङ समुदाय रहेको बताए। यस पालिकामा खासै नगन्य सङ्ख्यामा मात्रै यस समुदायका बासिन्दाको बसोबास रहेको उहाँले जानकारी दिए।

भरतपुर महानगरपालिकाको वडा नम्बर २९ मा बसोबास गर्ने ती समुदायका व्यक्तिमध्ये १७४ ले कोरोनाविरुद्धको खोप लगाएका छन्। सो वडामा रहेका रातोमाटे, चिप्लेटी र किपट क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदाय खोपमा सहभागी हुन नसकेको महानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ। टोलटोलमा शिविर सञ्चालन गर्दासमेत उनीहरु सहभागी नभएको सकेको कार्यालयले जनाएको छ। महाशाखा प्रमुख दीपक सुवेदीका अनुसार महानगर क्षेत्रमा चेपाङको सङ्ख्या ठुलो छैन। उनीहरूको बसोबास रहेको वडा नम्बर २९ को पहाडी क्षेत्र हो।

माडी नगरपालिका वडा नम्बर ८ र ९ मा चेपाङ समुदायको बसोबास रहेको छ। नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख भोजराज खनालका अनुसार माडीमा १३० चेपाङ समुदायका व्यक्तिले खोप लगाएका छन्। छरिएर रहेको यस समुदायमा सूचनाको अभाव वा बेवास्ता गरेका कारण खोप लगाउन आउनेको सङ्ख्या कम भएको हो। उनले भने, “चेपाङको बसोबास बढी सङ्ख्यामा बाँदरझुला क्षेत्रमा रहेको र आउ जाउमा कठिनाइ भएका कारण यस खोपबाट वञ्चित भएका हुन सक्छन्।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved