बेइजिङ डायरी

यो त साँच्चै ओलम्पिक रेल पो रहेछ

बेइजिङले सन् २००८ मा २९ औँ गृष्मकालीन ओलम्पिक आयोजना गरेको थियो। आगामी ४ फेब्रुअरीदेखि २० तारिखसम्म बेइजिङ र च्याङच्याखौमा हिउँदे ओलम्पिक खेलकूद आयोजना हुँदैछ। गृष्मकालीन र हिउँदे दुवै ओलम्पिकको आयोजक बन्ने विश्वको पहिलो शहर बेइजिङ बनेको छ।

यो त साँच्चै ओलम्पिक रेल पो रहेछ

६ जनवरी अर्थात् २२ पुस बिहीबार बेइजिङमा ‘ओलम्पिक रेल’को थालनी भएको छ। यो रेलको उद्घाटन समारोहमा सहभागी हुन पाउँदा यो स्तम्भकारले देखेका र भोगेका कुराहरु यस आलेखमा राख्दैछु।

ओलम्पिक रेलको उद्घाटनमा सहभागी हुनका लागि अघिल्लै दिन पीसीआर परीक्षण गर्न भनिएको थियो। चिनियाँ मिडिया ग्रुपको नेपाली सेवाबाट चिनियाँ सहकर्मीहरु प्रतिभा र ललितासँगै सहभागी हुँदा उत्ति कौतूहलता थिएन, जति सहभागी भएर फर्किएपछि कौतूहल जागेको छ।

यसपटकको हिउँदे ओलम्पिक चीनको राजधानी बेइजिङ र नजिककै प्रान्त हपेइको च्याङच्याखौ दुई शहरमा संयुक्त रुपमा आयोजना हुँदैछ। च्याङच्याखौ बेइजिङदेखि उत्तरपश्चिममा पर्छ। यी दुई शहर जोड्ने उच्च गतिको रेलमार्ग दुई वर्ष अगाडि नै शुरु भएको हो।

दुवै शहरमा ओलम्पिक खेल हुने भएकाले बेइजिङका खेलाडीलाई च्याङच्याखौ लाने र च्याङच्याखौका खेलाडीलाई बेइजिङ ओसार्ने काम गर्ने भएकाले यो रेललाई ‘ओलम्पिक रेल’ भनिएको मैले ठानेको थिएँ। अझ यो रुटमा चीनले चालकबिना नै उच्च गतिको रेल सञ्चालनमा ल्याएकाले विश्वको ध्यान तानेको थियो।

‘ओलम्पिक रेल’को उद्घाटन भनिएकाले मैले अनुमान लगाइसकेको थिएँ – हामी चढेपछि रेल सुलुलु गुड्नेछ, निर्दिष्ट लक्ष्यमा पुग्नेछ र ओर्लिएपछि ओलम्पिक खेलकूद स्थलको अवलोकन गरेपछि फर्कने। बस् यत्ति त हो।

कार्यक्रमको बारेमा पाएको अल्प जानकारी र पूर्वअनुमानले धारणा बनिहाल्नु नराम्रो पनि होइन। बाटोमा भएको ट्राफिक जामका कारण हामी निर्दिष्ट समयभन्दा केही ढिलो बेइजिङको छिङह रेल स्टेसनमा पुग्यौँ। यो स्टेसन दुई वर्ष अगाडि निर्माण सम्पन्न भएको हो, जहाँबाट च्याङच्याखौ जोड्ने उच्चगतिको रेल गुड्ने  गर्छ। यो स्टेसन र बेइजिङ च्याङच्याखौ उच्चगतिको रेलमार्ग चीनले नितान्त ओलम्पिक खेलदूक आयोजनाका लागि निर्माण गरेको हो।

हामी रेलभित्र पस्दा २०० को हाराहारीमा पत्रकारहरु बसेका थिए। ‘ओलम्पिक रेल’को उद्घाटन भएकाले सो दिन रेलमा रहेका सबै यात्रीहरु पत्रकार रहेछन्। साथमा ओलम्पिक खेलकूद आयोजनाका केही अधिकारीहरु थिए।

हामी चढ्नासाथ रेल गुडेन। पत्रकारहरु कोही अन्तर्वार्ता लिन थाले, कोही प्रत्यक्ष प्रसारण गर्न। फोटो खिच्ने र जानकारी लिनेहरुको भीड रेलका हरेक डिब्बामा उत्तिकै थियो।

रेलमा चढ्नुभन्दा अगाडि नै यसको रङले मलाई थोरै रोचक बनाएको थियो। चीनका अत्याधुनिक उच्च गतिका रेलहरुमा यो भिन्न रङको अर्थात् निलो रङको थियो। निलो रङको रेललाई विभिन्न बुट्टाहरुले गर्दा थप आकर्षक देखिन्थ्यो।

अन्य रेलका डिब्बामा भन्दा त्यहाँ निकै फरक कक्षहरु मैले देखेँ। हरेक डिब्बामा ठूला ठूला टेलिभिजन स्क्रिनहरु जडान गरिएका थिए। नेपालमा एफएम रेडियो तथा टेलिभिजनका नियन्त्रण कक्षजस्ता साना साना कोठाहरु थिए।

ती कोठाका बारेमा मैले ललिताजीलाई सोधेँ। उहाँले भन्नुभयो – रेडियो तथा टेलिभिजन प्रसारणका नियन्त्रण कक्षहरु।

अरे!मैले जेसँग मिल्दाजुल्दा ठानेको थिएँ, जवाफ पनि त्यस्तै पाउँदा थप रनभुल्लमा परेँ।

अर्को एउटा डिब्बामा पुगियो। त्यहाँ आरामदायी कुर्सीलाई आमेसामने बनाएर राखिएको थियो। ती कुर्सीका बीचमा फराकिला टेबुल थियो। झट्ट हेर्दा ती डाइनिङ टेबुल जस्ता थिए। त्यहाँ पुगेपछि ललिताजीले मलाई भन्नुभयो – यी डाइनिङ टेबुल हुन्। यहाँ खाना खाएर आराम गर्ने काम हुन्छ।

बेइजिङको छिङह रेल स्टेसनदेखि च्याङच्याखौको चोङली स्टेसनबीचको दूरी १७४ किलोमिटर छ। प्रतिघण्टा ३५० किलोमिटरको गतिमा गुड्ने रेललाई यो दूरी छिचोल्न आधा घण्टा मात्र लाग्नुपर्ने हो। बीचमा आउने स्टेसनहरुमा रेल रोक्नु पर्ने भएकाले यो दूरी छिचोल्नलाई रेललाई लगभग ५० मिनेट लाग्ने गर्छ।

पचास मिनेटको यात्रा गर्ने यात्रीका लागि डाइनिङ टेबुल र आराम कक्ष!फेरि रेलमा त जे खाए पनि आफू बसेको सिटमै खाइन्छ। म झन् झन् कुहिराको काग बन्दै रहेँ।

हामी रेलमा चढेको लगभग आधा घण्टापछि ‘ओलम्पिक रेल’ गुड्यो। बेइजिङको उत्तर पश्चिम हानिएको रेल बेइजिङ र हपेइ प्रान्तका बीचमा रहेका अग्ला पहाडलाई छेडेर बनाएको सुरुङ मार्गमा प्रवेश गर्ने जानकारी दिइयो।

हामीले रेलबाटै फेसबुकमा प्रत्यक्ष प्रसारण गर्ने कार्ययोजना बनाएका थियौँ। मैले ललिताजीलाई भने ‘रेल सुरुङ मार्गमा पस्नुभन्दा अगाडि अथवा सुरुङ मार्गबाट निस्किएपछि मात्र फेसबुकमा प्रत्यक्ष प्रसारण गरौँ, नत्र सुरुङ मार्गमा इन्टरनेट टुट्छ।’

‘केही चिन्ता गर्नुपर्दैन यो रेलमा पूरै फाइभजी इन्टरनेट जडान छ।’ ललिताजीले हाँस्तै भन्नुभयो ‘हामी सितिमिति रेलमा होइन नि आचार्य जी! यो त ओलम्पिक रेल हो!’

फोरजी भने पनि फाइभजी भने पनि आखिर इन्टरनेटको सिङ्ग्नल त चाहियो नि। यत्रा पहाडमुनि केको इन्टरनेट। म मनमनै भुतभुताएँ।

ललिताजीले फेसुबकमा प्रत्यक्ष प्रसारण थालिहाल्नुभयो। हामी यात्राभर बोल्दै गयौँ। सुरुङ मार्गमा पनि इन्टरनेट कटेन। ए कहिले काहीँ त यस्तो पनि हुँदोरहेछ भनेर मैले ताज्जुब मानेँ।

बीचमा पर्ने दुई ओटा स्टेसनमा बीस बीस मिनेटका दरले रेल रोकियो। हामी सबै बाहिर निस्कियौँ। कोही फोटो खिच्ने कोही भिडियो खिच्ने काममा व्यस्त देखिन्थे। केही दिन अगाडि परेको हिउँ खोल्साखोल्सी र च्यापचुपतिर कक्रिरहेको थियो। वातावरण निकै चिसो थियो।

आफूलाई चाहिँ अघिल्लो दिनदेखि घाँटी दुख्न शुरु भएकाले ती दुई स्टेसनको अवलोकनले त्यो दुखाइलाई मलजल गर्ने काम मात्र गर्‍यो। अरु पत्रकारहरु जति रमाइरहेका थिए, त्यति रमाउन सकिरहेको थिइँन म।

जब अन्तिम स्टेसनमा पुगेर हामी अघिल्ला स्टेसनमा जस्तै बाहिर निस्कियौँ यताउता अवलोकन गर्‍यौँ र बीस मिनेटपछि रेलमा फर्कियौँ तब रेल बेइजिङ फर्कियो। ओलम्पिक खेलकूद आयोजना हुने क्षेत्रको पनि अवलोकन गर्ने होला भनेर मैले सोचेको थिएँ।

फर्कँदै गर्दा मैले फेरि ललिताजीलाई सोधेँ ‘ओलम्पिक खेलकूद क्षेत्रको पनि अवलोकन गर्ने होला भन्ने थियो। हामी त रेल चढ्न मात्र पो आएका हौँ?’

ललिताजीले  भन्नुभयो ‘तपाईंले निमन्त्रणापत्र पढ्नु भएन? त्यहाँ स्पष्टसँग लेखिएको छ त ‘ओलम्पिक रेल’को अवलोकन गर्ने भनेर। यो विश्वकै पहिलो ‘ओलम्पिक रेल’ हो बुझ्नुभयो?’

‘ओलम्पिक रेल’? हैन के हो यो भनेको?

तब ललिताजीले हाँस्दै भन्नुभयो ‘अवलोकन सकिन लाग्यो तपाईंले यतिखेर सोद्धै हुनुहुन्छ?’

मलाई ललिताजीको जवाफले लज्जाबोध पनि गरायो। त्यसपछि त्यहाँका कुर्सीदेखि भित्ताका सूचनाहरु सबैको जानकारी लिएपछि पो थाहा पाएँ ओलम्पिक रेल भनेको के हो? अब यो रेलका बारेमा छोटकरीमा जानकारी गराउँछु।

चीनले ६ जनवरीमा शुरु गरेको विश्वकै पहिलो ‘ओलम्पिक रेल’ हो यो। यो रेल सामान्य यात्रीका लागि होइन। यसमा विशेष गरी पत्रकार र ओलम्पिक खेलाडीहरु तथा ओलम्पिक खेलकूद व्यवस्थापनका अधिकारीहरु यात्रा गर्न सक्छन्।

रेल अत्याधुनिक हुनुका साथै फाइभजी इन्टरनेट जडान भएकाले तीव्र गतिको इन्टरनेट सेवा उपलब्ध हुने रहेछ। रेलका भिन्न भिन्न डिब्बामा राखिएका टेलिभिजन स्क्रिनले ओलम्पिक खेलकूदका फरक फरक प्रतिस्पर्धालाई प्रत्यक्ष प्रसारण गरिरहँदा रहेछन्।

हिउँमा चिप्लेटी खेल्ने खेलाडिका जुत्ता, पोशाक, डन्डी आदि सामग्री राख्ने छुट्टै खण्डको व्यवस्था छ। विभिन्न टेलिभिजनहरुले प्रत्यक्ष प्रसारण यही रेलबाट गर्नेछन्। रेडियो तथा टेलिभिजनको प्रत्यक्ष प्रसारणका नियन्त्रण कक्षहरु छुट्टाछुट्टै बनाइएका छन्। टेलिभिनजका क्यामरा र स्टिल क्यमरा बोक्ने पत्रकारका लागि छुट्टै कक्षको व्यवस्था छ।

रेल बेइजिङबाट च्याङच्याखौ जाने आउने गरिरहन्छ। पत्रकार रेलमै बसेर प्रत्यक्ष प्रसारण गर्ने, रिपोर्ट बनाउने, फोटो डेभलप गर्ने सबै काम रेलभित्रै गर्न सक्छन्। रेलभित्र रहेको स्टुडियोबाट प्रत्यक्ष प्रसारण गर्ने मात्र होइन विश्वको आफ्नै मिडियामा भिडिओहरु पठाउनका लागि अल्ट्रा हाइ डेफिनिसनको फाइभजी इन्टरनेटको सुविधाले सञ्चार जगतलाई चीनले राम्ररी बुझेर सहज बनाएको छ।

ओलम्पिकको सम्झना कोसेली, पोष्टकार्ड, अथवा फोटोलाई रेलभित्रै राखिएको हुलाक बक्समा खसालेपछि विश्वको जुनसुकै कुनामा पुर्‍याउने व्यवस्था पनि छ। ओलम्पिकका लोगो अंकित विभिन्न उपहारहरु रेलभित्र किन्न पाइन्छ।

पत्रकाहरुले खाना खाएपछि आराम गर्ने छुट्टै कक्ष पनि प्रयोग गर्न सक्छन्। रेल जाने आउने गरिरहन्छ। रेलभित्र बसेको पत्रकारले आफ्नो काम सकेपछि ओर्लिएर घर जान पाउँछ।

ओलम्पिक त विभिन्न शहरमा भएकै छन्। विभिन्न टेलिभिजन च्यानलबाट प्रत्यक्ष प्रसारण पनि भएकै छन्। उनीहरुलाई ओलम्पिक रेल चाहिएन। चीनलाई चाहिँ किन चाहियो?

बेइजिङले सन् २००८ मा २९ औँ गृष्मकालीन ओलम्पिक आयोजना गरेको थियो। आगामी ४ फेब्रुअरीदेखि २० तारिखसम्म बेइजिङ र च्याङच्याखौमा हिउँदे ओलम्पिक खेलकूद आयोजना हुँदैछ। गृष्मकालीन र हिउँदे दुवै ओलम्पिकको आयोजक बन्ने विश्वको पहिलो शहर बेइजिङ बनेको छ।

दुई शहरमा खेलकूद आयोजना भएकाले पत्रकारहरु कहिले यता र कहिले उता गरिरहनुपर्ने हुन्छ। हिउँदको समय त्यसमाथि हिउँ परेको याम पक्कै सहज हुँदैन यात्रा। चाँडै पुग्नुपर्ने पनि छँदैछ। पत्रकारका लागि मात्र होइन खेलाडीका लागि पनि यही अवस्था छ। यस्तो अवस्थालाई मध्यनजर गरी चीनले ओलम्पिक रेल सञ्चालनमा ल्याएको हो।

रेलभित्र नै स्टुडियोको सबै सुबिधा पनि हुने, खेलाडी तथा प्रशिक्षकको तुरुन्तै अन्तर्वार्ता पनि गर्न सकिने, अन्य विज्ञ अथवा खेल विश्लेषकको व्याख्या पनि त्यहीँ उपलब्ध हुने, रेलभित्र न्यानो पनि हुने, फराकिलो शौचालय, चेन्जिङ कक्ष लगायतका सबै सुविधा भएपछि पत्रकारले रङ्गशालाको चिसो खानुपर्ने अवस्था पनि भएन।

यो रेलले एकपटकमा ५६४ जना यात्रीलाई बोक्न सक्छ। कार्वन उत्सर्जन तथा विद्युतीय खपतका दृष्टिले यो अत्यन्त वातावरण मैत्री पनि छ।

सबै जानकारी लिन नपाउँदै हामी चढेको रेल बेइजिङ फर्किसकेको थियो। रेलबाट बाहिर निस्किएपछि पो मलाई अनुभूति भयो, यो त साँच्चै ओलम्पिक रेल पो रहेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved