सहज छैन कप्तानको रूपमा सन्दीपको ‘सेकेण्ड इनिङ’

तर राष्ट्रिय टिमको कप्तानको जिम्मेवारीका रूपमा रहेको उनको करिअरको दोस्रो इनिङ भने त्यति सहज हुने दैखिँदैन।

सहज छैन कप्तानको रूपमा सन्दीपको ‘सेकेण्ड इनिङ’

काठमाडौं। नेपालका सर्वाधिक चर्चित क्रिकेट खेलाडी सन्दीप लामिछाने हाल अष्ट्रेलियामा छन्। उनी लगातार चौथो वर्ष अष्ट्रेलियाको प्रख्यात ‘फ्रेन्चाइज क्रिकेट लिग’ बिग ब्यास खेलिरहेका छन्।

होबर्ट हरिक्यान्सबाट बिग ब्यास खेलिरहेका उनले अष्ट्रेलियामा हुँदा नै नेपालको राष्ट्रिय टिमको कप्तानको जिम्मेवारी पाए। नेपालमा चलिरहेको नेपाल क्रिकेट संघ (क्यान) र खेलाडीहरू बीचको विवादले उनलाई व्यक्तिगत रूपमा फाइदै पुग्यो।

अनुशासनको कारण देखाउँदै क्यानले अनुभवी कप्तान ज्ञानेन्द्र मल्ललाई कारबाहीस्वरूप कप्तानको पदबाट हटायो भने नयाँ कप्तानको रूपमा सन्दीपलाई छान्यो। खेलाडीको रूपमा करिअरको उनको पहिलो इनिङ त निकै सफल रहयो। क्रिकेटमा मात्र होइन नेपाली खेलकुदमै अन्तर्राष्ट्रियस्तरमा उनी जतिको ख्याति कमाउने खेलाडी अरू छैनन्।

तर राष्ट्रिय टिमको कप्तानको जिम्मेवारीका रूपमा रहेको उनको करिअरको दोस्रो इनिङ भने त्यति सहज हुने दैखिँदैन।

जसका कारणहरू निम्न छन्

कप्तानीको शुरुआतमै ‘बिग टुर्नामेन्ट’

कप्तानको रूपमा सन्दिपको परिक्षण नै नेपालको लागि निकै महत्वपूर्ण रहेको आसन्न टी-ट्वान्टी विश्व कपको छनोट प्रतियोगिताबाट हुँदैछ। करिब एक महिनापछि हुने विश्व कपको छनोटमा नेपालले टेष्ट मान्यता प्राप्त राष्ट्र आयरल्याण्डसँगै बलिया एसोसियट राष्ट्र क्यानडा, ओमान र युएई लगायतको सामना गर्दैछ।

यी राष्ट्रसँगको खेलबाट उनले कप्तानी करियरको सुरुआत गर्नेछन्। नेपाललाई विश्व कपसम्म पुराउन मात्र होइन, सन्दिपले आफूलाई कप्तान बनाउनु गलत निर्णय नभएको साबित गर्न पनि पहिलो गाँसमा ढुंगा भेट्नु हुँदैन।

क्रिकेटमा एउटा प्रचलित सिद्धान्त छ, ‘टी-ट्वान्टी फर्म्याट क्रिकेटको एउटा यस्तो फर्म्याट हो जसमा कप्तानी र फिल्डिङको कमजोरिलाई लुकाएर लुकाउन सकिदैन।’

यसलाई यसरी बुझौं

टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले मान्यता दिएको सबै भन्दा छोटो फर्म्याट हो। फर्म्याट जती छोटो भयो कप्तानको लागि त्यती ठूलो परिक्षा हुने गर्दछ। विशेषगरि खेलमा कप्तानको भुमिका भनेको नै बलिङ गर्दा कुन बलरलाई कुन समयमा प्रयोग गर्ने र (फिल्ड सेटिङ) फिल्डरलाई कहाँ—कहाँ राख्ने भन्ने नै हो।

यो कुरामा कप्तानको निर्णय नै सर्वोपरि हुन्छ भने यसले नै खेलको हार-जितमा प्रमुख भुमिका खेल्छ। यी दुई कुरामा कप्तानले गर्ने एक गलत निर्णयले खेल नै हातबाट फुत्कन सक्छ। जहाँ गल्तीको कुनै गुञ्जायस छैन।

लामो फर्म्याटको खेलमा कप्तानले गलत निर्णय गरे पनि खेलमा फर्कने समय रहन्छ। तर टी-ट्वान्टीमा खेलमा फर्कने कुनै समय नै हुँदैन। त्यसैले टी-ट्वान्टी फर्म्याट कप्तानीको हिसाबले सबै भन्दा गाह्रो फर्म्याट हो। जसमा कप्तानको कमजोरी सजिलै उजागर हुन्छ।

कम उमेरमा राष्ट्रिय टिमको जिम्मेवारी

सन्दिपले २१ वर्षको उमेरमा नै राष्ट्रिय टिमका कप्तानको जिम्मेवारी पाए। नेपालको राष्ट्रिय टिमबाट उनले खेल्न थालेको तीन वर्ष मात्र भयो। सन् २०१८ मा पहिलो पटक राष्ट्रिय टिमबाट डेब्यू गरेका उनले सानो उमेरमा नै ठूलो महत्वको काम पाए।

जब कि उनी भन्दा धेरै सिनियर खेलाडीहरू नेपाली टिममा छन्। धेरैले कप्तानको रूपमा ज्ञानेन्द्र मल्ललाई नहटाउन हटाइसकेपछि नयाँ कप्तानको रूपमा शरद भेष्वाकरलाई जिम्मेवारी दिनुपर्ने धारण राखेका थिए।

शरदले घरेलु क्रिकेटमा सर्वाधिक उपाधि जित्ने सफल कप्तान हुन्। उनीसँग सन्दीपभन्दा धेरै अनुभवी र पाका खेलाडी पनि हुन्। तर क्यानले दीर्घकालीन योजनाका रूपमा युवा खेलाडीलाई कप्तान बनाउने सोच बनायो। जसका लागि सर्वाधिक ‘फ्रेन्चाइज लिग’ खेलेको अनुभवका आधारमा सन्दीपलाई छान्यो।

अब सन्दीपसामु चुनौती भनेको नै आफूभन्दा सिनिअर धेरै खेलाडीलाई आफ्नो अण्डरमा राखेर कप्तानी गर्नुपर्नेमा हुनेछ।

उनको युवा उमेरको काँध राष्ट्रिय टिमको भारी बोक्न सक्ने बलियो भइसकेको सायद छैन कि ?

हुन त नेपाली क्रिकेटका सर्वाधिक सफल कप्तान पारस खड्का पनि २१ वर्षको उमेरमा नै देशको कप्तान बनेका थिए। जसलाई उनले राम्रोसँग पुरा गरे। पारसको कप्तानी रहेको नेपाली क्रिकेटको युगलाई सर्वाधिक सफल युग मानिन्छ।

पारसलाई नै आफ्नो आदर्श पुरष मान्ने उनले अब पारस कै इतिहास दोहोराउन सक्ने तागत राख्नुपर्छ। उनीसँग जुनियर टिमको कप्तानी गरेको अनुभव भने छ। सन् २०१६ मा उनले एसिया कपको लागि यू-१९ टिमको कप्तानी गरेका थिए। त्यसैगरि अर्को वर्षको यू-१९ विश्व कपको छनोटमा पनि उनी कप्तान नै थिए।

यसै वर्ष एभरेष्ट प्रिमियर लिगमा काठमाडौं किंग्स ११ को पनि कप्तानी उनले गरेका थिए। तर घरेलु लिगमा उनको कप्तानीले खासै रंग छर्न सकेको थिएन।

संकटको बेलाको जिम्मेवारी

प्रमुख प्रशिक्षक पुबुदु दासानायके आएर मध्यस्तकर्ताको भुमिका निभाएपछि तत्कालको लागि क्यान र खेलाडीबीच विवाद टुंगियो। तर यो विवादले नेपाली राष्ट्रिय टिममा रहेका खेलाडीमा नै विभाजन रहेको स्पष्ट पारेको छ।

ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाएर सन्दीपलाई कप्तान बनाएपछि राष्ट्रिय टिम नै दुई खेमा बाँडिएको थियो। अब राम्रो प्रदर्शनका लागि टिमलाई एक ढिक्का भएर अघि बढाउनुपर्ने अर्को चुनौती पनि उनमा थपिएको छ।

क्यानको कारबाहीविरुद्ध राष्ट्रिय टिम परित्यागसम्मका निर्णयमा केही खेलाडीहरू पुगेका थिए। यस्तो अवस्थामा आफूहरूबीच रहेका इगोलाई हटाउनुपर्ने हुन्छ ताकि कप्तानलाई सबै नयाँ तथा अनुभवी खेलाडीको साथ मिलोस्।

तर उनी बिग ब्यासका लागि अष्ट्रेलियामा छन्। कप्तान भएर पनि सबैभन्दा अन्तिममा मात्र टिममा जोडिँदै छन्। कप्तानीको दबाबले व्यक्तिगत प्रदर्शनमा नै असर पर्न सक्ने। खेलाडीका रूपमा सन्दीपले राष्ट्रिय टिम र विभिन्न लिगमा क्लबहरूबाट पनि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।

नेपाली क्रिकेटमा विवाद र संकटको बादल छाएको बेला कप्तान बनेपछि उनले टिममा सबैका लागि ढोका खुला रहेको प्रतिक्रिया दिएका थिए, “टिमको रूपमा हाम्रो योजना सामान्य नै रहनेछ, जुन विश्व क्रिकेटको मानचित्रमा नेपाललाई प्रभावकारी रूपमा प्रस्तुत गर्नु हो। यसका लागि, हामीले एक परिवार, एक टिम र एक ढिक्का भएर खेल्नुपर्छ। हामीले गर्नुपर्ने धेरै कामहरू छन् र सँगै मिलेर काम गर्‍यौं भने हामी सबै कुरा हासिल गर्न सक्छौं।”

कप्तान भएपछि बन्द प्रशिक्षणदेखि नै प्रशिक्षकसँगै कप्तानले टिमको नेतृत्व गर्नुपर्ने हो। आसन्न प्रतियोगताको तयारीका लागि शुरुदेखि नै योजना र रणनीति बनाएर अघि बढ्न टिमलाई कप्तानले नै लिड गर्नुपर्ने हो।

तर उनी बिग ब्यासका लागि अष्ट्रेलियामा छन्। कप्तान भएर पनि सबैभन्दा अन्तिममा मात्र टिममा जोडिँदै छन्। कप्तानीको दबाबले व्यक्तिगत प्रदर्शनमा नै असर पर्न सक्ने। खेलाडीका रूपमा सन्दीपले राष्ट्रिय टिम र विभिन्न लिगमा क्लबहरूबाट पनि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।

तर विश्व क्रिकेटमा यस्ता धेरै उदाहरण छन् कि कप्तानीको प्रेसरले धेरै राम्रा खेलाडीको व्यक्तिगत प्रदर्शन नै खस्किएको छ। फेरि अन्तर्राष्ट्रिय क्रिकेटमा बलरलाई कप्तान बनाउने चलन विरलै रहेको पाइन्छ। त्यसमा पनि निकै कम अवसरमा मात्र स्पिन बलर कप्तान बनएको रेकर्ड छ।

प्रमुख बलरलाई कप्तान नबनाउनुको कारण के हो भने ब्याटर भन्दा बलर चोटग्रस्त हुने सम्भावना धेरै हुन्छ। यदि चोटका कारण कप्तान नै नियमित टिम बाहिर बस्नुपर्‍यो भने टिमको प्रदर्शनमा असर पर्छ।

उदाहरणका लागि, भर्खरै अष्ट्रेलियाले टेष्ट क्रिकेट टिमको कप्तानको रूपमा फाष्ट बलर प्याट कमिन्सलाई कप्तान बनायो। तर चोटका कारण उनले दोस्रो खेल नै गुमाउन पुग्दा पूर्वकप्तान स्टिभ स्मिथलाई नै पुनः कप्तान बनाउनुपरेको थियो।

त्यस्तै बलर कप्तान भएपछि आफैंले आफैलाई कुन ओभरमा प्रयोग गर्ने भन्ने अर्को समस्या पनि रहन्छ। जसमा आफैलाई ओभरइष्टमेट वा अण्डरइष्टमेट गर्ने सम्भावना बढी रहन्छ। यसमा खेलाडीको अनुभवले नै बढी काम गर्छ।

कप्तानको रूपमा सन्दीपको ‘प्लस प्वाइन्ट’

यी चुनौतीका बाबजुद कप्तानका रूपमा सन्दीप सफल हुन सक्ने केही आधारहरू पनि छन्। उनी नेपालका एक मात्र त्यस्ता खेलाडी हुन् जोसँग हालका विश्वका अधिकांश स्टार खेलाडीहरूसँग वा विरुद्ध खेल खेलेको अनुभव छ।

कोभिडअघिका एक समयमा उनी विश्वका सबैभन्दा बढी ‘फ्रेन्चाइज लिग’ खेल्ने खेलाडीमा पर्थे। त्यसैले विश्वप्रसिद्ध खेलाडीहरूसँग ‘ड्रेसिङ रुम सेयर’ गरेको अनुभव उनीसँग छ। जसले उनको कप्तानीमा आत्मविश्वास बढाउन मद्दत गर्न सक्छ।

उनीसँग ग्लेन म्याक्सवेल, केरन पोलार्ड, शाहिद अफ्रिदीलगायत विश्व क्रिकेटका ठूला कप्तानको अण्डरमा खेलेको अनुभव पनि छ। साथै आईपीएल, बिग ब्यासजस्ता ठूला लिगमा खेल्दा विपक्षी टोलीबाट विराट कोहली, महिन्द्र सिंह धोनी, रोहित शर्मा, केन विलिम्सनलगायत धुरन्धर कप्तानले गरेको कप्तानी पनि उनले मैदानबाट नै पढ्ने मौका पाएका छन्। यो अनुभव बटुल्ने मौका धेरै थौरै खेलाडीलाई मात्र मिल्ने गर्छ।

त्यसैले यी सब अनुभवले उनलाई नेपालको राष्ट्रिय टिमको नेतृत्वमा सफल बनाउन महत्वपूर्ण कडी साबित हुन सक्छ। उता केही जानकारहरू यसो पनि भन्छन् कि क्रिकेटको कप्तानी भनेको ९० प्रतिशत भाग्य र १० प्रतिशत मात्र कप्तानको क्षमतामा भर पर्छ।

के थाहा सन्दीप नै नेपाली क्रकेटका लागि अबका भाग्यमानी कप्तान पनि सावित हुन सक्छन् कि ? जसले दोस्रो पटक नेपाललाई विश्व कपमा छनोट गराउन सकोस्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved