देवता घर आए अनि मन्दिर जाने बाटो खुल्यो

टोलकै महिलाहरू भने झ्यालबाट चिहाएर पुरुषहरूका गन्थन सुनिरहेका थिए। ‘कसले चोर्‍यो होला नि….’, ‘भगवान् चोर्नेको कहिल्यै भलो हुँदैन..’ भन्दै सराप्दै थिए।

देवता घर आए अनि मन्दिर जाने बाटो खुल्यो

काठमाडौं। ‘भगवान्लाई नि चोर्ने कस्ता पापी होलान्…’

२०३४ सालको एक बिहान, उनको मनमा झ्वाट्ट यस्तै विचार आयो।

बिहान सबेरै टोलमा हल्ला भयो – ‘करुणामयको मूर्ति हरायो’, ‘मूर्ति चोरी भो …।’ मानिसहरु कराउँदै गल्लीमा ओहोरदोहोर गरिरहेथे।

शुरुमा उनलाई विश्वास नै लागेन। पछि श्रीमान् र छोराहरु मन्दिर पुगेर आए।

“उनीहरुले मूर्ति साँच्चिकै ठाउँमा छैन भनेपछि मेरो मनमा लाग्यो, भगवान्लाई नि चोर्ने कस्ता पापी होलान्…”, ८९ वर्षीय राधिका श्रेष्ठले २५ पुसको बिहान ४४ वर्ष अगाडिको क्षण सम्झिइन्। यी चार दशकमा देशले त कोल्टे फेर्यो‍ उनको उमेरको क्यालेन्डरको के कुरा ! तैपनि बिर्सेकी छैनन् रे देवता बस्ने मन्दिरबाट देवताकै मूर्ति हराएको त्यो घटना।
“बिहान पूजा गर्न जान फूल अक्षता तयार पार्दैथेँ, मूर्ति चोर्‍यो भनेर हल्ला पो शुरु भो,” श्रेष्ठ सम्झिन्छिन्, “अनि त छिनभरमै गल्लीमा चिनेका नचिनेका मानिसहरु आउन थाले।”

गल्लीमा निस्कने अधिकांश पुरुष थिए। टोलकै महिलाहरू भने झ्यालबाट चिहाएर पुरुषहरूका गन्थन सुनिरहेका थिए। ‘कसले चोर्यो होला नि….’, ‘भगवान् चोर्नेको कहिल्यै भलो हुँदैन..’ भन्दै सराप्दै थिए। दिनहुँ पूजा गर्ने मूर्ति नक्सालको शंकर कीर्ति महाबिहारबाट चोरिएको थाहा पाएपछि श्रेष्ठलाई मूर्ति हराएको ठाउँ हेर्न जान मन थियो। तर त्यतिबेला छोरी र बुहारी जति बेला मन लाग्यो त्यतिबेला निस्कन पाउँदैनथे।

पहिले राणाको समयमा बाहिर छोरी बुहारी निस्कन पाउँदैनथे। ओढ्ने नओढिकन बाहिर आउन हुँदैनथ्यो। चाडबाडमा बाहेक अरुबेला हिँड्न हुन्थेन। पञ्चायतको बेलामा पनि त्यही सिलसिला दोहोरियो।
उनी भन्छिन्, “बिहानको ३\४ बजे पानी ल्याइसक्नुपर्ने थियो। अहिलेजस्तो चलन थिएन।”

त्यतिबेला उनी काखमा साइलो छोरा बोकेर ओढ्ने ओढेर महाबिहारमा उनी पुगेकी थिइन्। त्यो महाबिहारबाट मात्रै थुप्रै देउताका मूर्ति हराएको उनी सुनाउँछिन्।

“शुरुमा महाबिहार बाहिरका गणेश, नारायणको मूर्ति हरायो, अनि गजुर हरायो,” उनी भन्छिन्, “त्यसपछि पद्यपाणी लोकेश्वर (करुणामय)को भगवान हरायो। यहाँको त धेरै चोरेर लगिसक्यो।”

पहिले उनको घरबाट महाबिहार पुग्ने बाटो सिधै थियो। पहिले दिनहुँ पूजा गर्न जान्थिन् उनी। तर देउता नै हराएपछि उनी पूजा गर्न आउनै छाडिन्।

४४ वर्षपछि फेरी उनको मन्दिर जाने बाटो खुलेको छ। हराएको पद्यपाणी लोकेश्वर(करुणामय)को मूर्ति २५ पुसमा छाउनीको राष्ट्रिय कला संग्रहालयबाट गुरुजुको पल्टनसहित बाजागाजाका साथ नेपाली सेनाले उपलब्ध गराएको बग्गीमा सवार गरी नक्सालको शंकर कीर्ति बिहारमा धुमधामले भित्राएपछि उनी दंग छिन्।
“मान्ने देउता नै नभएपछि आउनै मन लागेन,” उनी भन्छिन्, “अब देउता आउनुभयो, सँधै भगवान भेट्न आउनपर्छ।”

महाबिहारमा मूर्ति पुनस्र्थापना गरेको हेर्न कालो पुलका ७२ वर्षीय भाइरत्न स्थापित पनि महाबिहारमा पुगेका थिए। उक्त मूर्तिसँग स्थापित समुदायको पनि सम्बन्ध गाँसिएको छ।

काठमाडौंको नागबहालमा ढुंगाको साढेँ कराएको आभास भएपछि उनको समुदायले २४ घण्टा काठमाडौंका मठमन्दिरमा दिपंकर पूजा गर्दै हिँड्नुपर्छ। काठमाडौंको लगनबाट पूजा गर्दै घुम्दा नक्सालको यो महाबिहार पुगेर पद्यपाणी लोकेश्वर (करुणामय)को मूर्तिलाई पनि पूजा गर्नुपर्छ। २०२० सालमा उनको समूदायले यो दिपंकर पूजा गर्नुपरेको थियो।

त्यतिबेला दिपंकर पूजा गर्न हिँड्दा १४ वर्षका थिए स्थापित। त्यतिबेला नै उनले पहिलोपटक उक्त पद्यपाणी लोकेश्वर(करुणामय)को मूतिको दर्शन गर्न पाएका थिए। २०३४ सालमा मूर्ति हराएको सुनेपछि उनी बिहानै महाबिहार पुगेका थिए।


“मूर्ति राखेको ठाउँ खाली देख्दा दुःख लाग्यो,” उनी भन्छन्, “त्यसपछिको दिपंकर पूजामा बिहार आउँदा त्यही मूर्तिको झल्को आउँथ्यो।”

उनको टोलबाट २०६२ र २०६८ सालमा उनको टोलबाट दिपंकर पूजा गर्नुपर्ने भएको थियो। त्यतिबेला आउँदा पनि हराएको मूर्तिको ठाउँ खाली थियो। अहिले मूर्ति फेला परेको खबर छोरानातिले सुनाएपछि उनी खुशी हुँदै बग्गीयात्रामा सहभागी हुन आइपुगेका हुन्। उनी भन्छन्, “मूर्ति भेटियो खुशी छु। अब हराउन दिनहुन्न।”

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved