व्यक्तिवृत्त

ललितकला नर्सरीका उम्दा माली

कलासाधक मुल्मीले कोरोना-व्यथालाई आफ्नै शैलीको रङ दिए। कोरोनालाई विषयवस्तु बनाएर उनले क्यानभासमा रङ्गाएका दुई थान कलामा पछिल्लो विश्व-जगत र मानवीय संवेदन-तन्त्रको समग्र रेखा उतारिएका छन्।

ललितकला नर्सरीका उम्दा माली

सतही रूपले हेर्दा, चन्द्रमानसिंह मास्के वा तेजबहादुर चित्रकार-जमानाका ‘आर्टिस्ट’झैं लाग्छन्, प्रा. राधेश्याम मुल्मी। काठमाडौं, रानीबारीस्थित उनको आर्ट-स्टुडियोमा प्रवेश गर्नेबित्तिकै भित्तामा गणेशका तीन-चार थान चित्रमा सोझै आँखा पुग्छ।

ती कलाले नेपाली चित्रकलाको जग बसाल्ने पूर्ववर्ती कलासाधकहरूको अनुस्मरण गराउँछ। अर्थात्, देवीदेवताका चित्र वा मूर्ति बनाउने कलाकारहरू झैं। होइन त्यस्तो। ललितकलाका शिष्यहरूका हेराइमा सरल र मृदुभाषी ‘मुल्मी सर’ द्वारा सिर्जित गणेशका चित्रहरूमा डुब्ने हो भने गहिरो जीवनबोध फेला पार्न सकिन्छन्, सहजै।

मिथक-संसारमा गणेशबारे अनेक कथा-उपकथा छन्। जस्तै, मुसालाई उनको बाहन मानिन्छ। मुल्मीले गणेश-शृंखलाका केही चित्रमा मुसै-मुसा बटुलेर ‘गणेश’ बनाएका छन्। अर्कोमा चाहिँ वाद्यवादनहरूबाट मात्रै सिर्जित ‘गणेश’। गणेश-शृंखलाका कला देखेर पारखीहरूले आँखा नगाडेका होइनन् र किन्नसमेत इच्छुक थिए। तर, घरको माथिल्लो तलाको एउटा पूरै कोठामा आत्मीयतापूर्वक सजाइएका ती पेन्टिङहरू बेचिनबाट जोगिएका छन्, आजपर्यन्त।

समसामयिकतालाई पछ्याउँदै

२०३५ सालयता ललितकलाका शिष्यहरूलाई अविच्छिन्न ज्ञान र सीप बाँड्दै आएका मुल्मी कलामा समसामयिकताबोधलाई प्रखर रूपमा उभ्याउन पछि हटेनन्, कहिल्यै। सन् २०१९ लाग्दानलाग्दै विश्वभरका मानव जातिलाई अत्याउने गरी फैलिएको महाव्याधी कोरोनाको कहर टुङ्गिसकेको छैन अझै। लाखौंले मृत्यु वरण गरिसके। बितेको दुई वर्षमा कोरोनाले विश्वलाई यति नमज्जाले बिथोल्यो कि, बाँचेको पुस्ता त्यसको त्रासदी र भयावहतालाई झेल्न बाध्य छन्। जीवनको यस मार्मिक साक्ष्यको रचना गर्ने विरल प्रयत्न गरे, उनले।

कलासाधक मुल्मीले कोरोना-व्यथालाई आफ्नै शैलीको रङ दिए। कोरोनालाई विषयवस्तु बनाएर उनले क्यानभासमा रङ्गाएका दुई थान कलामा पछिल्लो विश्व-जगत र मानवीय संवेदन-तन्त्रको समग्र रेखा उतारिएका छन्। त्रासदले सिँगारिएको त्यो रेखामा दक्षिण एसियाको जनपंक्ति उभिएका पनि हुन सक्छन् र चीन, अमेरिका, सिङ्गो युरोप र दक्षिण अफ्रिकाका नागरिक अनुहार पनि। कुनै पनि कलासर्जकले कलामा विचार वा भाव उतार्नु अत्यन्तै कठिनप्रद कर्म हो। मुल्मीका सिर्जना भने कुनै सरल साहित्य पढे झैं सजिलै बुझ्न सकिन्छन्।

उनको एउटा सिर्जना बडो व्यंग्यचेतले भरिपूर्ण छ, जसले कलात्मक अनुभूतिको अनुपम मार्ग पछ्याएको छ, जसलाई बुझ्न कुनै कठिनाइ झेल्नु पर्दैन। एक जना मानिस, जो बाँदरसँग हात मिलाउन तम्सिन्छन्। बाँदर भने पूरै सचेत। हात मिलाउन होइन, नमस्कार गर्नमा अग्रसर हुन्छ बाँदर। अझ, त्यो बाँदरले मास्क लगाएको छ भने मान्छेचाहिँ मास्कप्रति पूरै बेखबर। महाव्याधीप्रति बढ्दो बेवास्ता र लापरबाहीबारे कति राम्रो कला-चेतना। त्यस्तै, कोरोनारूपी बाढीले असङ्ख्य मानिसलाई बगाइरहेको हृदयस्पर्शी अर्को कला पनि उनले पछिल्लो समय सिर्जे। अर्थात्, समसामयिकताबोध उनका सिर्जनाहरूमा टड्कारो रूपले अभिव्यक्त भएका देखिन्छन्।

पोखरादेखि नै साधनारत

यी साधकको कला-साधनाको बिउ जन्मथलो पोखरामै रोपियो। विक्रमाब्द २००६ को अन्त्यतिर रामकृष्ण टोलमा जन्मिएका उनी नवीन स्कुलमा कक्षा २ मा अध्ययनरत रहँदै चित्रकलाप्रति आकर्षित भइसकेका थिए। त्यो समय अधिकांशको रोजाइमा पर्दथ्यो, ‘बसमार चुरोट’। त्यही चुरोटको खोलमा काका देवीमान मुल्मीले कोरेका चित्रहरू हेर्दै उनले पनि चुरोटकै खोलमा चित्र कोर्ने नक्कल गर्न थाले। अरूले पनि उनको कलालाई मन पराउन थाले, बिस्तारै। आफ्नो कलालाई शुभेच्छुकहरूले ‘भाउ’ दिएकोमा उनी झनै उत्साहित भए र डुब्न थाले, चित्रकारितामा झनझनै।

अलिअलि पारिवारिक वातावरण त रह्यो नै, पोखराको सामाजिक, सांस्कृतिक र प्राकृतिक दृश्यावलीहरूले पनि चित्रकारितातिर डोर्‍याउन अनन्त भूमिका खेले। नवीन स्कुलमा अध्ययनरत रहेकै बेला एक जना शिक्षकले उनलाई आर्टतिर प्रेरित गरे। एक पटक त स्कुलभरिमै उत्कृष्ट पनि भए।

नवीनपछि बाराही हाई स्कुलमा अध्ययन गर्न पुगेका उनलाई एक दिन हेडमास्टरले भने, ‘तिमी एउटा राम्रो आर्ट बनाऊ, राजालाई चढाउनु पर्छ।’ त्यो समय राजा महेन्द्र पोखराको रत्न मन्दिरमा बसेका रहेछन्। हेड सरले भनेसँगै उनले राजा महेन्द्रको पोट्रेट बनाए र अञ्चलाधीशमार्फत् राजासामु ‘चढाइयो’।

उनी स्कुलमै थिए। केही दिनपछि अञ्चलाधीश स्कुलमै आए र उनलाई भने, ‘ए, राधेश्याम, तिम्लाई राजाले बक्सिस दिइबक्सेको छ।’ अञ्चलाधीशले उनको हातमा ५० रूपियाँ राखिदिएँ। २०२०-०२१ सालतिर ५० रूपियाँ पुरस्कार पाउनु निकै ठुलो कुरा मानिन्थ्यो। ‘बक्सिस’ त उनको चित्रकारिता यात्राका निम्ति कोसेढुंगा नै सावित भइदियो।

हुन पनि, हेडमास्टर धु्रवबहादुर श्रेष्ठले स्कुलमा कोही आगन्तुक आउँदा उनले बनाएका चित्रहरू देखाउँथे। एक पटक गोविन्दनारायण ज्यापू स्कुलमा पुग्दा उनलाई भने, ‘एसएलसीपछि काठमाडौं आउनू, काठमाडौंमा चित्रकलासम्बन्धी पढ्न पाइन्छ।’ एसएलसी उत्तीर्ण गरे पनि काठमाडौंमा कलासम्बन्धी अध्ययन गर्ने कलेज स्थापना भइसकेको थिएन। उनले केही समय पृथ्वीनारायण क्याम्पसमै अध्ययन गरे। सो क्याम्पसमा अध्ययन गर्दा राजा महेन्द्रको मुहार-चित्र चोरिएको घटना भने उनको स्मृतिपटमा अझै ताजै छ।

वरिष्ठ कलासाधक कृष्णगोपाल रञ्जितको कलाप्रतिको तीव्र लगावले पनि उनलाई चित्रकलातिर डोर्‍याउन उल्लेख्य काम गर्‍यो। सम्झिन्छन्, पोखराका ती दिन, ‘रञ्जित सरले चित्र बनाएर बस्नु हुन्थ्यो र उहाँले बनाउनुभएका चित्र म पछाडि उभिएर हेरिरहन्थेँ। त्यही हेर्दाहेर्दै म चित्रकलातिर नजानिँदो रूपले तानिएँ।’

नागपञ्चमी त उनको कमाइको दह्रो स्रोत बन्थ्यो। उनी नागका राम्रा-राम्रा तस्बिर बनाउँथे र ‘यो त बच्चाले बनाएको हो’ भन्दै सबैले किन्थे पनि। एउटा नागको तस्बिरको ५० पैसा लिन्थे उनी।

२०२५ सालमा काठमाडौंमा ललितकला कलेज स्थापना भएपछि उनले त्यही कलेजमा अध्ययन गर्न थाले। प्रमाणपत्र तह सजिलै उत्तीर्ण गरे। त्यो बेला नेपालमा आर्टसम्बन्धी स्नातक तहको पढाइ हुँदैनथ्यो। के गर्ने अब ? अन्योलको भुमरीमा फसे उनी। ललितकलाप्रति उनको अध्ययनको धरालत छामेका तत्कालीन डायरेक्टर लवबहादुर प्रधानले भने, ‘तिमी मूर्तिसम्बन्धी अध्ययन गर्न बाहिर जान्छौं त ? त्यसका निम्ति पाकिस्तानले छात्रवृत्तिको लागि आह्वान गर्छ।’

‘जहाँ भए पनि जाने हो, तर आर्ट नै पढ्न जाने हो।’ त्यो बेला भारत, पाकिस्तान र ढाकामा मात्र कलासम्बन्धी उच्च अध्ययन गर्ने विश्वविद्यालय थिए। उनी छानिए, पाकिस्तानका निम्ति। त्यतिबेलासम्म बंगलादेश बेग्लै मुलुक बनिसकेको थिएन र उनको सम्भावना ढाकामा हुन्थ्यो होला। सन् १९७१ मा भने भारत र पाकिस्तानबिच भीषण युद्ध भएपछि केही समय रोकिनु पर्‍यो। पछि, पूर्वी पाकिस्तान बंगलादेशको रूपमा उदायो। उनलाई ढाका नभई लाहोरमा अध्ययन गर्न जाने अवसर मिल्यो। यो १९७२ को कुरा थियो।

दक्षिण एसियाली क्षेत्रको राजनीति निकै उथलपुथलले भरिएको थियो। भर्खरै भारत-पाकिस्तानबिच युद्ध भएको, नयाँ राष्ट्रको रूपमा बंगलादेश उदाएको। लाहोर जाँदा उनले अनेक हण्डर र गोता बेहोर्नु पर्‍यो। अझ, रक्सौलमा पुग्दा त एक जना ठगले ५० रूपियाँ नै चप्काइ दियो।

युद्धपछि ‘पानी बारावार’ कै अवस्था झेलिरहेको भारत-पाकिस्तानको सीमा अमृतसर एक दिन मात्रै खुल्थ्यो, हरेक बिहीवार। एक दिन मात्रै बोर्डर खुल्ने भएको हुँदा त्यो दिन यति भीडभाड हुन्थ्यो कि, त्यतिबेलाको क्षण सम्झिँदा अहिले पनि उनी आश्चर्यभाव व्यक्त गर्छन्, ‘अमृतसरमा पुग्दा निकै कष्ट झेल्नु पर्‍यो। त्यहाँ कुनै होटल रहेनछन्। म एउटा सत्तलमा सुतेँ। राति ठुलो पानीका साथै आँधीहुरी पनि चल्योे। सबै चिज भिजे पनि पासपोर्ट भने जोगाएँ मैले।’

राजनीतिक द्वन्द्वको मार

पञ्जाव युनिभर्सिटीको फाइन आर्ट विभागमा भर्ना भएर अध्ययन गर्न थाले उनी। हुन त उनी मूर्तिकलासम्बन्धी अध्ययन गर्न लाहोर गएका थिए तर त्यहाँ दुइटा विषयमा पढाइ हुँदो रहेछ- पेन्टिङ र डिजाइन। सोधियो पनि, ‘के विषय लिएर पढ्ने हो ?’ उनी अन्योलमै थिए। भोलिपल्ट क्याम्पस प्रशासकले एकलौटी निर्णय सुनाउँदै भने, ‘तिम्लाई डिजाइनमा राखिदिएको छु, डिजाइन नै ठीक हुन्छ।’

मूर्तिकला पढ्न गएका उनी डिजाइन पढ्न थाले। उनको कोर्स त तीन वर्षमै सकिन्थ्यो। विडम्बना के भइदियो भने त्यो समय पाकिस्तानमा चलेको सत्ता संघर्षको चेपाइमा उनी पनि परे र तीन वर्षे अध्ययन दोब्बर भएर छ वर्ष पुग्यो।

तत्कालीन पाकिस्तानी प्रधानमन्त्री जुल्फीकर अली भुट्टो र जियाउल हकबीच तिखो सत्ता संघर्ष चलिरहेको थियो। त्यसको प्रभाव उनी अध्ययनरत विश्वविद्यालयमा नपर्ने प्रश्नै भएन। भन्छन्, ‘जियाउल हकले भुट्टोलाई थुनेपछि परिस्थिति निकै बिग्रिएको थियो। हामीजस्ता विदेशी विद्यार्थीहरूले पनि उनीहरूको आन्तरिक राजनीतिक मामिलाका कारण दुःख झेल्नु पर्‍यो।’

मुल्मीको लाहोर बसाइ लम्बिए पनि एउटा फाइदा के भइदियो भने, उनले मास्टर्स डिग्रीको अध्ययन पनि पूरा गर्न पाए। विश्वविद्यालयबाट मागिएको सहमतिलाई तत्कालीन नेपाली राजदूत कृष्णराज अर्यालले ‘ओके’ गरेपछि उनले मास्टर्स डिग्रीको अध्ययन गर्न पाए। सन् १९७८ मा प्रथम श्रेणीमा एमएफए सिध्याएर नेपाल फर्किएपछि भने शिक्षा मन्त्रालयका कर्मचारीहरूले स्पष्टीकरण सोधे, ‘हाम्ले तिम्लाई मास्टर्स डिग्री पढ्न पठाएका हौं र ? किन मास्टर्स डिग्रीसम्म पढेको ?’उनले भने, ‘उनीहरूले पढाए, मैले पढिदिएँ।’ यो कुरा पछिल्लो समय त्यत्तिकै सेलाएर गयो।

नेपाल फर्किएपछि ललितकला कलेजमा पढाउने ठुलो धोको थियो, उनलाई। तर उनलाई ‘प्रवेश निषेध’ जस्तै गरियो। सानोठिमी कलेजमा पढाउन थाले, त्यसपछि। २०४० सालदेखि भने ललितकलामा पढाउन थाले। तीन दशकभन्दा लामो अवधि उनले ललितकला कलेजलाई मलजल गर्नमा नै व्यतित गरे। स्टिल लाइफ पढाएरै बिताए, तीन दशक।

एक हिसाबले उनलाई ‘ललितकला नर्सरी’ को माली नै भने पनि हुन्छ। थुप्रै शिष्यहरूलाई मल-पानी दिए, गोडमेल गरे र अनावश्यक हाँगाहरू काँटछाँट गर्दै हुर्काए पनि। उनले थुप्रै विद्यार्थीलाई शिक्षित-दीक्षित तुल्याए। जसमा पत्रकार देवप्रकाश त्रिपाठी, राजन श्रेष्ठ, सुनील रञ्जित, वासु क्षितिजलगायतका लामो पंक्ति छ।

७२ वर्षमा हिँडिरहेका मुल्मीको प्राध्यापन कर्मले अझै विश्राम लिइसकेको छैन। अचेल उनी सिर्जना आर्ट कलेजका शिष्यहरूलाई डिजाइन पढाइरहेका छन्।

अनेक आयाम

मुल्मीको चित्रकलाका विषयवस्तुले अनेक आयामलाई अँगालो हालेका छन्। उनको क्यानभासका सहज अंग बन्न पुगेका छन्- प्राकृतिक भूदृश्य, देवीदेवताका साथै सामाजिक जीवनका विदु्रप अनुहारहरू। हुन पनि सामाजिक, राजनीतिक, सांस्कृतिक जीवनका संगत-विसंगत पक्षहरूसम्मै उनको कलादृष्टि फैलिएका छन्। उनको एउटा पेन्टिङको शीर्षक छ- ‘घुम्ने कुर्सी’। जुन पेन्टिङले राजनीतिक विसंगतिबोधमाथि धनुषकाँड सोझ्याएको छ। एक जना मानिस घुम्ने कुर्सीमा बसेका छन्, उपरखुट्टी लगाएर। उनको खुट्टामा तीन जना निर्धन तप्काका मानिस झुन्डिरहेका छन्। घुम्ने कुर्सीमा विराजमान हुनेहरूले अरूलाई तुच्छ, हीन र साना देख्ने प्रवृत्तिमाथि शक्तिशाली कटाक्ष देखिन्छ, यो पेन्टिङमा।

जीवनबोध पनि छचल्किएका छन्, उत्तिकै। ‘जीवनचक्र’ ले गहिरो दार्शनिकताको वकालत गरेको छ। मानिसै-मानिसको कोलाजबीच उडिरहेको देखिन्छ, धुवाँ। उनी व्याख्याको भाषामा बोल्छन्, ‘मान्छेको जीवन एक दिन यसरी नै धुवाँजस्तै उडेर जान्छ।’

सामाजिक व्यंग्य छाम्न पाइन्छ, ‘जाल’ भित्र छिर्दा। जुन चित्र उनले २०३८ सालमै बनाएका थिए र त्यसको पछिल्लो वर्ष नयाँ दिल्लीमा आयोजित कला-प्रदर्शनीको हिस्सासमेत बनेको थियो। एउटा चित्रमा नदीभित्र माछाहरू पौडिरहेका छन् र जसलाई उनले नाम दिएका छन्- ‘स्वतन्त्रता’।

वञ्चितिकरणमा परेका वर्गका निम्ति उनको चित्र ‘सूर्यास्त’ र ‘तरङ्ग’ ले सघन आवाज उठाएको प्रतीत हुन्छ भने गणेश-शृंखलामा उनको आध्यात्मिक चिन्तनको प्रतिविम्ब झल्किन्छन्। उनका हरेकजसो सिर्जनाले मानवको भाव-जगतलाई आप्लावित तुल्याउन सघाउँछ।

‘आमा’ शृंखलामा उनले ६-७ वटै सिर्जना कोरे। भन्छन्, ‘आमा भनेका नदीजस्तै निरन्तर बगिरहने चिज हो। आकाशजस्तै निर्मल, सागरजस्तै फराकिलो र नदीजस्तै प्रवाहमान हुन्छिन् आमा। त्यही भएर मैले आमा शीर्षकमा केही चित्र बनाएको हुँ।’

एउटा नदीमा अनेक तरंगहरू फैलिए झैं, केही क्षण घोत्लिने हो भने उनका कलामा अनगिन्ती तरंगहरू सिर्जनात्मक रूपले फैलिएका सहजै पत्ता लगाउन सकिन्छ। अर्ध-अमूर्त शैलीका त्यस्ता चित्रहरूमा केही क्षण घोत्लिए भने अनेक भाव, शैली र दार्शनिकताका चोइलाहरू भेट्टाउन सकिन्छन्, सजिलै।

एकै पटक ८२

एकपछि अर्को सिर्जनाको थाक लागे पनि उनले एकल प्रदर्शनी भने गरिरहेका थिएनन्। २००६ मा भने त्यो अवसर जुर्‍यो। अग्रज मदन चित्रकारलगायतले ‘अब त एकल प्रदर्शनी गर्नुपर्‍यो’ भन्ने सल्लाह दिएपछि उनले देखाए, तत्परता।

‘लयात्मक गति’ शीर्षक दिइएको सो प्रदर्शनीमा उनका ८२ थान कला नेपाल आर्ट काउन्सिलको भित्ताभरि टाँगिए। भन्छन्, ‘सुरुमा ३० वटाको मात्र प्रदर्शनी गर्ने योजना थियो। त्यति प्रदर्शनीमा राख्नलाई ४० वटा बनाउनुपर्थ्यो। बनाउँदै जाँदा ८२ वटा पुगेछन् र त्यति नै राखेँ।’

ललितकला क्याम्पसमा डिजाइनसम्बन्धी अध्यापन गर्ने मुल्मीको प्रथम एकल प्रदर्शनीलाई शिष्यहरूले स्वतस्फूर्त रूपमा सघाए। भन्छन्, ‘मेरो चित्रकला प्रदर्शनीको मेरा चेलाहरूले खुबै प्रचार गरे। उनीहरूले नै व्यानर बनाएर ठाउँ-ठाउँमा झुन्ड्याइ दिए।’

स्वदेशबाहेक उनका चित्रहरू भारत, पाकिस्तान, कोरिया, जर्मनी र जापानमा समेत प्रदर्शन भएका छन्। पुरस्कार र सम्मान पनि प्रशस्तै पाएका छन्, उनले।

बिक्रीमा जहिल्यै अरूचि

भूदृश्यात्मक चित्रहरूसमेतको गिन्ती गर्दा उनले अहिलेसम्म ५ सयजति कलामा रङ र कुचीलाई व्यस्त बनाइसकेका छन्। बिक्री भने नगन्य नै गरे। अझै ३ सयजति सिर्जनाले उनको स्टुडियोलाई शोभा दिइरहेका छन्।

कुनै कार्यशालामा सिर्जेका कलाहरू त बिक्री गर्नु नै पथ्र्यो। त्यसबाहेकका चित्रहरू बिक्री गर्नतिर भने उनलाई रुचि नै जागेन। किन त ? भन्छन्, ‘मेरा पेन्टिङहरू मलाई आफ्नै सन्तानजस्ता लाग्छन्।’ हुन पनि, सन् २००६ मा पहिलो पटक एकल कलाप्रदर्शनी गर्दा उनले सबैजसो पेन्टिङको तल झुन्ड्याएका थिए- ‘नट फर सेल’।
केही चित्र बिक्री पनि गरे। त्यसमा सबभन्दा महँगो १ लाख १० हजार रूपियाँसम्ममा बिक्री भए। ‘यो चित्र मलाई मौलिक र नौलो लाग्यो’ चित्र हेरेपछि एक जना विदेशीले यसो भन्दै त्यति दाम तिरेर किनेका थिए।

कोरियामा आयोजित प्रदर्शनीमा मुल्मी-सिर्जित गणेशको चित्र एक जना भारतीय नागरिकले किन्न खोजेका थिए। ‘नट फर सेल’ लेखिए पनि ती भारतीयले त्यो चित्र किन्न औधि कसरत गरे। तर मुल्मीले नबेच्ने अडान लिए। जुन चित्र अहिले पनि उनको स्टुडियोको शोभा बनेर सजिएको छ। कोठाभरि खातमाथि खात गरी राखिएका चित्रहरू देखाउँदै उनी भन्छन्, ‘मैले बिक्री गर्न चाहेको भए आधाभन्दा बढी सकिइसक्थ्यो होला।’

दुःखद पक्ष पनि छ। एक पटक चाँगुनारायणमा भएको एउटा कार्यशालामा बनाएका दुई थान चित्र बिक्री भए पनि उनले पैसा पाएनन्। त्यो कार्यशालामा बनाइएका उनका दुइटा र उत्तम नेपालीको एउटा चित्र बिक्री भएको थियो। भन्छन्, ‘जुन मानिसले त्यो चित्र किनेका थिए, उनले मलाई पैसा देलान् भन्ने लागेको थियो। पछि त उनी अस्टे«लिया गएछन् र मैले पैसा पाइनँ। पछि थाहा भयो, पैसा नपाएका दुईमध्ये एउटा पेन्टिङ चाहिँ काठमाडौं गेष्ट हाउसमा राखिएको रहेछ।’

म्युजियमको चाहना

आफ्ना कला-सिर्जना बिक्रीमा उदासीनजस्तै देखिने मुल्मी भन्छन्, ‘बरु कसैले म्युजियम बनाएर मेरा कलाहरू सजाउँछन् भने म सित्तैमा दिन तयार छु। तर बेच्न चाहिँ त्यति मन लाग्दैन।’

हरेक चित्रले फरक-फरक अर्थानुभाव बोकेका हुँदा उनलाई सबैप्रति उत्तिकै माया-मोह छ। भन्छन्, ‘बाँच्नै मुस्किल पर्‍यो भने मात्र हो तर म बेच्दिनँ।’

हुन पनि हरेक चित्रमा उनको यति फराकिलो स्नेह छ कि, रङसँग खेल्न थालेपछि उनी सबै कुरा बिर्सन्छन्। बिहान सवेरै उठेर स्टुडियोमा छिरेपछि क्यानभास पोत्न निमग्न हुन थालिहाल्छन्। सिर्जनामा यतिसम्म डुब्छन् कि, चिया सेलाएको समेत याद हुँदैन उनलाई। भन्छन्, ‘बिहान बसेपछि बेलुकीसम्मै खट्थेँ र एउटा पेन्टिङ तयार पार्थेँ।’
अधिकांश चित्र एकै दिनको बसाइमा टुङ्गाए पनि ‘सरस्वती’ शीर्षकको चित्र बनाउन भने उनलाई ३-४ दिन नै लागेको थियो। उनी भन्छन्, ‘मलाई नयाँनयाँ सिर्जना गर्न मन लाग्छ। गणेशभित्र मुसैमुसा, बाजाहरूभित्र गणेशैगणेशजस्ता पृथक खालका चित्र बनाएको छु मैले। मेरा चित्र देख्नेहरूले भन्छन् कि, तपाईको चित्र नितान्त फरक छन्।’

सदैव सिर्जनरत

पछिल्लो समय उनले क्यानभासमा सिँगारेका चित्रले शीर्षक पाइसकेको छैन। त्यो पुतलीहरूको चित्र हो, जुन चित्रमा पुतलीहरू उड्दैउड्दै अनन्त आकाशमा पुग्छन् र त्यसरी नै सानो हुँदै जान्छन्। र, अन्तमा प्रश्नवाचक चिन्ह उभिन्छ। भन्छन्, ‘मैले उक्त चित्रमा मानव जीवनलाई चित्रित गर्न खोजेको छु। हाम्रो जीवन पनि तिनै पुतलीहरुजस्तै उड्दैउड्दै अनन्तमा विलिन हुन पुग्छ र प्रश्नैप्रश्न बोकेर सकिन्छ।’
वाह, कति गज्जबको जीवनबोध।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved