के कजाखस्तान रूसको ‘अर्को युक्रेन’ हो ?

के कजाखस्तान रूसको ‘अर्को युक्रेन’ हो ?

इन्धनको मूल्यवृद्धिविरूद्ध शुरू भएको आन्दोलन सरकारविरोधी प्रदर्शनमा फेरिएपछि अहिले कजाखस्तान तनावमा छ। आन्दोलन हिंसात्मक बन्दै गएको भन्दै नियन्त्रणका लागि राष्ट्रपति कास्यम-जोमार्त तोकायेभले सहयोग मागेपछि रूसी नेतृत्वको गठबन्धन सेना ६ जनवरी (२२ पुस)मा त्यहाँ पुगेको छ। शान्ति स्थापनाका लागि भन्दै रूसी सहयोग मागे पनि कजाखस्तान-रूस सम्बन्ध सुमधुर होइन। लामो समयदेखि रूसी नेता र उग्र-दक्षिणपन्थी राष्ट्रवादीहरूले कज्जाखस्तान लगायतका पूर्व सोभियत संघमा आबद्ध  देश रूसी भूगोलमा हुनुपर्ने धारणा राख्ने गरेका छन्। त्यस्तै धारणा छ, कजाखस्तानबारे पनि। कतै कजाखस्तान रूसका लागि अर्को युक्रेन हुने त होइन? सिंगापुरको ‘नानयांग टेक्नोलोजिकल युनिभर्सिटी’को ‘एस. राजारत्नम स्कुल अफ् इन्टरनेसनल स्टडिज’का सिनियर फेलो जेम्स डोर्सीले यो लेखमा रूस-कज्जाख मतभेदबारे चर्चा गरेका छन्। ५ जनवरी २०२२ मा ‘इन्टरनेसनल पोलिसी डाइजेस्ट’मा प्रकाशित लेखको अनुवाद पुरूषोत्तम पौडेलले गरेका हुन्। -सं.

युक्रेनी सेना आफ्नो देशको सीमा क्षेत्रतर्फ अघि बढ्दै गर्दा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले के सोचिरहेका छन् भनेर युक्रेनी जनता त्रासमा हुन सक्छन्। युक्रेनी मात्रै होइन यस्तो भयबाट कजाखस्तान पनि मुक्त छैन।

तत्कालका लागि रुसी सेनाको गतिविधिका विषयमा कजाखहरू खासै चिन्तित हुने अवस्था नहोला तर चिन्ताविहीन रहने अवस्था पनि छैन (यो लेख तयार पार्दासम्म रूसी सेना त्यहाँ गइसकेको थिएन -अनु.)। रुसी राष्ट्रपति पुटिनले बारम्बार सुरक्षाभन्दा बढी सैद्धान्तिक कारणले युक्रेनमाथि दबाब सिर्जना गरेको बताउने गरेका छन्। यस्तै कजाखस्तानमाथिको उनको मौखिक आक्रमणको उद्देश्य पनि त्यही कारण भएको उनको जोड छ।

वार्षिक पत्रकार सम्मेलनमा कजाखस्तानका सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रसंग नै नमिले पनि पुटिनले भने, “एउटै शब्दमा भन्दा कजाखस्तान रूसी भाषा बोल्ने देश हो।”

पुटिनको भनाइ कजाखका केही अभियन्ता लक्षित थियो।  ती अभियन्ताहरू सोभियत कालमा विरासतका रूपमा प्राप्त रुसी भाषालाई देशको पहिलो भाषाको स्थानबाट दोस्रो बनाउन चाहन्छन्।

रुसी राष्ट्रवादीहरूले भने मध्य एशियाली देश रुसको अवस्था बदल्नुपर्छ भन्ने दबाबलाई कडा जवाफ दिएका छन्।

कजाखस्तानका राष्ट्रपतिले गरे मन्त्रिपरिषद् विघटन, संकटकालको घोषणा

“विडम्बना छ, एशियामा शक्तिको भाषालाई मात्रै राम्रोसँग बुझिन्छ। रुसले आफ्नो शक्ति प्रर्दशन गर्नुपर्दैन, त्यसलाई कार्यान्वयन गर्ने क्षमता देखाए मात्रै पुग्छ। कमजोर कहिल्यै सम्मानित हुँदैनन्। अलेक्जेन्डर तृतीयले भनेका थिए, रुसका सहयोगी भनेका उसका सेना र नौसेना हुन्, दुःखका साथ भन्नुपर्छ, हामीसँग अरू प्राकृतिक सहयोगी छैनन्,” हाल रूसी संसद्का सदस्य रहेका युक्रेनका पूर्व पृथकतावादी नेता अलेक्जेन्डर ब्रोरोडे भन्छन्।

बढ्दै गरेको वाक् युद्धलाई लक्षित गर्दै  उनले त्यसो भनेका हुन्। विदेशीलाई मन नपराउने कजाखहरूले रुसी भाषा बोल्ने व्यक्तिलाई आक्रमण गरेको रुसी विदेशमन्त्री सर्गेई लावरोवले आरोप लगाएका छन्।

कजाखस्तान र रुसबीच करीब ६ हजार ८ सय ४६ किलोमिटर सीमा जोडिएको छ। यो विश्वकै दोस्रो लामो सीमा क्षेत्र हो। कजाखस्तानमा करीब २० प्रतिशत रुसी अल्पसंख्यकको बसोबास रहेको छ। यसरी कजाखस्तानमा बसोबास गर्दै आएका रुसीहरूको संवेदना भने आफ्नो मातृभूमिप्रति रहेको देखिन्छ।

कजाक संसद्की एक सदस्य एवं पूर्व राष्ट्रपति नुरसुल्तान नजरबाएभकी छोरी दरिगा नजरबाएभले कजाखस्तानमा विदेशी भाषा बोल्ने मानिसमाथि आक्रामण भएको आरोपलाई चुनौती दिएकी छन्। उनले रुसमा पनि विदेशी भाषा बोल्ने मानिसमाथि आक्रमण हुने गरेको दाबी गरेकी छन्।

कजाखस्तानका पूर्व राष्ट्रपति नुरसुल्तान नजरबाएभ र रुसी राष्ट्रपति पुटिनबीच राम्रो सम्बन्ध छ। नजरबाएभ कोभिड-१९  संक्रमित हुँदा पुटिनले उनको उपचारका लागि चिकित्सक पठाएबाट पनि त्यो पुष्टि हुन्छ।

ब्रोरोडेको टिप्पणी पछिल्ला वर्षमा आएको सबैभन्दा नवीन हो। उग्र राष्ट्रवादीहरूले मध्य एशियामा रुसी शासन फेरी स्थापित हुनुपर्ने र काजखस्तान विभाजित हुनुपर्ने माग राख्दै आएका छन्। ब्रोरोडेको अभिव्यक्ति पुटिनको टिप्पणीलाई सहयोग पुग्ने हिसाबमा आएको छ।

“अल्पसंख्यक रुसीहरूलाई कजाखस्तानमा आप्रवासी मान्नु गलत हुनेछ किनकी यो भूमि हामीबाट अस्थायी हिसाबमा मात्रै छुट्टिएको हो,” रुसी संसद्का एक पूर्व अतिराष्ट्रवादी सांसद पावेल शापरोपले केही समयअघि टिप्पणी गरेका थिए।

“सीमा अजम्बरी होइनन्, हामी रुसको भूमीलाई फेरी फिर्ता ल्याउनेछौँ,” उनले भनेका थिए।

रीडरले पूर्वी कजाखस्तानको रुससँग नजिक रहेको सीमा क्षेत्रमा केही वर्षअघि गरेको एक अनौपचारिक सर्वेक्षणमा त्यहाँका एक तिहाइ आदिवासी जनताले रुसी नागरिक हुने इच्छा व्यक्त गरेका थिए।

रुसी राष्ट्रपति पुटिनले कज्जाखहरूलाई सात वर्षअघि नै यस्तो सन्देश दिएका थिए। क्रिमियालाई रुसले आफ्नो नियन्त्रणमा लिएको नौ महीनापछि आयोजित पत्रकार सम्मेलनमा  एक विद्यार्थीले प्रश्न गरेका थिए- के कजाखस्तानले पनि युक्रेनको जस्तो भविष्य भोग्नुपर्छ?

मध्य एशियाका फिरन्तेजातिलाई सभ्य बनाउने रूस हो भन्ने आम रूसीबीच व्याप्त धारणा प्रतिध्वनित हुने गरी सोभियतकालमा कजाखस्तानका पार्टी प्रमुख रहेका पूर्व राष्ट्रपति नजरबाएभबारे भनेका थिए, “उनले अनौठो काम गरेका छन्। जहाँ कहिल्यै राज्य थिएन त्यो भूमीमा राज्य बनाएका छन्। कज्जाखहरूको आफ्नो राज्य कहिल्यै थिएन, उनले बनाए।”

पुटिनले थप भनेका थिए, पूर्व-सोभियत युरेशियाली आर्थिक संघका पाँच सदस्यमध्ये एक हुँदा कज्जाखहरूलाई “विश्व सभ्यताको हिस्सा रहेको ‘महान् रूसी विश्व’मा रहन सक्नेछन्।”

पुटिनले ‘रुसी विश्व’ भन्ने शब्दावली प्रयोग गर्नु प्राचीन अवधारणालाई ग्रहण गर्नु हो। प्राचीन समयमा ग्रीक, रोम र बैजान्टियन सीमाबाट नभई संस्कृतिबाट परिभाषित देश थिए, उनीहरूको आर्थिक प्रभाव पनि त्यस्तै थियो। पुटिनले रुसलाई पनि राष्ट्र-राज्यभन्दा एक सभ्यताका रूपमा परिभाषित गर्ने प्रयास गरेका छन्।

पुटिनले रुसी सभ्यताको अवधारणा पहिलोपटक सन् २००१ मा व्यक्त गरेका थिए। रुसी आप्रवासीहरूको सम्मेलनलाई सम्बोधन गर्दै उनले भनेका थिए, “रुसी विश्वको अवधारणा रुसको सीमा र जनजातीभन्दा टाढासम्म फैलिएको छ।”

पुटिन र उनका उग्र-दक्षिणपन्थी मित्रहरूलाई कज्जाख नेताहरूले बारम्बार जवाफ दिएका छन्। एक लेखमा राष्ट्रपति कास्यम-जोमार्त तोकायेभले सन् १९३० को भोकमारीको छानबिन गर्न र दोषी पत्ता लगाउन आग्रह गरेका थिए। उनले तत्कालीन रूसी नेता जोसेफ स्टालिनल तर्फ संकेत गरेका थिए। उक्त भोकमारीमा धेरै कज्जाखको निधन भएको थियो।

आफ्नो पूर्ववर्ती साथी एवं पूर्व राष्ट्रपति नुरसुल्तान नजरबाएभको जवाफसँगै तोकायेभको यस्तो जवाफ आएको थियो। रुसी राष्ट्रपति पुटिनले कज्जाख इतिहास मेट्नुपर्ने धारणा राखेपछि कज्जाख राष्ट्रपतिले भोकमरीको छानबिन हुनुपर्ने माग राखेका थिए।

नजरबाएभले कजाखस्तान स्थापनाको ५५०औँ वार्षिकोत्सव मनाउने प्रस्ताव राखेका थिए। सन् १४६५ मा कज्जाख खानतको स्थापना भएको भन्दै उनले उक्त प्रस्ताव गरेका थिए। (खान, खागन, खातुन वा खानुमले शासन गरेको राजनीतिक इकाइलाई खागनत वा खानत भनिन्छ। युरोएशियाली मैदानमा यस्ता राजनीतिक इकाइ थिए -अनु.)

“हाम्रो देश हावामा उत्पत्ति भएको होइन, हाम्रो देशको इतिहास लामो छ,” नजरबाएभले भनेका थिए, “अहिले जस्तो त्यतिबेला राज्य भनिँदैन थियो होला तर महत्त्वपूर्ण के हो भने हाम्रो स्थापनाको आधार त्यस बखत खडा भएको थियो। पुर्खाको योगदानलाई हाम्रा जनताले निरन्तर अघि बढाइरहेका छन्।”

स्वतन्त्रता दिवसको मनाउने घोषणा गर्दै उनले भनेका थिए, “लामो प्रयासपछि मात्रै हामीले स्वतन्त्रता हासिल गरेका हौँ। स्वतन्त्रता प्राप्तिका लागि हाम्रा पुर्खाहरूले आफ्नो रगत र पसिना बगाएका छन्। प्रत्येक कज्जाख नागरिकका लागि स्वतन्त्रताको रक्षा गर्नु पहिलो दायित्व हो। हाम्रा पुर्खाले हामीलाई स्वतन्त्र बनाउन जसरी आफ्नो ज्यानको बाजी थापे हामीले पनि हाम्रो मातृभूमिको रक्षाका लागि रगतको एक थोपा बाँकी रहँदासम्म प्रयत्न गर्नुपर्छ।”

आन्दोलन दबाउन कजाखस्तान पुग्यो रूसी सेना

केही विश्लेषकहरूको मतमा ८१ वर्षिया नजरबाएभ रुसी-कज्जाख टकराव रोक्ने अन्तिम बार हुनसक्ने सुझाउँछन्।

कजाखस्तानमा बस्ने कज्जाख जनताको तुलनामा रुसी जनसंख्याको प्रतिशत घट्दो रहेको दाबी गर्दै एक स्वतन्त्र पत्रिका नोवाया गजेट लेख्छ- “रूसले यो बुझे पनि आफ्नो पूर्व उपनिवेशका नागरिकलाई चाहेको देशमा बस्न पाउने अधिकार दिन इच्छुक छैन।”

नोवाया गजेटकी सम्पादक, दिमित्री मुरातोवले फिलिपिनो सञ्चारकर्मी मारिया रेषासँगै सन् २०२१ का लागि नोवल शान्ति पुरस्कार प्राप्त गरेकी थिइन्।

कज्जाख विद्वान दोसिम सातपायेभलाई उद्धृत गर्दै पत्रिकाले रूसी-कज्जाख सम्बन्धलाई ‘पारपाचुकेअघिका पति-पत्नि’को रूपमा चित्रण गरेको छ।

“उनी सँगै बस्ने प्रयास त अझै गर्दैछन् तर असफलताका संकेतले पहिल्यै घेरिसकेका छन्। भविष्यमा पक्कै पनि कसैले पारपाचुकेको प्रयास गर्नेछ। तर, त्यसका लागि उसले शान्तिपूर्ण तरिका अपनाउँछ वा हिंसात्मक त्यो भने हेर्न बाँकी छ।” -पत्रिकाले लेखेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved